छाउगोठ भत्काउने कठोर कानुन


प्रकाशित मिति :2015-07-14 09:32:14

रमेश रावल

स्युना गाविस– ५ की रीता रोकाया (नाम परिवर्तन) ०७० फागुनमा माइतीघर गएको बेला महिनावारी भइन् । २२ वर्षीया रीतालाई छाउपडी गोठमा बस्न लगाइयो । राति उनलाई एक जँड्याहा पुरुषले बलात्कार ग-यो । उनी अहिले मानसिक पीडामा छिन् । उनले स्थानीय प्रहरी चौकीमा आफू बलात्कृत भएको भनेर मुद्दा दायर गरिन् । राजनीतिक दलहरूको दबाबका कारण त्यसको कुनै सुनुवाइ नै भएन । घटना त्यत्तिकै सेलायो । यो थाहा पाएका लोग्नेले पनि उनलाई छाडे ।

घटना ०७१ पुसको हो । मुगु श्रीनगरकी २९ वर्षीया राधे विक महिनावारी भइन् । उनलाई छाउपडी गोठमा बस्न लगाइयो । चिसोका कारण त्यही रात गोठमा उनको मृत्यु भयो ।

यो पहिलो उदाहरण थिएन । ०७० मङ्सिरमा बाजुरा जुकोट गाविस– ३ की १६ वर्षीया शर्मिला भुल छाउपडी गोठमा मृत अवस्थामा भेटिएकी थिइन् । साँझ छाउपडी गोठमा सुतेकी शर्मिला बिहान मृत अवस्थामा फेला परेकी थिइन् । यसबारे परिवार, समाज र सरकार कसैले पनि सोधखोज गरेन । अछाम ढकारीकी १६ वर्षीया लक्ष्मी बुढाले ०६९ मा छाउपडी गोठमा ज्यान गुमाइन् । लक्ष्मीको खुट्टा जलेकाले आगलागीबाट मृत्यु भएको हुनसक्ने प्रहरी अनुमान छ । त्यसैगरी ०७२ वैशाखमा बाराला– ६ की ४३ वर्षीया झुमादेवी शाहीको छाउपडी गोठमै ज्यान गएको थियो । कसैको दबाब वा आवाज नउठेका कारण यी घटनको कहीँ–कतै सोधखोजसम्म पनि भएन ।

रीता, राधे, शर्मिला र लक्ष्मी केही उदाहरण मात्रै हुन् । यस्ता धेरै महिलाले छाउपडी गोठमा बस्नुपरेका कारण अकालमै ज्यान गुमाउनुपरेको छ । मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लामा महिनावारी भएको बेला छाउपडी गोठमा बस्नुपर्ने कुसंस्कार अहिले पनि छ । त्यसैले अझै कतिले यसरी ज्यान गुमाउनुपर्ने हो निश्चित छैन ।

कालिकोटकी अधिकारकर्मी छाया सुनार भन्छिन्, ‘संसार कहाँ पुगिसक्यो, तर अहिले पनि मध्य र सुदूरपश्चिम पहाडका महिलालाई छाउपडी प्रथाका नाममा गोठ पठाएर चरम हिंसा गरिन्छ । यस क्षेत्रमा अविवाहित महिलाले सात दिन र विवाहित महिलाले पाँच दिन छाउपडी गोठमा बस्नुपर्ने बाध्यकारी मान्यता छ । मानिस बस्न कुनै सुविधा नभएको घरभन्दा परको असुरक्षित कटेरोलाई छाउ गोठ भन्ने गरिन्छ ।
महिनावारी भएको बेला घरबाहिर अलग्गै बस्नुपर्ने, सार्वजनिक पानीपँधेरा प्रयोग गर्न नपाइने, दही, दूध, मही र घ्यू खान नपाउने, फलफूल र वनस्पति छोए त्यो सुक्नेजस्ता अन्धविश्वास छ । यतिसम्म कि महिनावारी भएका बेला धारा छुँदा देउता रिसाउने र देउताले सर्प पठाउने भ्रम यहाँ छ ।
अच्चम के छ भने मध्य तथा सुदूरपश्चिमका जिल्लामा महिला अधिकारकर्मी, महिला स्वास्थ्यकर्मी, शिक्षिका र राजनीतिक दलको विभिन्न पदमा बसेका महिलासमेत महिनावारी भएको बेला छाउपडी गोठमा बस्ने गर्छन् । नेपाल पत्रकार महासङ्घ कालिकोटका सहसचिव दिलु बम भन्छिन्, ‘महिनावारी भएको समयमा कति ठाउँमा विद्यालय जानुहुँदैन । किताब, कापी र कलम छुनुहुँदैन भन्ने मान्यता पनि छ ।’ उनले भनिन्, ‘यतिसम्म कि श्रीमती महिनावारी भएको बेला श्रीमान्ले बाहिर यात्रा गर्नुहुँदैन भन्ने सोचाइसमेत छ ।’

chaupadi dhara - Copy
कालिकोटको लालु गाविसको श्री शान्ति निम्नमाध्यमिक विद्यालयकी शिक्षिका सीता रावलले पनि यस्तो समस्या भोग्दै आएकी छिन् । पेसाले उनी शिक्षिका हुन् । तैपनि महिनावारी भएका बेला सामाजिक परम्परा र मान्यतालाई चुनौती दिनु आफ्नै लागि ठूलो चुनौती हुने उनको बुझाइ छ । सीता भन्छिन्, ‘के गर्नु, समाज यस्तै छ । समाजमा रहेको कुचलनका कारण छाउपडी गोठमा बस्नुपर्ने बाध्यता छ ।’
सुत्केरी महिलाका लागि योभन्दा झनै कडा सामाजिक नियम छ । सुत्केरी भएको १५ दिनसम्म घरबाट अलग्गै राख्ने प्रचलन छ । अरूलाई छुन हुँदैन । यस्तो अवस्थामा घरबाहिर सुत्केरी महिलालाई राख्दा कतिपय अवस्थामा बच्चा र आमाको ज्यानै गएका उदाहरण पनि छन् । घरबाहिर एक्लै अलग्गै बस्नुपर्ने बाध्यताका कारण महिला बलात्कृत हुने, जङ्गली जनावरको आक्रमणको सिकार हुने, सर्पले टोक्ने घटना विगतमा समेत भएका थिए । यो सामाजिक परम्पराको अन्त्य नभए अझै कति महिलाले यस्तो पीडा भोगिरहनुपर्ने हो टुङ्गो छैन ।

सर्वोच्च अदालतले ०६२ वैशाख १९ गते छाउपडी प्रथालाई ‘कुरीति’ घोषणा गरेको थियो । यो आदेश आएको दुई वर्षपछि सरकारले ०६४ मा छाउपडी प्रथा उन्मूलनसम्बन्धी निर्देशिका ०६४ जारी ग-यो । घोषणा गरेको पाँच वर्ष भइसक्दासम्म पनि यसको कार्यान्वयन भएको छैन । निर्देशिकाअनुसार जिल्लादेखि गाउँस्तरसम्म छाउपडी प्रथा उन्मूलन कार्यक्रम गर्नुपर्ने भनिए पनि गाउँमा भने अहिलेसम्म कुनै कार्यक्रम भएका छैनन् ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र र नेपालको अन्तरिम संविधानमा महिलालाई कुनै बाहनामा भेदभाव गर्न पाइनेछैन भनिएको छ । यस्तो कार्यलाई दण्डनीय मानिएको छ । तर, त्यसअनुसार प्रभावकारी कार्यक्रमहरू देखिएका छैनन् । महिलाका क्षेत्रमा काम गर्ने कतिपय सङ्घसंस्थाले केही वर्षअघिदेखि यसविरुद्ध सचेतना फैलाउने प्रयास गर्दै आएका छन् । तर, त्यो प्रयास पनि प्रभावकारी भएको देखिन्न । यस क्षेत्रमा पुरुषहरू त के कतिपय महिलासमेत यस प्रथाको अन्त्य गर्न जागरुक देखिँदैनन् ।

यो प्रथालाई न्यूनीकरण गर्न सबैको अहम् भूमिका रहन्छ । अशिक्षित र पिछडिएको समाजमा चेतनास्तर वृद्धि गरेर यसविरुद्ध कडा कानुन नल्याउँदासम्म यो प्रथाको अन्त्य हुने सम्भावना देखिँदैन । त्यसैगरी कानुन र कार्यक्रम बनाए पनि ग्रामीण क्षेत्रमा त्यसको प्रभाव न्यून हुन्छ । तसर्थ ग्रामीण भेगमा यो प्रथाविरुद्ध सशक्त चेतना जगाउनु अनिवार्य छ ।

प्रकाशित मिति  :२०७२ असार २९ गते मंगलवार

(सञ्चारिका फिचर सेवाबाट)(रमेश, कालिकोटबाट पत्रकारिता गर्छन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: