कविता श्रेष्ठ
पोखरा, असार २४ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विचार सिग्देल यतिबेला महिनावारी हुँदा लगाउने स्यानिटरी प्याड बनाउन व्यस्त छन् । धादिङ्ग भुमेस्थान घर भएका २० वर्षीय सिग्देलले भूकम्पका कारण घरवारविहिन भएका महिलालाई महिनावारीका बेला भएको समस्या बुझेपछि प्याड बनाउन शुरु गरेको बताए ।
अध्ययन र घरको कामकाजबाट फुर्सद हुने वित्तिकै आजभोली उनी प्याड बनाउन थालिहाल्छन् । उनीजस्तै १० जना छात्र र ३० भन्दा बढी छात्रा आजभोली फुर्सद हुनेवित्तिकै स्यानीटरी प्याडसहितको महिनावारी झोला बनाउन व्यस्त हुन्छन् । एउटा महिनावारी झोलामा अन्डरवेयर, चारवटा पुनस् प्रयोग गर्न मिल्ने सुतीका नयाँ कपडाका टाला, एउटा साबुन र दुईवटा खिप हुन्छ ।
‘गत वैशाख १२ गते बिनाशकारी भुकम्पपछि जसले जहाँबाट जे सके त्यहि सहयोग गरे । खाद्यान्न, लत्ताकपडा भाँडाकुडा वितरण गरे । तर, कसैले पनि गर्भवती,सुत्केरी र महिनावारीलगायत महिलाका विशेष अवस्थाका बेला चाहिने अति आवश्यक सामग्रीमा कसैले ध्यान दिएनन्’—सिग्देलले भने । उनले राहत वितरण गर्नेलाई महिलालाई महिनावारी, सुत्केरीमा आवश्यक पर्ने स्यानिटरी प्याड किन नबाँडेको भनेर सोधेको बताए ।
विपद्का बेला महिनावारी हुँदा महिलालाई पर्ने समस्या आफ्नै कलेजमा पढाउने प्रा. डा. चन्द्र भद्राबाट सुनेपछि उनीहरू यो विषयमा संवेदनशील भइ महिनावारी झोला बनाउन थालेका हुन् । पृथ्वीनारायण क्याम्पस मै अध्ययनरत गणेश रेग्मी पनि अध्ययन र कामकाजबाट फुर्सद हुनेवित्तिकै महिनावारी झोला बनाउन थालिहाल्छन् । लैंगिक अध्ययन र समानता विषयका विद्यार्थी भएकाले पनि होला आफूलाई महिलाको सवालप्रति अलि बढी चासो हुने रेग्मीले बताए ।
आफ्नो गाउँघर पर्वतमा महिनावारी हुँदा महिलालाई गरिने विभेद र हिंसालाई उनले प्रत्यक्ष देख्ने र बुझ्ने मौका पाए । उनले भने,–‘गाउँमा आमा, दिदी वहिनीहरूलाई पर सरी भन्दै गोठमा गाई भैंसीसँगै राखिएका घट्ना मैले प्रत्यक्ष देखेको छु । यसले मलाई पहिल्यैदेखि पिरोल्थ्यो, त्यसैले मलाई वाल्यकालदेखि नै महिलाको क्षेत्रमा काम गर्ने ईच्छा थियो, अहिले आएर यो ईच्छा पुरा भएको छ ।’
काम शुरु गरेपछि समाजमा सकारात्मक र नकारात्मक दुवै टिप्पणी आउँछन् । महिनावारी झोला बनाउन शुरु गरेपछि बिचार सिग्देल, गणेशलगायतको समूहको अभियानलाई धेरैले नकारात्मक टिप्पणी गर, कति आफ्नै सहपाठीले पनि खीसीट्यूरी गरे । अर्का अभियन्ता किरणले भने,–‘शुरु शुरुमा हामीलाई हाँसोको पात्र बनाए, नकारात्मक टिप्पणी गरे तर हामीले यसलाई बेवास्ता गर्दै निरन्तर लागि प-यौं ।’ उनले आलोचनालाई सामान्य रुपमा लिएको बताए ।
उनीहरूले बनाएका १८ सय महिनावारी झोला गोरखाको देउरालीमा बाँडिसकिएको छ । जुन उद्देश्यले गरिएको हो, त्यहि उद्देश्य सफल हुँदा को खुशी नहोला र ? अहिले विचार, गणेश किरणसहितको समूहलाई महिनावारी झोला वितरणका क्रममा आएको प्रतिक्रियाले झनै उत्साहित बनाएको छ ।
प्रा.डा.चन्द्रा भद्राले भनिन्,–‘हाम्रो समाजमा अझैपनि महिनावारीलाई लाजको रुपमा लिईन्छ, यो श्रृष्टी सञ्चालनको महत्वपूर्ण प्रक्रिया हो, यस्तो विषयमा कुरा गर्न हिच्किचाउने वा हाँसको रुपमा लिनु अशोभनिय हो ।’ उनले महिनावारी झोला बनाउने क्रममा क्याम्पसका विद्यार्थीले गरेको साथ र सहभागिता प्रति खुशी व्यक्त गरिन् । उनले गोरखाको देउराली गाविसमा पुगेर महिनावारी झोला बाँढ्दा स्थानिय महिलामा देखिएको खुशीले आफूहरुलाई थप हौषला प्रदान गरेको पनि थपिन् ।
उनले नै विद्यार्थीलाई प्याड बनाउनका लागि प्रोत्साहन दिएकी हुन् । लैंगिक अनुकूल राहत वितरण गर्न सवैलाई सन्देश दिन र विपद्मा महिलाका विशेष अवस्थामा आवश्यक पर्ने सामग्रीका बारेमा संवेदनशील बनाउने उद्देश्यले पुरुषलाई पनि महिनावारी झोला बनाउने अभियानमा संलग्न गराएको प्रा. डा. भद्राले बताइन् ।
प्रकाशित मितिः २०७१ असार २४ गते बिहीवार
Comment Here!