सविता श्रेष्ठ
चितवन, साउन १ । चितवन माडीकी शिवकुमारी अर्यालको श्रीमान् हरिबहादुर श्रेष्ठसँग सम्पर्क टुटेको छ । प्रेम विवाह गरेर ५ वर्ष उनीहरू सँगै बसे । त्यसपछि श्रीमान सरुवा भएर गए । अनि फेरी उनीहरुको भेट भएन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनासँग प्रेम विवाह गरेपछि उनको माईतीसँग पनि सम्बन्ध बिग्रियो । अहिले उनका श्रीमान जागिरबाट अवकास भैसकेको उनले सुनेकी छन् । तरपनि श्रीमानलाई खोज्न गरेको प्रयासमा उनी सफल भईनन् । श्रीमानका कारण उनले आफ्नै नागरिकता समेत बनाउन पाएकी छैनन् ।
माडी कै चन्द्रमाया विकका श्रीमानको क्यान्सरका कारण ३ वर्षअघि मृत्यु भयो । श्रीमानको नागरिकता नभएको कारण उनको पनि नागरिकता बनेको छैन । नागरिकता बनाउने प्रयास उनले गरेको धेरै भयो । गाउँमा नागरिकता वितरण गर्ने टोली आउँदा पनि उनले प्रयास गरेकी थिइन् । चन्द्रमायाले छोराछोरीको जन्मदर्ता गर्नपनि सकेकी छैनन् ।
गाउँ विकास समितिमा श्रीमानको मृत्यु दर्ता गर्न जाँदा श्रीमानको नागरिकता नभएकाले हुँदैन भनेर कर्मचारीले फर्कादिएको उनी बताउँछिन् । एकल महिला भएर राज्यबाट पाउनुपर्ने सेवा सुविधा पनि उनले पाएकी छैनन् ।
उनलाई श्रीमानका आफन्त भएको जिल्ला नाम थाहा भएपनि घरको ठेगाना थाहा छैन् । ‘माईतीबाट नागरिकता लियो भने मेरोमात्र हुन्छ, यसबाट छोराछोरीलाई नागरिकता दिन सक्दिन’ उनी भन्छिन्, ‘चिनेजानेका कोही छैनन् म कहाँ जाने ?’
जानकी महतोका श्रीमानका सबै आफन्त माडी मै भएर पनि नागरिकता बनाउन सकेकी छैनन् । ‘ससुराको नागरिकता नभएकोले श्रीमानको पनि छैन’ उनले भनिन् । छारे रोग लागेका कारण ससुराले नागरिकता बनाउन सकेनन् ।
ससुराको मृत्यु भएपछि उनले श्रीमानको र आफ्नो नागरिकता बनाईदिन ससुराको भाईहरूलाई भनिन् । तर, उनीहरूले सहयोग गरेनन् । ‘नागरिकता नभएपछि मोबाइलको सीमकार्ड समेत लिन र सहकारीमा पैसा जम्मा गर्न सकेकी छैन’ उनले भनिन् । नागरिकता बनाउन आफन्तले सहयोग नगर्दा आफ्नोे परिवार पनि नागरिकताविहिन भएको उनी बताउँछिन् ।
श्रीमान्ले सहयोग नगर्दा बुद्धिमाया विश्वकर्माले आफ्नो नागरिकता बनाउन सकेकी छैनन् । जसले गर्दा उनका दुई छोरी र एक छोरा पनि नागरिकताविहिन छन् । ‘छोरीहरूको बिहे भैसक्यो ।’ उनले भनिन् –‘ नागरिकता बनाईदिन्न भन्छन् । श्रीमान् भागेकोभाग्यै गर्छन् ।’
माडीमा पुस्तौंदेखी बसोबास गरेपनि अघिल्लो पुस्तादेखी नै नागरिकता नहुँदा तथा श्रीमान्ले वेवास्ता गर्दा महिलाले नागरिकता बनाउन सकेका छैनन् । कानुनी रुपमा राज्यको नागरिक बन्न उनीहरूसँग नागरिकता छैन । जसका कारण राज्यले प्रदान गर्ने सेवा सुविधाबाट पनि उनीहरू बञ्चित भएका छन् । नागरिकता विहिन भएपछि जिविकोपार्जन, छोराछोरीको अध्ययन, जागिरका सम्बन्धमा पनि समस्या भोग्दै आएको उनीहरूले बताए ।
माडीमा ५० जनाजति नागरिकताविहिन भएको माडी नगरपालिकाका कार्यकारी अधिकृत थानेश्वर पराजुलीले जानकारी दिए । जसमा धेरैजसो महिला भएको उनले बताए ।
पुस्तौंदेखी नागरिकताविहिन भएर, श्रीमान वेपत्ता भएर तथा केहीको श्रीमानसँगको सम्बन्ध खुल्ने कागजात नभएका कारण उनीहरूको नागरिकता बनाउन समस्या भएको उनले बताए । प्रमाण भएका कागजातलाई नागरिकता बनाउन सिफारिस गर्ने गरेपनि प्रमाण नभएको हकमा कार्यालयले केही गर्न नसक्ने उनी बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम विवाहित महिलाले नागरिकता पाउन श्रीमानको नागरिकता र विवाह दर्ता हुनुपर्ने बताउँछन् ।
नागरिकता वितरणका बारेमा बताउँदै उनले भने –‘वंशजका आधारमा नागरिकता जुनसुकै समयमा पनि पाउन सकिन्छ । जन्मका आधारमा भने सरकारले कुनै विशेष समय अवधि तोकेर दिने गरेको छ ।’
वंशजका आधार तथा प्रमाणहरू नपुगेको अवस्थामा बाधा अड्काउ फुकाउ गर्न जन्मका आधारमा नागरिकता दिन, आधार वर्ष तोकेर, निवेदन मागेर नागरिकता दिने प्रचलन रहेको उनले बताए ।
प्रकाशित मिति :२०७२ साउन १ गते शुक्रवार
Comment Here!