महिला खबर
नेपालगन्ज, असार २१। बाँकेको ग्रामीण क्षेत्रका महिलाले बालबिवाहविरुद्ध गाउँ—गाउँमा अभियान सञ्चालन गरेका छन्। गाविसमा वडा तथा टोलस्तरमा समूह र छलफल कक्षामा आवद्ध महिलाले बालबिवाहविरुद्ध सचेतना अभियान सञ्चालन गरेका हुन्।
महादेवपुरी गाविसका महिलाले प्रत्येक घरमा अभिभावकलाई बालविवाहविरुद्ध हस्ताक्षर गराएका छन्। ‘पहिला हामीलाई यस्ता कुरामा मतलबै हुने थिएन, छलफल कक्षामा सहभागी भएपछि बालविवाहले पुर्याउने असरका वारेमा थाह भयो’—स्थानीय वडा नागरिक मञ्चकी संयोजक अञ्जना बिष्टले भन्नुभयो। छलफल कक्षामा बालविवाहविरुद्ध अभियान चलाउने सल्लाह भयो, अहिले हाम्रो गाउँमा बालबिवाह हुँदैन, सबैले आफ्ना छोराछोरीको उमेर नपुगी विवाह गर्दैनौ भनेर हस्ताक्षर गरेको विष्टले बताउनुभयो।
छलफल कक्षाबाट सुरु गरेको अभियानलाई गाउँका महिला पुरुष सबैले साथ दिएकोले हस्ताक्षर अभियान चलाउनसकिएको वहाँले बताउनुभयो। महादेवपुरी गाविस भरी नै बालबिवाहविरुद्ध महिलाले हस्ताक्षर अभियान सञ्चालन गरेका छन्।
महादेवपुरी, कचनापुर र बैजापुर गाविसमा ‘मेरो अधिकार मेरो आवाज’ कार्यक्रम अन्तर्गत महिला छलफल कक्षा सञ्चालित छन्। छलफल कक्षामा घरेलु हिंसा, महिला हिंसालगायत गाउँका समस्या र विकासका वारेमा समेत छलफल हुने गरेको सहजकर्ता गौतरा डाँगीले जानकारी दिनुभयो।
गाउँमा उमेर नपुगी गर्न लागिएका विवाहलाई समेत महिलाले रोकेका छन्। ‘विवाह गर्ने छिनोफानो भएको घरमा समेत महिला दिदीबहिनीहरुले सम्झाई बुझाई उमेर पुगेपछि मात्रै विवाह गर्ने सहमतिमा ल्याएका छन्।’—सहजकर्ता डाँगीले भन्नु भयो।
आफ्नो गाउँबाट बालविवाह रोकेपनि उमेर नपुगेका तर अभिभावकको सहमती विपरित बिवाह गरेर गाउँमा आएका कतिपय किशोरीलाई सानो उमेरमै बच्चा नजन्माउन सुझाव दिने गरेको डाँगीले बताउनुभयो।’
गाउँमा महिलाले सञ्चालन गरेको बालविवाहविरुद्धको अभियान प्रभावकारी भएको महिला तथा बालबालिका कार्यालय बाँकेकी फोकल पर्सन बिन्दु कुँवरले प्रसंशा गर्नुभयो।
प्रकाशित मितिः २०७२ असार २१ गते साेमवार
Comment Here!