बेलिना थापा
लमजुङ, असार २८ । महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धको अभियान आफ्नै घरबाट सुरु गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । महिला तथा बालबालिका कार्यालय लमजुङले आयोजना गरेको एककार्यक्रममा सहभागीले हिंसा न्युनीकरणका लागि परिवारका सदस्य शिक्षित हुन आवश्यक रहेको बताए । प्रत्येक व्यक्ति शिक्षित भएमात्र महिलामाथिको विभेद अन्त्य हुने उनीहरूको भनाइ थियो । हिंसाविरुद्धको अभियानमा सबै एकजुट भएर लागेमा हिंसा न्युनीकरण गर्न सकिने निष्कर्ष उनीहरूको थियो । कार्यक्रममा महिला विकास अधिकृत दिपा घिमिरेले लैंगिक समविकास र हिंसासँग यसको सम्बन्धको बारेमा प्रस्तुती दिनुभएको थियो । घिमिरेले निर्णय प्रक्रियामा महिलाको न्युन सहभागिता भएको कारण हिंसाले विकराल परिस्थिति ल्याएको बताउनुभयो ।
यस्तै जिल्ला न्यायधिवक्ता नारायणबहादुर थापाले लैंगिक अवधारणा,नेपालमा लैंगिक हिंसाका कारणहरू, हिंसाका प्रकार, राष्ट्रिय कानुन, निती तथा संस्थागत व्यवस्था, कार्यान्वयनमा परेका समस्याका बारेमा जानकारी दिनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले महिला तथा बालबालिका सम्बन्धी अपराध र प्रहरीलाई आएको चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सेनाले नेपालमा प्रत्येक ५४ मिनेटमा एक जना महिला बलात्कृत हुने तथ्य प्रष्ट पार्नुभयो ।
प्रकाशित मितिः २०७२ असार २८ गते सोमवार
Comment Here!