अनु आचार्य
रसुवा, साउन २ । विनासकारी भूकम्प र शक्तिशाली पराकम्पपछि घरबारविहिनका भएका रसुवाका गर्भवती, सुत्केरी महिला र शिशुहरूमा स्वास्थ्यको गम्भीर समस्या देखिएको छ । बर्षा सुरु भएसगैँ त्रिपालको अस्थायी बास जलमग्न हुने, अस्थायी बासोबासमा स्वस्थ्य खानेपानीको अभाव र गुणस्तरीय खानाको अभावमा पालमुनी बस्दै आएका सुत्केरी महिला र शिशुहरूमा विभिन्न रोगको संक्रमण सुरु भएको छ ।
राहतमा चामल नुन तेललगायत खाद्यान्न पाएपनि प्रलयकारी भूकम्पले घरबार गुमाएका पीडितलाई लगाउने कपडाको अभाव चर्किएको छ । भूकम्प आउँदा लगाएको एकसरो कपडाको भरमा रहेका पीडितहरू राहतमा अत्यावश्यक सामाग्रीको रुपमा कपडा नपाएको हाकु गाविस की संगीता तामाङको गुनासो छ । उनले भनिन् ‘राहतको नाममा चामल, नुन तेललगायतका खाद्यान्न पायौं, तर, कपडाको नाममा एउटा मन्डी समेत पाइएको छैन । घरमा भएको लत्ता कपडा सबै पुरिएपछि नयाँ कपडा किन्ने पैसा छैन ।’
अस्थायी वासस्थानमा लगाउने र ओढने–ओछ्याउने कपडाको अभावले पनि दैनिकी कष्टकर बनाएको छ । विस्थापितहरू एकै पालमुनी बासोबास गर्दा महिलालाई असहज र असुरक्षित समेत देखिने पिरलो खट्कदै गएको छ ।
घरबारविहिन हुँदा सरकार र संघसंस्थाले खाद्यान्नमा सामान्य सहयोग गरेपनि दैनिकी चलाउन अत्यावश्यक रहेका सामाग्रीको अभाव हुँदा निकै समस्या भइरहेको संगीताले बताइन् ।
पालको बसाईंमा रहेका पीडितको छाप्रोमा विषालु जीवबाट बालबालिका कसरी बचाउने भन्ने चिन्ता थपिएको हाकुकै लक्ष्मी तामाङले बताइन् । अस्थायी बसोबासमा विषालु जीव, जंगली जन्तुबाट ज्यान बचाउन सामूहिक बासोबासमा रहेका विस्थापितहरू दुषित वातावरणले विभिन्न रोग फैलने खतरा बढेको तामाङको भनाइ छ । उनले भनिन् ‘किराले टोकेर मुख सुनिसक्यो अब कसरी बच्ने खानेपानी लिन पनि कहाँ जाने नजिक छैन १० देखि १५ मिनेट हिँडेर गयो पानी धमिलो छ ।’
यस्तै रजश्वला हुदाँ समस्या हुने हाकु गाविसका निरमाया तामाङको पीडा छ । ‘रजश्वला हुँदा पुरुष पनि एउटै लाईनमा हुदाँ एकै ठाउँमा बस्दा गाह्रो भयो । घरमा कपडा सबै पुरियो, रजश्वला हुँदा राख्ने कपडा समेत नहुँदा निकै सास्ती भएको छ,’ उनी सुनाउँछिन् ।
वैशाख १२ गतेको बिनासकारी भूकम्पबाट रसुवामा २७ जना बालबालिका टुहुरा बनेका छन् । एक सय ४० जना बालबालिकाले आमा र बुबा मध्ये १ जना गुमाए भने १ सय ३१ जना महिलाले श्रीमान गुमाएको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय रसुवाले दिएको छ ।
महिलाका लागि बास र कपासको समस्या दिनप्रतिदिन बढदै जाँदा महिला तथा बालबालिका कार्यालय रसुवाले अस्थायी बासोबास गर्दै आएकालाई आवश्यक सामग्रीहरू उपलब्ध गराउने पहल जारी राखेपनि पुर्याउन नसकेको महिला तथा बालबिकास अधिकृत अन्जु ढुङगानाले बताइन् ।
प्रकाशित मितिः २०७२ साउन २ गते शनिवार
Comment Here!