‘अहिले गाउँमा उपभोक्ता समितिमा पनि महिलालाई राख्दैनन् । राखेपनि भनेका ठाँउमा चुपचाप सहि गर्ने महिलालाई मात्र राख्छन् । पुरुष रकममा लुछाचुडी गर्छन्, महिलाले चुपचाप सहि गर्दिनुपर्छ । म यो चलन बदल्न चाहन्छु ।’
लिलाराज भट्टराई
सुनसरी । २०५४ सालमा स्थानीय निकायको चुनाव हुनुअघिको कुरा हो । इटहरीदेखि साढे छ किलोमिटर दक्षिणमा पर्ने राजमार्गसँग जोडिएको सोनापुर गाविसमा एउटा विषयले सनसनी मच्चायो । विषय थियो एकजना महिलाको वडाध्यक्ष पदमा उम्मेद्वारी । कुरा काट्नेलाई विषय भयो । चुनाव जित्न पैसा चाहिन्छ, त्यो मजदुरी गरेर खाने महिलाले पैसा खर्च गर्न सक्छे र चुनाव लडेकी ? साडी लगाउनेले जनताको काम कसरी गर्न सक्छन् ?
आम अनुमान विपरित उनले चुनाव जितिन् र वडा अध्यक्ष बनिन् । १८ वर्ष भयो स्थानीय निकायको चुनाव नभएको । स्थानीय निकाय कर्मचारीबाट चलेको छ । तरपनि उनीमाथिको भरोशा स्थानीयमा ज्यु का त्यूँ छ ।
चुनावका वेला नानाथरी कुरा काटिएकी तिनै पूर्व वडाध्यक्ष मीना राई अहिले पनि उत्तिकै सक्रिय छन् । उनी १८ वर्षपछि पनि वडाका मात्र होइन पुरै सोनापुर गाविस वासीको भरोसाको केन्द्र भएकी छन् । मीना भन्छिन, ‘प्रजातन्त्रपछि सुनसरीमा निर्वाचित पहिलो महिला वडा अध्यक्ष म हुँ । मलाइ जनताको मायाँ छ ।’
छेउमा वसेका उनका श्रीमान पदम राई मुस्काउँदै भन्छन्, ‘उनको के कुरा गर्नु, कतिवेलै फुर्सद छैन ।’ हुन पनि मीनाको वडाध्यक्ष पद खुस्केको १३ वर्ष भयो तर अहिले पनि सोनापुर गाविसमा उनको सार्वजनिक परिचय वडाध्यक्षकै छ । रातविरात नभनी जनताको काममा कुदेकी छन् । पदमका भनाइमा, ‘कोही मध्यरातमा झैझगडा मिलाइदिनु पर्यो भनेर आउँछन । राती नजाउ भन्दा पनि नमानी हिँडछिन् । घरवार हेर्ने जिम्मा मेरो, उनी चाहि जनताको समस्या हेर्ने ।’
हामीसँग कुराकानी गर्दा पनि मीनाको मोवाइलको घण्टि बजिरहेको थियो । उनी फोन उठाउँदै भन्थिन्, ‘ल ल हुन्छ म आधा घण्टापछि आइहाल्छु ।’ सोनापुरकै आठ नम्वर वडावाट उनलाई झगडा मिलाइदिन वोलाइएको रहेछ । उनीसँग कुराकानी कै क्रममा पनि दुईजना मुस्लिम महिला आए, उनीसँग आफनो समस्या राखेर मीनाको सल्लाह लिएर फर्के ।
‘काम गर्न गाह्रो थियो । महिला जनप्रतिनिधिले भनेको गाविस परिषदले सुन्नै नमान्ने । तर मैले आफ्नो अडान कहिल्यै छाडिन ।’ त्यतिवेलाको परिस्थिति सम्झँदै मीना भन्छिन्, ‘धेरै जिद्धि गरेरै भएपनि आफनो वडामा विकासका योजनाहरू ल्याएरै छाडे । काम गर्न नदिनेहरू निस्किएका थिए तर जनताको साथ लिएर काम पुरा गरेरै छाडें ।’
मीनाको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक थियो । २०३६ सालमा जनमत सँग्रह हुने भयो । पञ्चायत पक्षधरहरूको जगजगी रहेको सोनापुरमा उनकै श्रीमानलगायत गाउँका दाजुभाई राती राती प्रजातन्त्रको पक्षमा भोट माग्दै हिँडथे । मीना पनि उनीहरूसँगै ज्यान हत्केलामा राखेर प्रजातन्त्रका पक्षमा आवाज उठाउँथिन् । त्यो वेला उनी २१ वर्षकी थिइन् ।
२०६२÷०६३ को आन्दोलनमा सोनापुरमा पार्टीका तर्फबाट आन्दोलन परिचालन समितिको कोषाध्यक्ष भएर खटेकी थिइन् मीना । आन्दोलनको नेतृत्व गरेर कहिले इटहरी त कहिले दुहवी पुगिन् । उनलाई चिन्नेजान्ने भन्छन्, ‘वडाध्यक्ष भएर जनताको सेवा गरेको अनि परिवर्तनको आन्दोलनमा खेलेको भूमिका स्वयं वोल्छ । मीना राईको नेतृत्व वडाध्यक्षमा सिमित हुने होइन ।’ मीना भन्छिन्, ‘नेतृत्व क्षमता भएपनि हामी खुम्चेर वस्नुपरेको छ । जनताको घर दैलोमा स्थानीय जनप्रतिनिधि नहुने यो कस्तो गणतन्त्र हो ?’
मीनाका भनाइमा, स्थानीय निकायमा महिलाकालागि बजेट आउँछ तर, यसवारे महिलाले थाहै पाउँदैनन । स्थानीय निकायमा जनप्रतिनिधिको अभाव हुन नदिन गठन गरिएको दलीय संयन्त्रमा पनि कुनै पार्टीले महिलालाई त्यो संयन्त्रमा नपठाएको उनले बताइन् ।
काम गर्ने अवसर खै ? संयन्त्रमा गएका पुरुषले महिलाको समस्या कसरी वुझछन् ? उनी भन्छिन्, ‘उपभोक्ता समितिमा पनि महिलालाई राख्दैनन् । राखेपनि भनेका ठाँउमा चुपचाप सहि गर्ने महिलालाई मात्र राख्छन् । पुरुष रकममा लुछाचुँडी गर्छन् महिलाले चुपचाप सहि गर्दिनुपर्छ । म यो चलन बदल्न चाहन्छु ।’
महिलाको सहभागितामात्र होइन, अर्थपूर्ण सहभागिता हुनुपर्ने उनको भनाइ छ । ‘अर्थपूर्ण सहभागिता भनेको सहि गर्नमात्र होइन नीति निर्माण गर्ने र कार्यावन्यन गर्ने ठाँउमा पुग्नु हो ।’ मीना भन्छिन्, ‘म वडाध्यक्ष भएँ, त्यतिवेला सदस्य पदभन्दा माथि पुगेकाले केहि काम गर्नसकें । गाविस अध्यक्ष हुँदै अझै माथिल्लो पदमा पुगे झन वढी काम गर्न सक्छु ।’
सानैदेखि हक्की स्वभाव भएकी मीना कसैसँग नदब्ने खालकी छन् । वडाध्यक्षमा जितेर जनताको काम गर्दा पाएको सन्तुष्टिलाई सम्पतिसँग तुलना गर्न नसकिने उनको भनाइ छ । वडाध्यक्ष रहँदा जनताको काम गर्दा पाएको सन्तुष्टिले अव हुने स्थानीय निकायको चुनावमा गाविस अध्यक्ष उठ्ने योजना राईले बनाएकी छन् । उनको त्यो योजना अहिलेसम्म पनि योजनामै सिमित छ । पूर्व वडाध्यक्ष राई भन्छिन्, ‘गाविस अध्यक्ष हुँदै अघि वढेर नेतृत्व विकास गर्ने मेरो सपना सपनामै सिमित हुने हो की भन्ने चिन्ता छ । किनकी ठप्पै भयो नेतृत्व विकास ।
Comment Here!