रमला सिंगक
ताप्लेजुङ, साउन ८ । बालिकालाई बेचविखन गर्न लागेको अभियोगमा पुष्प बिकलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरी अनुसनधान सुरु गरेको छ । भतिजी नाता पर्ने ताप्लेजुङ सेसम्बुकी १२ वर्षीया बालिकालाई ललाई फकाई भारततर्फ लैजान लागेको अभियोगमा राकेश भनिने पुष्प विकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका विकलाई अनुसन्धानपछि अदालतमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामेश्वर पण्डितले बताउनुभयो । उहाँका अनुसार विकलाई अनुसन्धान थालिएको र बालिकालाई अभिभावकको जिम्मा लगाईएको छ । बालिकाको परिवारले किटानी जाहेरी दिएको आधारमा प्रहरीले अभियुक्तमाथि अनुसन्धान थालेको हो ।
बिकले बालिकालाई नयाँ लुगा किनिदिने, मिठो खान दिने र राम्रो काममा लगाई दिने भनि प्रलोभन देखाउँदै बालिकालाई फकाएको प्रहरीले बताएको छ ।
बिकले आफूसँग नगए अप्ठेरो हुने भन्दै बालिकालाई धम्कि समेत दिएको इन्स्पेटर पण्डितले जानकारी दिनुभयो । यस अघि मानव बेचबिखनका घटना दर्ता नभएको जिल्ला प्रहरी कार्यालय ताप्जेजुङले जनाएको छ ।
प्रकाशित मिति २०७२ साउन ८ गते शुक्रवार
Comment Here!