किटानी जाहेरी लिन मानेन प्रहरी :माइतीपक्ष
सुक्ष्मढङ्गले छानवीन गरिरहेका छौं : प्रहरी
निर्मला ठकुराठी
काठमाडाैं, असार ३० । नुवाकोट घर भई काठमाडौंको धापासीमा डेरा गरी बस्ने लतासा क्षेत्रीको हत्या भएको भन्दै किटानी जाहेरी दर्ता गर्न खोज्दा महाराजगन्ज प्रहरीले दर्ता गर्न नमानेको मृतकको माइती पक्षले आरोप लगाएको छ ।
नेपाली सेनाका मेजर बिष्णु कार्कीकी श्रीमती २२ वर्षीया लतासा क्षेत्रीको २५ गते दिउँसो ३ बजे धापासीस्थित ग्राण्डी अस्पतालमा रहस्यमय मुत्यु भएको भन्दै मेजर बिष्णु कार्की विरुद्ध किटानी जाहेरी दिन खोज्दा प्रहरीले नमानेको मृतककी आमा शारदा थापा क्षेत्रीले बताइन् ।
प्रहरीले जाहेरी दर्ता गरेपनी किटानी जाहेरी दर्ता गर्न आनाकानी गरिरहेको पीडित पक्षले बताएको छ । मृत्यु भएको ६ दिन बितिसक्दा पनि आफूले छोरीको लास पनि हेर्न नपाएको शारदा बताइन् । प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमाने छोरीको आत्महत्या वा हत्या पुष्टी गर्नुपर्ने शारदाको भनाइ छ ।
आफूले छोरीको न सास न लास देख्न पाएको दुखेसो गर्दै उनले चित्त बुझ्दो जवाफ नआए सम्म चुप लागेर नबस्ने चेतावनी दिइन ।
घट्नाका बारेमा महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रहरी नायब उपरिक्षक सानुराम भट्टराईले पीडित पक्ष किटानी जाहेरी दर्ता गर्न नआएको दाबी गरे । उनले भने घट्ना हत्या या आत्महत्या के हो सुक्ष्म ढङ्गले छानबिन भैरहेको जानकारी दिए ।
पीडित पक्षले जाहेरीमा छानविन गरिपाउ भनेर उजुरी गरेकाले त्यसै अनुसार काम भैरहेको र कुनै कसर बाँकी नराखी छानबिन गर्नेपनि उनले बताए । ‘सरकारबादी मुद्दा भएकाले यसमा अहिले नै केहि बोल्नु भन्दापनि सत्य कुरा पत्ता लागेपछि आफै थाहा हुन्छ । घटनाको छानवीन गर्न पीडित पक्षसँग पनि सहकार्य भैरहेको छ’— उनले भने ।
प्रहरी अपराध अनुसन्धान महाशाखाले घट्नाका बारेमा प्रक्रियागत रुपमा छनबिन भैरहेको जनाएको छ । दोषी यहि नै हो भन्ने किटान नहुन्जेल कसैलाई पनि समात्न नसकिने महाशाखाको भनाई छ ।
गएको मंसिर २० गते विष्णु कार्कीसँग लतासाको विवाह भएको थियो । विवाह भएको दुई हप्तादेखि नै उनलाई श्रीमानले यातना दिने गरेको माइती पक्षको भनाई छ ।
प्रकाशित मितिः २०७२ असार ३० गते बुधवार
Comment Here!