‘लोग्नेमान्छे’ले घरमा काम गर्नु हुँदैन ?


प्रकाशित मिति :2015-07-10 15:24:06

रमेश प्रसाद तिमल्सिना

२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । भूकम्पले छिन भरमै गाउँ सहर तहसनहस भयो । त्यसपछिका पराकम्पनहरूले पनि ठूलो क्षति पु¥याएको छ । भूकम्प आउँदा ‘लोग्ने मान्छे’ले नै बनाएका घरहरू तहसनहस भए ।

म भूकम्पपछि वैशाख १२ गतेदेखि यता पूर्वी ललितपुरका ४१ गाउँ विकास समितिमध्ये ३७ गाउँ विकास समिति र ललितपुर उपमहानगरपालिकाका अधिकांश स्थानमा रिपोर्टिङका क्रममा पुगेको छु । स्थलगत रिपोर्टिङका क्रममा देखिएका दृष्टान्तहरू मध्ये समानताको विषयलाई यो आलेखमा समेट्ने प्रयास गरेको छु । यो लेखमा मैले महिला र पुरूषको कामको विभेदलाई प्राथमिकता दिने निधो गरें ।

‘समान काम समान ज्याला’ भन्ने नारा घन्किएको वर्षौ वितिसक्यो । संविधानमा नै पुरुष महिला बराबरीको व्यवस्था गरिएको पनि वर्षौ भइसक्यो । केही सहनै नसक्ने दृष्य पनि देखिए । तर प्यूटारमा सकारात्मक सन्देश दिने काम भइरहेको पाइयो । म जेठ २ गते गिम्दीसम्मको यात्रामा थिएँ ।

Bishankhu-2072-03-05-2

गिम्दी, आश्राङ पुगेर फर्कने क्रममा प्यूटारमा पनि केही बेर रोकिएर बसियो । त्यहाँको कालीदेवी उच्चमाविको आँगनमा राहत लिन अधिकांश महिला र ज्येष्ठ नागरिकहरू आएका थिए ।

यो राहत लिने भीडमा किन महिला मात्रै ? प्रश्न खस्न नपाउँदै स्थानीय अगुवा राजकुमार लामाले भने–‘काम बाँडेको ।’ उनले त्यसपछि वेलीविस्तार लगाउँदै भने–‘यो विपत्ति सबैलाई छ । घरमा टहरा बनाउने काम पुरुषको र राहत जम्मा गर्ने काम महिलाको भनी छुट्याइएको हो । टहरा बनाउन नसक्नेहरू राहतका केही सामग्री लैजान यहाँ आएका हुन् ।’

गाउँको संस्कार र संस्कृतिले मिलेर काम गर्न सिकाएको छ । त्यसैको उदाहरण हो प्यूटार ।
भारदेउ, चौघरेलगायतका गाउँमा पनि महिला बाँस ओसार्ने काममा थिए भने ‘लोग्ने मान्छे’ टहरा बनाउने काममा तल्लीन थिए ।

Pyutar-2072-02-02-2

यसै क्रममा एक दिन विशंखु नारायणमा पुगियो । त्यस दिन पूर्व प्रधानमन्त्री एवम् एमाले नेता माधवकुमार नेपाल, विष्णु पौडेल, शुसीला नेपाललगायतका नेता आप्mना कार्यकर्तासँगै काम गर्दै थिए ।

शुसीला नेपालको एक हातमा चोट लागेको थियो । उनले अर्को हातले इँटा सार्ने काम गर्दै थिइन् । तर, नजिकै ‘लोग्ने मान्छे’हरू तास खेलिरहेका थिए । कोहि रमिता हेरेर बसिरहेका थिए । यसैलाई भनिन्छ ‘काँठे’ संस्कृति ।

सिल्वाल थर भएकी एक महिलासँग आधा घण्टा लामो कुराकानीका क्रममा मैले यो थाहा पाएँ कि विशंखुनारायणमा ‘लोग्ने मान्छे’को काम त श्रीमतीलाई पिट्ने, तास खेल्ने र रक्सी खाने मात्रै छ । बुढा पाकाहरू ‘रिटायर्ड लाईफ’ तासमा बिताउँछन् । युवाहरू कहिँ कतै काममा गए पनि गाउँ भित्रिइसकेपछि तास समाउँछन् र बालकहरू (१२ वर्षदेखी १८ वर्षसम्मका) तास खेलेको हेर्नमै रमाउँछन् । ती महिलाले नाम नछाप्न भनेकाले थर मात्रै लेखेको हुँ । अधवैंसे ती सिल्वाल महिलाले भनिन्–‘अरुका घरका ‘लोग्ने मान्छे’ भन्दा मेरा घरका चाँहि फरक हुनुहुन्छ । खेतको काम पनि गर्नुहुन्छ । तास त खेल्नुहुन्छ तर ज्यानै फाल्ने गरी भात पानी छाडेरै चाँहि खेल्नुहुन्न ।’ उनका अनुसार यहाँ खेतको काम पनि महिलाले नै गर्नुपर्छ । पुरुष त जनसंख्या गनिनेमा मात्रै पर्छन् ।

Bishankhu-2072-03-05-3

सायद म पनि पुरुष भएकाले होला धेरै कुरा खुलेर गरिनन् उनले । त्यहाँ युवाहरू घर भत्काउने काम गर्दै गर्दा एक जना ज्येष्ठ महिला भन्दै थिइन्–‘लौ उल्का भो ! हाम्रो गाउँमा पनि लोग्ने मान्छेले काम गरे ।’ विशंखुनारायणको बसपार्क नजिकै पसलमा सात आठ जना महिला थिए । मैले सोधें—‘यहाँ त पुरुषले काम गर्दैनन् जस्तो छ हगि ?’ भीडबाट दुई थरि आवाज आयो । एक थरिले भने–‘गर्छन् उनीहरूकै कमाई त खाइएको छ नि !’ अर्का थरीले भने–‘यो बाबुलाई कसरी थाहा भएको ? हो यहाँ त पुरुषको काम नै तास, रक्सी खाने हो ।’ स्थानीय अगुवा महिला चाहि भन्दै थिइन् –‘हुन त हो तर, गाउँको बेइज्जत हुने गरी लोग्ने मान्छेको कुरो नलेखिदिनु होला नि पत्रकार जी !’

Bishankhu-2072-03-05-1

 तास खेल्दै 

काम के गर्नुहुन्छ भनेर सोध्दा ‘अहँ केही काम गर्दिन’ भन्ने महिलालाई एकै छिन गफ गरौं न त भन्दा फूर्सद छैन भन्ने उत्तर आउँछ । हामी कुन सँस्कार र सँस्कृतिलाई बढावा दिन गइरहेका छौं ? कम्तीमा पनि महिलाले गर्ने कामलाई ‘काम’को मान्यता दिन राज्य र समाजले किञ्चित ढिला गर्नुहुँदैन ।

खोले पानी, भात भान्सा, भाँडाचुलो, नुहाइ धुहाई परिवारलाई सफा राख्ने कामलाई पनि ‘काम’को मान्यता कहिले आउला ? संविधानमा समानताको कुरा लेख्ने धुनमा संविधानसभामा सहभागी सभासद र राजनीतिक दल लागिरहेका छन् । तर, राजधानीकै ललितपुरको गोदावरी नगरपालिकाको विशंखुनारायणमा ‘लोग्ने मान्छे’ले काम गर्नुहुँदैन, जागिर खानुपर्छ भन्ने मान्यता छ । के लाई जागिर भन्ने ? केलाई काम भन्ने सरकारले नै छुट्याइदेओस् ।

प्रकाशित मिति २०७२ असार २५ गते शुक्रवार 

[email protected]

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: