भेषराज बस्नेत
नेपालगन्ज, असार २२ । सामूहिक बलात्कार गर्ने ३ जनालाई बाँके जिल्ला अदालतले जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । २०७० कार्तिक १७ गते नेपालगन्जमा भएको सामूहिक बलात्कारको घटनाको अदालतले आईतबार उक्त फैसला गरेको हो ।
२०७० कार्तिक १७ गते नेपालगन्जको धम्बोझीदेखि घरतर्फ जाँदै गर्दा एक महिलालाई ३ जनाले सामूहिक बलात्कार गरेका थिए । साथीसँग मोटरसाइकलमा सवार रमालाई उक्त समूहले साथीबाट छुटाएर अपहरण गरी राति ८ बजे उनको सामूहिक बलात्कार भएको थियो ।
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेका न्यायाधीश हरी प्रताप केसीको इजलासबाट तीनै जना अपराधीलाई जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना भएको श्रेस्तेदार आत्मदेव जोशीले बताउनुभयो । महिलालाई साथीकै अगाडी ती ३ जनाले बलात्कार गर्नुका साथै उनीबाट २५ हजार ३ सय रुपैयाँ नगद, सुनको औठीँ, सिक्री र मोबाइल समेत चोरेका थिए ।
पीडितले २०७० मंसिर १३ सामूहिक बलात्कार र चोरीको आरोपमा तीनै जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेकी थिईन् । सामूहिक बलात्कार तथा चोरी गर्ने अरुण सिंह भन्ने अरुणपाल सिंह ठाकुर, सुरेश सिंह राठौर र काशीराम कोरीविरुद्ध मुद्दा दायर भएको थियो ।
प्रहरीले बलात्कारी मध्ये अरुणपाल सिंह ठाकुरलाई मात्र पक्राउ गरेको थियो भने दुई जना फरार थिए ।
फरार रहेका मध्ये काशीराम कोरीलाई २०७० माघ २२ गते पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको थियो । तर, सुरेशसिंह राठौर भने हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अरुणपाल सिंह ठाकुर र काशीराम कोरीले सामूहिक रुपमा जबरजस्ती करणी गरेको भन्दै जनही १३ वर्ष कैदको सजाय भएको श्रेस्तेदार जोशीले जानकारी दिनुभयो ।
सामूहिक बलात्कारको अभियोगमा जिल्ला अदालत बाँकेले यति ठूलो सजायको फैसला पहिलो पटक गरेको हो । उक्त मुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता सुशील देवकोटाले वहस गर्नुभयो ।
प्रकाशित मितिः २०७२ असार २२ गते मङ्गलवार
Comment Here!