बलात्कार : धेरै दोषी उम्कन्छन्


प्रकाशित मिति :2015-07-19 15:12:14

पैसाको प्रलोभन र पीडकको धम्कीका कारण पीडितले अदालतमा पुगेर बयान फेर्छन् । यसको परिणाम बलात्कार मुद्दामा धेरै दोषीहरू सहजै उम्कन्छन् ।

नरेन्द्र सापकोटा
download हेटौंडा उपमहानगरपालिका २ का रमेश केसी बालिका बलात्कारको आरोपमा पक्राउ परे । १५ वर्षीया बालिकालाई ललाईफकाई झण्डै ६ महिनादेखि बलात्कार गर्दै आएको आरोप लागेका केसीले घरमा कोही नभएको मौका छोपी बालिकाकै घरमा गएर बलात्कार गर्ने गरेका थिए । तर जुन दिन प्रहरीले उनलाई पक्राउ गर्‍यो त्यो दिन भने जर्वजस्ती गर्न खोजेको मात्रै प्रमाण भेटियो । बालिकाले पनि बयानमा त्यसदिन आफूलाई जर्वजस्ती गर्न खोजेको तर त्यस अघि भने बारम्बार बलात्कार गर्दै आएको बयान दिइन् । केसीमाथि जर्वजस्ती करणी अन्तर्गत नै अदालतमा मुद्दा दर्ता भयो । थुनछेक बहसमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पनि पठायो । बालिकाका तर्फबाट विभिन्न अधिकारवादी संस्थाले पीडकलाई कारवाहीका लागि दबाब पनि दिए । तर मुद्दा फैसला हुँदा उनले सफाई पाए ।

हेटौंडा उपमहानगरपालिका ८ का एक व्यक्तिले भाई र फुपु दिदीसँगको मिलेमतोमा आफ्नै श्रीमतीलाई बलात्कार गर्ने गरेको रहस्य खुल्यो । नशालु पदार्थ खुवाएर दाजुभाइले नै यौनशोषण गरिरहेको खुलेपछि माइती पक्षले तीनै जनाविरुद्ध प्रहरीमा उजुरी दिए । प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो । हेटौंडा–९ का माइती गाउँलेले तीनै जनालाई कडा कारवाही गर्नुपर्ने मागसहित दिनदिनै आन्दोलन पनि गरे । अदालतले थुनछेक बहसमा फुपु दिदीलाई धरौटीमा छोड्यो भने दाजुभाईलाई पुर्पक्षका लागि थुनामा पठायो । ६ महिनापछि मुद्दाको फैसला गरेको जिल्ला अदालतले त्यहि ६ महिना कैदको सजाय तोक्यो र दुबै जेलबाट छुटे ।

बलात्कार जस्तो अपराध हत्तपत्त पुष्टि हुँदैन र उनीहरू कसरी सहजै उम्कन्छन् भन्ने केही आधारहरू हुन यी । दोषीलाई नाम मात्रको सजायले बलात्कारीको मनोवल बढ्नु स्वभाविक हो । यसले पीडितलाई झनै असुरक्षित बनाउँछ र समाजमा पुर्नस्थापना हुन समेत समस्या हुन्छ । दोषी  सहजै उम्कने खालका अदालती फैसलाले अन्य पीडित महिलामा समेत न्याय खोज्न जाने हिम्मत रहँदैन । जिल्ला अदालत मकवानपुरबाट बलात्कार तथा बलात्कार प्रयास भएका १९ वटा मुद्दा फैसला भएका छन् । त्यसमा १५ वटा मुद्दाका अभियुक्तले सफाइ पाए । जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख यम बानियाँका अनुसार चारवटा मात्रै मुद्दा सफल हुनु पीडित महिलाका लागि दुःखद कुरा हो ।

कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सरेर आएका नौ वटासहित अहिले १५ वटा बलात्कार सम्बन्धि मुद्दा फैसला हुन बाँकी छ । ति मध्ये १३ वटा चलिरहेका छन् भने दुईवटा मुल्तबीमा रहेको बानियाँले बताए । प्रमाण पुर्‍याउन नसक्ने, ढिलो गरी उजुरी गर्ने, प्रमाण सुरक्षित राख्न नसक्दा मुद्दा कमजोर हुने र असफल हुने बानियाँको भनाई छ ।

आर्थिक प्रलोभन डर धाक धम्कीका कारण पीडितले बयान फेर्दा धेरैजसो मुद्दाहरू कमजोर हुने गरेको उनले बताए । ‘प्रहरीले, सरकारी वकिलले मुद्दा कमजोर बनाउँदैन, बानियाँले भने, यस्तो संवेदनशील विषयमा प्रहरी र हामी पनि पीडक उम्कियोस भन्ने चाहँदैनौ ।’

असफल भएका प्रायः सबै मुद्दाको पुनरावेदन गरिने भएपनि सफलता हात नलाग्ने बानियाँको भनाई छ । बलात्कारका मुद्दा सरकारवादी हुने भएकाले सरकारी वकिलले पनि कमजोर बनाउँछन् भन्ने आरोप लाग्ने गरेको छ । तर बानियाँ यसलाई अस्विकार गर्छन् ।

माइती नेपाल मकवानपुरकी संयोजक माया लामा भने प्रहरीको अनुसन्धान प्रक्रिया नै फितलो हुने भएकाले धेरै मुद्दा असफल हुने बताउँछिन् । प्रहरीले अलि बढी संवेदनशील भएर अनुसन्धान गरिदिने हो भने धेरै हदसम्म पीडकलाई कारवाही गर्न सकिने उनको भनाइ छ ।

‘हामीले हाम्रो तर्फबाट मुद्दा बलियो बनाउन र दोषी उम्कन नपाओस भन्नका लागि सक्दो प्रयास गर्छाैं, लामाले भनिन्, तर धेरै मुद्दा अदालतमा पुगेपछि दोषी सहजै उम्किरहेका छन् ।’ त्यस्तै पीडितले लामो समयपछि घटना सार्वजनिक गर्ने कारणले पनि पीडितलाई न्याय दिलाउन समस्या परेको उनी बताउँछिन् । अभिभावकले पैसाको प्रलोभनमा पीडितलाई बयान फेर्न बाध्य पारिदिने कारणले पनि बलात्कारका मुद्दा असफल हुने गरेको उनको अनुभव छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक शिशु शर्माले  बलात्कारसँग सम्बन्धित मुद्दालाई प्रहरीले कुनै हालतमा कमजोर नबनाउने दाबी गरे । भएको स्रोत साधनको उपयोग गरेर अनुसन्धान गरिने भन्दै शर्मा यस्ता मुद्दामा प्रहरी निकै संवेदनशील रहेको बताउँछन् । ‘अहिलेको सन्दर्भमा प्रहरी त्यति गैरजिम्मेवार हुन सक्दैन’, शर्माले भने, ‘गम्भीर विषय भएकाले हामीले अनुसन्धानमा कुनै लापरवाही गर्दैनौं ।’

उनका अनुसार जिल्लामा जर्वजस्तीकरणीका घटना बढिरहेका छन् । विशेषगरी बालिकाहरूमाथि यौन दुव्र्यवहार तथा बलात्कारको घटना बढ्दो क्रममा छ ।

जिल्लाको पछिल्लो पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्ने हो भने जर्वजस्ती करणीका ७६ वटा घटना मध्ये पीडित १६ वर्ष मुनिका रहेका ४० वटा छन् ।

पुनरावदेन अदालत हेटौंडाका न्यायाधीश तिलप्रसाद श्रेष्ठ भन्छन्, ‘न्यायाधीशले कहिल्यै पनि प्रमाणलाई कुल्चिएर वा नजरअन्दाज गरेर फैसला गर्न सक्दैन । अदालतले कागज र प्रमाण हेरेर मात्रै फैसला गर्छ ।’ अदालतमाथि लाग्ने आरोप मेटाउन र सर्वसाधारणमा कानुन सम्बन्धी रहेको भ्रम चिर्न अहिले आफूहरू ‘गाउँ गाउँमा अदालत’ भन्ने कार्यक्रम लिएर गाउँघरमा गइरहेको न्यायाधीश श्रेष्ठले बताए ।

कारण जे सुकै भएपनि बलात्कारका दोषी अदालतमा पुगेपछि उम्किने वातावरणको अन्त्य हुनुपर्छ । पीडितलाई न्याय दिलाउने सन्दर्भमा सहजीकरण गर्ने विभिन्न संघसंस्थाले पनि यथार्थपरक घटनामा रहेर पर्याप्त प्रमाणहरु जुटाउनुपर्छ । त्यहि प्रमाणका आधारमा प्रहरीलाई प्रभावकारी अनुसन्धान गर्न दबाब दिन सकिन्छ । अनि मात्र अपराधी उम्कन नसक्ने अवस्था निमार्ण हुनपुग्छ ।

प्रकाशित मिति :२०७२ साउन ३ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: