महिलाको सक्रियतामा गाउँ उज्यालो
एक महिना मै उवा तेलखोला गाउँमा बत्ती बल्यो
ईश्वरी जी.एम.
रोल्पा । रोल्पा उवा तेलखोला गाउँलाई त्यहाँका महिलाले ३८ दिनमै उज्यालो बनाएका छन्। अहिलेसम्म टुकीको उज्यालोमा चलेको तेलखोला गाउँ आजभोली बिजुलीले झिलिमिली भएको छ। यो गाउँमा ८८ घरधुरी रहेका छन्। यहि असार १६ गतेबाट तेलखोला गाउँमा अँध्यारो चिर्दै उज्यालो छाएको छ।
सदरमुकामदेखि पैदल २ दिन लाग्ने तेलखोलाका महिलाले ओम्बाङखोलाबाट साढे ८ किलोवाट क्षमताको लघु जलविद्युत सञ्चालनमा ल्याएपछि सिङ्गो गाउँमा खुशीयाली छाएको छ। बिजुली बलेको पहिलो दिन गाउँलेले घर—घरबाट सामान उठाई संयुक्त भोजको आयोजना समते गरेका थिए।
गरिबी निवारण कोष र ग्रामीण विकास तथा चेतना समाज (रुडास) नेपालको साझेदारीमा सम्पन्न लघु जलविद्युत परियोजना तेलखोलाका महिलाको सक्रियतामा सम्पन्न भएपछि गाउँ झिलीमिली भएका ओम्बाङखोला महासंघ लघु जलविद्युत योजनाका अध्यक्षमा रास्ती घर्तीमगरले बताउनुभयो।
गरीबी निबारण कोषको ३९ लाख रुपैयाँ, समुदायबाट ४ लाख २२ हजार रुपैयाँ र गाविसको अनुदान ३ लाख ५० हजार रुपैयाँ गरी ४७ लाख रुपैयाँभन्दा बढी लागत बनेको सो लघुजलविद्युत परियोजना महिलाले ३८ दिनमै सम्पन्न गरेका हुन।
प्रत्येक घर धुरीबाट अनिवार्य एक जनाले लगातार २६ दिनसम्म श्रमदान गरेको र परियोजनाका लागि आवश्यक सामग्री ओसार्नेदेखि पोल गाड्ने कामसम्म महिलाले गरेका हुन। पोलमा तार तान्ने कामचाहिँ प्राविधिकले गरेको उनीहरूले बताए।
ओम्बाङखोला महासंघ लघु जलविद्युत योजनाका अध्यक्ष रास्ती घर्तीमगरले भन्नुभयो–… जेठ ८ गतेबाट विद्युत निर्माणकार्य अघि बढ्यो। सेरम गाविसको फुलिबन सिर्क्याङ् भिर आसपासबाट पिठ्युमा बच्चा र काँधमा विद्युतका गह्रौ सामग्रीलाई २ दिन लगाएर गाउँमा पुर्याउँथ्यौं। यस्तो गर्नु सजिलो थिएन। तर, आँटेपछि हुँदोरहेछ ।’
योजनाका सहयोगी रुडास नेपालका अध्यक्ष शोभाराम डाँगीले भने …यहाँका महिलालाई सलाम गर्नुपर्छ पुरुष भन्दा छिटो र राम्रो काम भएको छ।’ विद्युत उद्घाटनका लागि गाउँ पुगेका जिल्ला नेता र सरोकारवालालेहरूले महिलाको आट र कार्यको खुलेरै प्रशंसा गरेका थिए।
Comment Here!