निर्मला ठकुराठी
कञ्चनपुर,साउन ५ । चार वर्षदेखी साईकल मर्मत गर्दै आएकी कञ्चनपुर गुलरीया मौवाफाटाकी मञ्चला चौधरीले दिनमा चार सय आम्दानी गर्नुहुन्छ । बिहानै पाँच बजे उठेर घरको कामसँगै व्यवसाय सम्हाल्दै आउनुभएकी चौधरी सीपले सक्षम र आत्मविश्वासी बनाउने बताउँनुहुन्छ । हातमा सीप नहुन्जेल मजदुरी गर्ने चौधरीलाई तीन महिने साईकल मर्मतको तालिमले आत्मनिर्भर बनाएको हो ।
नेपाल राष्ट्रिय समाज कल्याण संघको सहयोगमा हेल्भेटास सञ्चालन गरेको स्वरोजगार कोष तालिमले आफै केही गरौ भन्ने उत्साह थपिदिएको बताउनुहुन्छ मञ्चला चौधरी । महिनाको १४ सय रुपैयाँमा अर्काको घरमा काम गर्ने मञ्चलालाई यो व्यवसायले आत्मनिर्भरमात्र बनाएको छैन् स्वाभिमानी हुन पनि सहयोग पुर्याएको छ ।
कपाल काट्ने काम गर्दै आउनुभएका श्रीमान मोहन चौधरीको सहयोगले पनि सफल हुन सहयोग पुर्याएको बताउनु हुन्छ मञ्चला । पसल सञ्चालन गर्दा ल्याएको तीस हजार रुपैयाँ ऋण चुक्ता गरिसकेका मञ्चला र मोहन अब आफ्नो व्यवसायलाई थप ठुलो बनाउने योजनामा छन ।
सुरुका दिनमा केटी मान्छेले पनि साईकल मर्मत गर्ने भन्दै जिस्काउनेहरू अहिले राम्रो गर्नु भएको छ भन्दै आउँदा आफू सफल भएको जस्तो लाग्दछ मञ्चलालाई । दिनभर अर्काको घरमा काम गर्दा पेटभरी खान नपाएको पुरानो दिन सम्झदै मञ्चला भन्नुहुन्छ ‘कसैको पर्वाह नगरी आत्मविश्वासका साथ काम गर्दा सफल हुन् समय लाग्दैन ।’ घरको खर्च कटाएर छोरा छोरीलाई विद्यालय पठाउन सफल भएकोमा भने निकै खुशी हुनुहुन्छ मञ्चला ।
जोखिमपूर्ण भन्दै यो पेसामा महिला आउन डराइरहँदा हिम्मतका साथ मञ्चलाले साईकल मर्मत गरेको देख्दा मोहनलाई पनि निकै खुशी लाग्दछ । श्रीमतीलाई किन बाहिर काम गर्न दिएको घरमै राखे भयो नि भनेर सुझाव दिने आफन्तलाई मोहनको एउटै जवाफ छ ‘काम गरेर काेही सानो हुँदैन ।’
प्रकाशित मितिः २०७२ साउन ५ गते मङ्गलवार
Comment Here!