बलात्कारी र मानव तस्करलाई फाँसी दिन माग
सीता, भृकुटी र बुद्ध जन्मेकाे देश भनेर प्रस्तावनामा लेख्न सुझाव
महिला खबर
भक्तपुर,साउन ५ । संविधानको मस्यौदामाथि सुझाव दिने भक्तपुर क्षेत्र नम्बर २ का जनताले बलात्कारी र महिला बेचविखनमा संलग्नलाई फाँसी दिने व्यवस्था नयाँ संविधानमा गर्न माग गरेका छन् ।
नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आज भक्तपुरको नयाँ ठिमीमा आयोजना गरेको कार्यक्रममा बोल्दै रमेश थापा श्रेष्ठले बालिका बलात्कार गर्ने अपराधीहरूलाई फाँसी दिने व्यवस्था संविधानमा लेख्न सुझाव दिएका छन् ।
यसैगरी प्रेम कुमार श्रेष्ठले महिला तथा बालबालिका बेचबिखन गर्ने मानव तस्करहरूलाई पनि फाँसी दिने व्यवस्थाको माग गरेका छन् ।
कार्यक्रममा बोल्दै कृष्णलाल गोजश्रेष्ठले प्रस्तावनामा पितृसत्ता भन्ने शब्द राख्नुपर्ने सुझाव दिँदै भने ‘महिला अहिलेसम्म अगाडी आउन नसक्नुको मुख्यकारण पितृसत्तात्मक सोच नै हो ।’ उनले नागरिकतामा महिला र पुरुषको बराबरी अधिकार हुनपर्ने कुरामा जोड दिएका थिए ।
मजदुर महिला लक्ष्मीश्वरी प्रजापतीले सरकारी जस्तै नीति कम्पनीहरूमा काम गर्ने महिला कामदारलाई तलब सहितको सुत्केरी विदाको व्यवस्था संविधानमा उल्लेख हुनुपर्ने माग राखेकी छिन् । मस्यौदामा सुझाव दिँदै साबित्री कार्कीले राज्य संचालन आलोपालोको सिद्धान्त अनुसार गर्नुपर्ने सुझाव दिइन् । यसैगरी नगेन्द्र खड्काले सीता, भृकुटी र बुद्ध जन्मेकाे देश भनेर प्रस्तावनामै लेख्न जाेडदार माग गरेका छन् ।
प्रकाशित मिति २०७२ साउन ५ गते मंगलवार
Comment Here!