नेपाली केटासँग विवाह गरेकी भारतीय छोरी लब्लीसँग विवाहका २ वटा प्रमाण सुरक्षित छन् । पहिलो, विवाहका बेला खिचेका फोटा र दोस्रो, भने जति दाइजो ल्याउन नसकेपछि आफ्नै लोग्ने र परिवारका सदस्यले कुटपिट गर्दा लागेका चोटहरू ।
कृष्ण अधिकारी
मागे जति दाइजो ल्याउन नसकेको भन्दै आफ्नै श्रीमान् र परिवारका सदस्यले यातना दिन थालेपछि २५ वर्षीया ‘लब्ली’ तनावमा छिन। कम्प्यूटर इन्जिनियरिङमा स्नातक गरेकी लब्लीलाई वैवाहिक जीवन अभिशाप भएको छ ।
दाइजो कै कारण श्रीमानले पटक पटक दिएको शारीरिक र मानसिक यातना खप्न नसकेपछि लब्लीले श्रीमानसँग कानुनी लडाई शुरु गरेकी छन् । भारतको नानपारा माइती भएकी लब्ली सोनी हिजो आज नेपालगन्जका महिला तथा बालबालिका कार्यालय, नेपालगन्ज उप महानगरपालिका, अदालत, मालपोत कार्यालय र कानुन व्यवसायीहरूसँग परामर्शमा व्यस्त छन् । लब्लीको नेपालगन्ज ७ फुल्टेग्राका पिन्टु स्वर्णकारसँग २०६९ माघ २४ गते मागी विवाह भएको थियो ।
बिहे भएको २ वर्षभन्दा बढी भइसक्यो । विवाह दर्ता र नेपाली नागरिकताको प्रमाणपत्र उनीसँग छैन । उनलाई न्यायको लडाइ लड्न गाह्रो भईरहेको छ । विवाह भएको प्रमाण भनेको उनीसँग विवाहका बेला खिचिएका फोटा र भने जति दाइजो ल्याउन नसकेको भन्दै आफ्नै श्रीमान् र परिवारका सदस्यले कुटपिट गर्दा लागेका चोटका दाग मात्रै छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण लब्लीका माइतीले बिहेमा केटापक्षले मागेजति दाइजो दिन सकेनन् । तराई क्षेत्रमा धेरै पढेलेखेका केटालाई धेरै दाईजो दिनुपर्ने कारण कम्प्युटर इन्जिनियर पढेपनि राम्रो परिवारको पढेलेखेको केटासँग बिबाह गर्न लब्लीलाई सम्भव भएन ।
‘भारतमा डाक्टर इन्जिनियर, प्रहरी तथा प्रशासनलगायत सरकारी सेवामा अधिकृत तहमा जागिर खाने केटासँग विवाह गर्न ५० लाख देखि १ करोड भारतीय रुपैयाँ दाइजो दिनुपर्छ जुन मेरो माइतीको सवै सम्पति बेचेपनि सम्भव छैन’ लब्लीले भनिन् । त्यसैले उनका बाआमाले एसएलसी समेत पास नभएको नेपाली केटासँग विवाह गरिदिए ।
‘मनग्य दाइजो दिन नसक्ने बाध्यताका कारण एसएलसी समेत पास नभएका पिन्टुसँग बिहेबारी गर्न राजी भएँ’ उनले भनिन् ।
विवाहमा लब्लीका परिवारले ५१ हजार रुपैयाँ नगद, सुन, चाँदी, सामान सहित साढे सात लाख रुपैयाँ खर्च गरेर लब्लीको धुमधामसँग विवाह गरिदिएका थिए । विवाह भएको भोलिपल्टै पिन्टुका परिवारले लब्लीको माइतीसँग थप ५ लाख रुपैयाँ दाइजो मागे । माइतीले थप दाइजो दिन नसक्ने भनेपछि लब्लीमाथि श्रीमान् लगायत परिवारका सदस्यले शारीरिक, मानसिक यातना दिन थाले ।
लब्ली र उनका माइतीले दुई वर्षसम्म मिलाएर घरमै बस्न निरन्तर प्रयास गरे । तर, पिन्टुको परिवारले दाइजो नपाउँदासम्म उनलाई घरमा नराख्ने अड्डी लिएपछि बाध्य भएर कानूनी लडाई शुरु गरेको लब्लीले बताइन् । लब्लीले महिला तथा बालबालिका कार्यालय बाँके र कानुनी परामर्श केन्द्रको सहयोगमा पिन्टुविरुद्धमा माना चामल, अंश माग गर्दै सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।
भारत माइती भई बिहे गरेर बाँके जिल्लामा आएका बुहारी मध्ये खुलेरै कानुनी रुपमा न्यायको लडाइ शुरु गर्ने लब्ली पहिलो महिला भएको महिला तथा बालबालिका कार्यालय बाँकेकी सूचना अधिकृत विन्दु कुँवरले बताइन । तर, न्याय पाउन लब्लीले वर्षाैसम्म पीडा र अपमान सहँदै आफ्नो लडाइलाई निरन्तरता दिनुपर्नेछ ।
लब्लीका नेपालगन्जमा आफन्त र उनलाई सहयोग गर्ने निक्कै कम छन् । योसँगै उनीसँग न नागरिकता छ नत विवाह भएको प्रमाण नै, यसकारण पनि लब्लीलाई न्याय पाउन अन्य महिलालाई भन्दा निक्कै कठिन छ ।
अदालतबाट मुद्दा लडेरै कानुन बमोजिम अधिकार लिन खोज्ने लब्लीलाई उनका श्रीमान् , परिवारका सदस्य, आफन्त र टोल छिमेकका मानिसले हैरान दिन सक्छन् । कानुनी प्रकृया लम्ब्याएर अनेकौ तनाव र दुःख दिन सक्ने ठाउँ रहेको अधिवक्ता लोकबहादुर शाह बताउँछन् ।
नेपाल मै बिहेबारी गरेका महिलालाई समेत सम्बन्ध बिच्छेद गरी अंश लिन निक्कै गाह्रो छ । अंश सहितको सम्बन्ध विच्छेदको मुद्दाको फैसला हुन दर्ता भएको एकवर्षदेखि ३ वर्षसम्म लाग्न सक्छ । जिल्लाको फैसलामा चित्त नबुझे केटा पक्षले गर्ने पुनरावेदनमा थप ६-७ महिना लाग्छ । त्यसपछि मुद्दा सर्वाेच्चमा गयो भने थप दुई तीन वर्षसम्म पनि लाग्छ । कानुनी प्रकृया निक्कै लामो र झण्झटिलो भएकाले अंशसहितको सम्बन्ध विच्छेद गर्न १ देखि ५ वर्षसम्म अदालत धाउनुपर्ने कानुन व्यवसायीहरू बताउँछन् ।
घर बाहिर बसी एउटी हिंसापीडित महिलालाई न्याय पाउन ५ वर्ष लडेर अधिकार लिन गाह्रो पर्ने अधिवक्ता शाह बताउँछन् । जसका कारण अहिले अंश नलिइ महिलाले सम्बन्ध विच्छेद गर्ने क्रम बढेको छ । केटा पक्ष अंश नदिइ सम्बन्ध विच्छेद गर्न सहजै सहमत हुने भएकाले दुबै पक्षको सहमतिमा अदालतबाटै सम्बन्ध बिच्छेद गरेर कानुनी प्रकृया पुरा गर्ने क्रम बढेको बाँके जिल्ला अदालतका श्रेस्तेदार आत्मदेव जोशीले बताए ।
यो वर्ष (साउन १ देखि जेठ मसान्तसम्म ) बाँके जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ३ सय ३४ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये करिब २० प्रतिशत मुद्दामा केटी पक्षले अंश नै नलिइ अदालतबाट सम्बन्ध विच्छेद गरेको श्रेस्तेदार जोशीले बताए ।
नेपाल र भारतका सीमावर्ती जिल्लाका बासिन्दाबिच सयाैँ वर्षदेखि बिहेबारी हुँदै आएको छ । रोटीबेटीको यो सम्बन्ध नेपाल भारत सीमा जोडिएका जिल्लामा सैयौँ वर्षदेखि चल्दै आएको छ ।
तर यसरी बिहेबारी गरेर आउने तथा जाने छोरी वा बुहारीलार्ई अर्काे देशको कानुनका बारेमा सामान्य जानकारी नहुँदा निकै झमेला हुने गरेको छ । त्यस्ता अधिकांश महिलासँग विवाह दर्ता प्रमाणपत्र र नागरिकता हुँदैन । जसका कारण उनीहरूलाई न्यायको लडाइ शुरु गर्नै गाह्रो हुने बाँकेका अधिकारकर्मी बताउँछन् ।
बाँकेमा भारतबाट विवाह भएर आएकी महिलाले श्रीमानविरुद्ध अधिकार खोज्दै अदालतसम्म पुगेका घटना एकदमै न्युन छन् । आफूले शुरु गरेको न्यायको लडाइमा आफ्नो माइती पक्षलाई सहमत गराएरमात्रै लब्लीले अदालत जाने निर्णय गरेकी हुन । लब्लीले शुरु गरेको कानुनी अधिकारको लडाइमा महिला अधिकारकर्मी तथा सरकारी निकायले पनि साथ दिएका छन् ।
साथी संस्थाले सञ्चालन गरेको सुरक्षा आवाशमा बसेर लब्लीले कानुनी लडाइ शुरु गरेकी हुन् । भारतबाट विवाह भएर आएका महिला घरपरिवारले हिंसा गर्न थालेपछि चुपचाप माइती फर्किएर जाने गर्थे । नेपालमा आफ्ना मान्छे नहुने र कानूनी प्रक्रिया लामो र झन्झटिलो हुँदा नेपालमा न्याय पाउन उनीहरूलाई निक्कै गाह्रो छ ।
लब्लीले भने अधिकारका लागि अदालतको ढोका ढक्ढक्याएकी छन् । हेपिएका र अन्यायमा परेका सबै अधिकार र न्यायका लागि लड्नुपर्छ भन्ने दृढता छ उनमा । लब्लीको परिबारका सदस्यहरूमा महिलाले घुम्टो मै बस्नु पर्छ भन्ने मान्यता यद्यपी कायमै छ । तर, लब्लीले घुम्टो उघार्दै आफूमाथि भएको हिंसा, यातना र विभेदका बारेमा अधिकारकर्मी, कानुन व्यबसायी र संचारकर्मीहरुलाई निर्धक्क भन्न थालेकी छन ।
प्रकाशित मिति :२०७२ असार २२ गते मंगलवार
Comment Here!