महिलालाई कसरी समेट्याे नीति तथा कार्यक्रमले ?
नवजात शिशु जन्मेदखि २८ दिनसम्मको उपचार सेवालाई निःशुल्क बनाई मातृ र शिशु मृत्युदर घटाउने
महिला खबर
काठमाडौं, असार २३ । राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका संसदमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । ११२ बुँदे नीति तथा कार्यक्रममा ७ वटा बुँदामा महिलाका विषयलाई समेटिएको छ ।
निती तथा कार्यक्रमको २९ औं बुँदामा आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका महिला, गरिब, सिमान्तकृत, भूमिहीन तथा पिछडिएका समुदायलाई सहकारी व्यवसायमार्फत जीविकोपार्जनको काममा लगाउन सरकार सहकारी साझेदारीमा फलफुल, कृषि ,पशुपालन माछापालनका लागि स्थापित सहकारीलाई पुँजीगत अनुदान उपलब्ध गराउने उल्लेख छ ।
नीति तथा कार्यक्रममा जनता आवासको कार्यक्रम लैंगिकमैत्री र समावेशी बनाइने, मानव वेचविखन तथा ओसारपसारलाई नियन्त्रण दुरुत्साहन गर्न केन्द्रदेखि गाउँसम्मका संरचना प्रभावकारी परिचालन गर्ने उल्लेख छ ।
लैंगिक हिंसा नियन्त्रण गर्ने व्यवस्था मिलाउने, भूकम्पका कारण जाेखिममा परेका एकल महिला तथा किशोरीलाई जीवनउपयोगी सीप विकास तालिम दिने, काठमाडौं उपत्यकालाई सडक बालबालिका मुक्त बनाउने र अन्य सहरमा यो अभियान विस्तार गर्ने जनाइएको छ ।
जोखिममा रहेका बालबालिकालाई शिक्षाका लागि स्थानीय आवासीय विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गर्ने, समावेशी तथा लैंगिकमैत्री रोजगार कार्यक्रम सञ्चालन गरी एकल महिला, दलित अपागं, जनजाति, द्वन्द्व पीडित र सामाजिक र आर्थिकरुपले पछाडि परेका वर्ग र समुदायको क्षमता बढाउने , दलित मुस्लिम छात्रा तथा लोपोन्मुख जातिका छात्राछात्रलाइ प्राविधिक शिक्षामा बिशेष प्रोत्साहन गर्ने कुरा कार्यक्रममा समेटिएको छ ।
७५ वटै जिल्लाका अस्पतालहरुमा गुणस्तरीय सेवा दिन सघन उपचार कक्ष, नवजात, शिशु उपचार कक्ष, जेष्ठ नागरिक उपचार कक्ष तथा बृहत आकस्मिक प्रसूती र नवजात शिशु उपचार केन्द्र स्थापना गर्ने, हरेक गाउँ एक डाक्टर पुर्याउने अवधारणा लागु गरिने र नवजात शिशु जन्मेदखि २८ दिनसम्मको उपचार सेवालाई निशुल्क बनाई मातृ र शिशु मृत्युदर कम गर्ने जनाइएको छ ।
प्रकाशित मितिः २०७२ असार २३ गते बुधवार
Comment Here!