महिला खबर
काठमाडौँ, असार २८ । गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाका अधिकारलाई संवैधानिक रुपमै सुनिश्चित गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
प्रारम्भिक बालविकासका लागि सभासद्को सहकार्य समन्वय समूह, सेतोगुराँस राष्ट्रिय बालविकास सेवा ललितपुर र सेभ द चिल्ड्रेनको संयुक्त आयोजनामा आज भएको ‘एकीकृत प्रारम्भिक बालविकासका लागि राष्ट्रिय नीति तथा लगानी’ विषयक गोष्ठीमा सभासद्ले संविधानको मस्यौदामा धारा ४४ को ३ नम्बरमा प्रारम्भिक बालबालिकाका सवालभित्र ‘गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाको अधिकतम शारीरिक, बौद्धिक, सामाजिक र संवेगात्मक विकासका लागि अनुकूल वातावरणको हक हुनेछ’ उल्लेख गर्नुपर्नेमा जोड दिए ।
व्यवस्थापिका–संसद् अर्थ समितिका सभापति प्रकाश ज्वालाले गर्भमा रहँदादेखि आठ वर्षसम्मका बालबालिकाको शारीरिक विकास सहज हुनुपर्ने बताउँदै समृद्ध समाज निर्माणका लागि बालबालिकाको विकास अपरिहार्य हुने बताउनुभयो ।
कार्यक्रममा सभासद्हरू जीवन परियार, अम्बिका खवास राजवंशी, गौरी ओलीलगायतले बालबालिकाको प्रारम्भिक बालविकासका लागि परिवार, समाज र राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मितिः २०७२ असार २८ गते साेमवार
Comment Here!