निर्मला ठकुराठी
काठमाडाैं, साउन ३ । जिल्ला अदालत ललितपुरले अदालत परिसरमा स्तनपान कक्ष स्थापना गरेको छ ।
काखमा दुध खाने छोराछोरी लिएर मुद्दा खेप्न आउने महिलालाई सुविधा होस भन्ने उद्देश्यले सो कक्ष सञ्चालनमा ल्याईएको अदालतका श्रेस्तेदार बाबुराम दाहालले बताउँनुभयो । स—साना नानी लिएर आउने महिलालाई भीडभाडमा स्तनपान गराउन समस्या हुने गरेको बताउँदै श्रेस्तेदार दाहालले भन्नुभयो, ‘उनीहरूको समस्यालाई मध्यनजर गर्दै स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो ।’
अदालतको दोस्रो तलाको साक्षी कक्षसँगै बनाइएको सो कक्ष सञ्चालन भएसँगै स्तनपान गराउने महिलालाई सहज भएको दाहालले बताउनुभयो ।
अदालतमा छुट्टै स्तनपान कक्षको व्यवस्था गरिएको यो पहिलो भएको जानकारी ललितपुर जिल्ला अदालतका प्रवक्ता कौशल ज्ञवालीले दिनुभयो ।
यो व्यवस्थाले बच्चा भएका महिलालाई अदालतमा पुगेर साक्षी वकपत्र दिन प्रोत्साहन गर्ने उहाँले बताउँनुभयो ।
प्रकाशित मिति :२०७२ साउन ३ गते आईतवार
Comment Here!