खुल्ला दिसामुक्त जिल्ला बाजुरामा महिनावारी भएका बेला महिलाले शौचालय प्रयोग गर्न पाउँदैनन् । यस्तोवेला खुल्ला ठाउँमा दिसा पिसाव गर्ने गरेकाे उनीहरू बताउँछन् ।
महिला खबर
बाजुरा, साउन ८ । बाह्रबिस –६ बासुरेकी रीता शाही महिनावारी भएका बेला शौचालय प्रयोग गर्न पाउँदिनन् । महिनावारी हुँदा खुला ठाँउमा शौच गर्नुपर्ने बाध्यता उनीमा रहँदै आएको छ । जिल्ला खुल्ला दिसा मुक्त घोषणा भएपनि महिनावारीका समयमा उनले खुल्ला ठाउँमा दिसापिसाव गर्नुपर्छ ।
२० वर्षीया रीता शाही कक्षा १२ मा अध्यनरत छन् । ‘१५ वर्षमा महिनावारी भएकी हुँ, अहिलेसम्म छाउ भएका बेला कहिल्यै चर्पी प्रयोग गर्न पाएकी छैन’, रीता भन्छिन् । रीता जस्तै शुशिला शाही पनि महिनावारी भएको समयमा शौचालयको प्रयोग गर्न पाउँदिनन् । ‘चर्पी र चर्पीमा राखेको पानी छोइन्छ भन्दै आफूहरूलाई घर परिवारले चर्पीमा दिसा पिसाव गर्न नदिने शुशीलाले बताइन् ।
बाजुरा जिल्ला खुलादिशामुक्त घोषणा भएपनि महिनावारी हुँदा महिला खुल्ला ठाँउमा शौच गर्न बाध्य छन् ।
‘सबै तिर खुला दिशामुक्त अभियान सञ्चालन भईरहेका छन्, तर हामीले भने महिनावारी भएको बेला खुला ठाँउमा दिसापिसाब गर्ने गरेका गरेका छौं’, जलु नेपालीले भनिन् ।
शौचालयको प्रयोग मात्र नभई महिनावारीको समयमा सार्वजनिक धारा पँधेराको प्रयोगमा समेत उनीहरूलाई निषेधित गरिएको हुन्छ । पर्याप्त धारा र पँधेराको अभाव रहेको बाजुरामा महिनावारी हुँदा नुवाई धुवाई समेत फोहर खोलाको पानीमा गर्नुपरेको महिलाले बताए ।
महिनावारी भएकी अविवाहित महिला र सुत्केरी महिलालाई यो नियम झन कडा छ ।
‘अछाम, बाजुरा, डोटी र बझाङ्ग जिल्ला भरी नै महिनावारीका बेला महिलाले शौचालय र सार्वजनिक धारा पँधेरा प्रयोग गर्न पाउँदैनन्’,महिला स्वास्थ्य स्वयमसेविका सीता बिक भन्छिन् । महिनावारी भएको बेला महिलाहरू गाई बस्तु बस्ने गोठ वा ओडारमा बस्ने गर्दछन् ।
प्रकाशित मितिः २०७२ साउन ८ गते शुक्रवार
Comment Here!