जरिवाना तिर्न नसकेर जेल


प्रकाशित मिति :2015-07-25 11:01:38

 केन्द्रीय कारागारमा रहेका ३ सय १२ महिला कैदीबन्दी मध्ये धेरै कैद भुक्तानी भइसक्दा पनि जरिवाना तिर्न नसकेर जेलमै बस्न बाध्य छन् । धेरैका लोग्नेले अर्को विवाह गरिसकेका हुन्छन, माईतीसँग जरिवाना तिर्ने पैसा हुँदैन ।

देवी सापकोटा

Devi sapkota६० वर्ष काटेकी, सेतै कपाल फूलेकी कृष्णकुमारी लामा टन्टलापुर घाममा तरतरी पसिना चुहाउँदै सुन्धाराको केन्द्रीय कारागारको मुल ढोकाको लाइनमा थिइन् । लागु औषध ओसारपसारको कसुरमा जेल परेकी भतिजी सुष्मा लामालाई भेट्नु थियो । हातमा खानेकुराको पोको बोकेकी थिइन् ।

उनले ११ वर्षदेखि भतिजीलाई भेट्न नपाएको गुनासो गरिन् । ४० वर्षीया सुष्माकी आमा छैनन् । ‘उसकी आमा भए भेट्न आइहाल्थी नी’ कृष्णमायाले मनको कुरा खोलिन् । सुष्माको घर मकवानपुर हो । लागु औषध ओसारपसारको कसुरमा उनी र उनका श्रीमान १७ वर्षदेखी जेलमा छन् ।

१५० ग्राम अफिम बोकेको भन्दै थानकोटबाट प्रहरीले लामालाई पक्राउ गरेको हो । ५ लाख रुपैयाँ जरिवाना बुझाउन सकेको भए १५ वर्ष जेल बसेपछि लामा दम्पती रिहा हुने थिए । जरिवाना रकम बुझाउन नसक्दा उनको जेल सजाय अरु ४ वर्ष थपियो । लामाका २ छोरी र १ छोरालाई बन्दी सहायता नेपाल नामक सामाजिक संस्थाले पढाई दिने व्यवस्था मिलाएको छ ।

सुष्मा भन्छिन् ‘मैले जस्तो सास्ती कसैले पनि भोग्न नपरोस, श्रीमान एकातिर छोरा छोरी अर्कोतिर, न चाडपर्व हाम्रो लागि सबै यहि जेल भएको छ् ।’ लागू औषध कारोवारले उनको सानो परिवारको खुसी सबै खोसिदियो । १७ वर्ष जेल बस्ता मुस्किलले ४ पटकमात्र उनले आफन्त भेटिन् ।

‘घर परिवारको आर्थिक अवस्था नाजुक छ । कहाँबाट ल्याउनु त्यत्रो लाख, लाख पैसा र निस्कनु यहाँबाट ?’

४५ वर्षीया जमुना थापा ढुकुटी चलाएर ठगी गरेको मुद्दामा २ वर्षदेखी जेलमा छन् । ढुकुटी खेल्ने क्रममा ठगेको भन्दै थापाविरुद्ध १ सयजना भन्दा बढीले निवेदन दिएपछि उनी पक्राउ परेकी हुन् ।

५ करोड रुपैयाँ जरिवाना तिर्न सकेको भए उनीपनि एक वर्षमै जेलबाट निस्किसकेकी हुन्थिन् । थापाले भनिन, ‘जरिवाना बुझाउन नसक्दा रोगी शरीर जेलमै घिसार्नु परेको छ । यति ठूलो रकम कहाँबाट ल्याउनु, परिवारका सदस्यले पनि मेरै दोष देखाउँछन् ।

कुन दिनमा यस्तो फन्दामा फसेछु ।’ सुष्मा र जमुना मात्र होइन केन्द्रीय महिला कारागारमा उनीहरू जस्तै अदालतले छुटन आदेश दिएका तर जरिवाना तिर्न नसकेर जेलमै बस्नेहरू विदेशीसहित १८ जना रहेको कारागार शाखाको अभिलेखबाट देखिन्छ । सुष्मालगायत केन्द्रीय कारागार सुन्धारामा ३ सय १२ महिला कैदीबन्दी छन् ।

केही कैदीको अदालतले छुट्ने आदेश दिएको मिति पुग्न लागिसक्यो । तर, जरिवाना तिर्ने रकम नहुदाँ उनीहरूको कारागार बसाइ लम्बिने निश्चित जस्तै छ भन्छिन् काठमाडौंकी विना श्रेष्ठ ।

केन्द्रीय कारागारमा मात्रै लागू पदार्थ ओसारपसारको मुद्दामा सबै भन्दा धेरै ९४ महिला छन् । त्यसैगरी कर्तव्य ज्यानमा ७८, मानव बेचविखनमा ३७, चोरी १५ विदेशी मुद्रा तस्करी ११ र अन्यमा ६६ गरी कुल ३ सय १२ महिला त्यहाँ छन् । लागु औषध नियन्त्रण ऐन २०३३ मा अफिम तस्करी गर्नेलाई परिणाम हेरेर कैद र जरिवानाको व्यवस्था छ ।

२५ ग्रामसम्म कारोवार गर्नेलाई ५ देखि १० वर्ष कैद र ५–२५ हजार रुपैयाँ जरिवाना, त्यस्तै २५–१०० ग्राममा १०–१५ वर्ष कैद ७५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना । १०० ग्राम देखिमाथिको परिणाममा १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाख रुपैयाँ जरिवानाको व्यवस्था छ । नेपालमा यस्तो कारोबार गर्नेलाई सबै भन्दा जघन्य अपराधको रुपमा लिइन्छ ।

यस्ता किसिमका ठूला अपराध र तस्करीमा महिलालाई प्रयोग गर्ने प्रवृति बढ्दो क्रममा छ । यस्ता मुद्दा हेरिरहेका अधिवक्ता प्रकाश बस्नेतका भनाइमा, ‘जसको अदालतबाट मुद्दा टुङ्गिएको छ र कैद भुक्तान भैसकेको छ त्यस्ता कैदीको आर्थिक अवस्था हेरेर सरकारले मिनाहा गर्ने प्रयास आवश्यक छ ।’ केन्द्रीय कारागारमा काठमाडौं, नुवाकोट, धादिङ्ग, सिन्धुपाल्चोकका महिला छन् । जेलमा बस्दै आएका महिलालाई विभिन्न सामाजिक संघ–सस्थाले सीपमूलक तालिमहरू दिँदै आएका छन् ।

जेलबाट बाहिर आएपछि आत्मनिर्भर बन्न सहज हुन्छ भनेर कतिले सौन्र्दय, सिलाई बुनाई, सारीमा बुट्टा भर्ने तालिम लिएका छन् । जेलबाट निस्केपछि कतिले आत्मनिर्भर बन्ने सपना नसजाएका भने होइनन् । तर, जरिवाना बुझाउन नसकेर जेलमा बस्ने समय लम्बिँदा लिएको तालिम पनि बिर्सन लागेकोमा चिन्तित छन सिन्धुपाल्चोककी रुपा तामाङ ।

जेलमै रहदाँ एसएलसी पास गरेकी रुपाले अहिले कक्षा १२ को परिक्षा पनि दिइन् ।

‘हामी श्रीमान–श्रीमती नै जेलमा छौं हाम्रा बा आमाले लाखौ पैसा कहाँबाट ल्याउने ? हामीलाई कसैले दयामाया गर्दैन, त्यसैले यही बस्नुकाे विकल्प छैन’ अर्की बन्दी सरिता श्रेष्ठले भनिन् । श्रीमती जेलमा हुँदा गाउँमा धेरैजसो श्रीमानले अर्को विवाह गरेका छन् । यसकारण उनीहरू जेलमा रहेका श्रीमतीको धरौटी तिरेर बाहिर निकाल्ने प्रयास गर्दैनन् ।

‘कहिले काहिँ त लाग्छ यस्तो जिन्दगी पनि के बाच्नु यहि आत्महत्या गरुँ, फेरी छोरा छोरीको अनुहार सम्झेर धेरै पटक आफ्नो गलत निर्णय बदलँे’ सिन्धुपाल्चोककी ३० वर्षीया ललिता तामाङ भन्छिन् । देशभरी महिला कैदीको संख्या १२ सय नाघिसकेको छ । गरिवी, वेरोजगारी, आर्थिकरुपमा सक्षम नहुँदा विभिन्न प्रलोभनमा परेर लागू औषध तस्करीलगायतका कार्यमा महिला प्रयोग भएको बताउँछन् केन्द्रीय कारागारका उप–सचिव बेदबहादुर कार्की । कार्की भन्छन्, ‘उनीहरूको अपराध अनुसार अदालतले फैसला गर्ने र सोही अनुसार नै कारागारले जरिवाना र सजाय तोक्छ । कारागार निर्देशिका र नियमावलीमा जे उल्लेख छ दोषीबाट त्यो सजाय र जरिवाना असुल्नुपर्छ ।

अदालतले छुट्ने आदेश दिएपनि उसले तिर्नुपर्ने जरिवाना तिरेको छैन् भने जेलमा बस्नै पर्छ ।’ पुरुषको तुलनामा महिलाको अवस्था सम्वेदनशील हुन्छ त्यसैले उनीहरूको समस्यालाई बुझेर केहि हदसम्म महिलाको पक्षमा नीतिनिमार्ण हुनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको सुझाव छ । उनी भन्छिन्, ‘निरक्षर र सोझा दिदी बहिनीलाई झुक्याएर त्यस्ता कार्यमा फसाइएको हुन्छ । त्यसैले पनि पुरुष भन्दा महिलाको पक्षमा केही विचार सरकारले अवश्य नै गर्नुपर्छ ।’

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका भनाइमा, ‘अदालतले तोकेको सजाय र जरिवानाबाट कोही पनि उम्कन पाउँदैन । वर्तमान कारागार निर्देशिका र कारागार नियमावलीमा जे उल्लेख छ त्यसलाई नै आधार मानेर अगाडी बढ्ने हो ।’ ढकाल भन्छन, ‘नयाँ नियम बनाउने त्यस्तो केही योजना तत्कालका लागि छैन् । आगामी दिनमा कैद पुरा भैसकेकाको लागि जरिवाना तिर्न नसक्नेको हकमा के गर्ने भन्ने अर्को छलफल र बहसको सवाल बन्न सक्ला’ ।

यहा उल्लेख गरिएका सवै पात्रको नाम परिवर्तन गरिएको छ

(सापकोटा व्यवसायिक पत्रकारिता अध्ययन केन्द्र सिपीजेसमा आबद्ध छन् ।)

प्रकाशित मितिः २०७२ साउन ९ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: