राष्ट्रसंघीय दासत्वविरुद्ध स्वयंसेवकीय कोषमा डा रेणु
अझै डटेर लाग्ने प्रेरणा मिलेकाे छ
महिला खबर
काठमाडाैं, साउन ९ । संयुक्त राष्ट्रसंघले महिला अधिकारकर्मी तथा महिला पुनर्स्थापना केन्द्र (ओरेक) का संस्थापक तथा वर्तमान अध्यक्ष डा. रेणु अधिकारी राजभण्डारीलाई संयुक्त राष्ट्रसंघीय दासत्वविरुद्धको स्वयंसेवकीय कोषको कार्यसमीतिको सदस्यमा नियुक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिवको निर्णय अनुसार उहाँलाई सन् २०१५ जुलाईदेखि सन २०१६ डिसेम्बरसम्म पहिलो कार्यकालका लागि सो पदमा नियुक्त गरिएको हो ।
दासत्वका कारण जघन्य मानवअधिकारको हनन भएका व्यक्तिलाई मानवीय, कानूनी र आर्थिक सहयोग उपलब्ध गराउनका लागि स्वयंसेवकीय रुपमा प्राप्त योगदानलाई संस्थागत माध्यमबाट परिचालन गर्नका लागि संयुक्त राष्ट्रसंघीय महासभाको निर्णय नम्बर ४६/१२२ अनुसार सन १९९१ डिसेम्बर १६ का दिन यो कोषको स्थापना भएको हो ।
यो कोष सञ्चालनका लागि पाँच सदस्यीय कार्य समीतिले सल्लाह र सुझाव प्रदान गर्दछ । यो कार्यसमितिमा एक अध्यक्ष र चार सदस्य गरि कूल पाँच जना छन् । महिला अधिकारकर्मी डा. रेणु अधिकारी राजभण्डारीको मानवअधिकारप्रतिको निष्ठा र राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा निरन्तर योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघले उहाँलाई यो पदमा नियुक्त गरेको हो ।
यो नियुक्तिपछि प्रतिक्रिया दिंदै डा. रेणु अधिकारी राजभण्डारीले मानवअधिकार रक्षाका लागि आफूले नेपाल तथा अन्तर्राष्टिय क्षेत्रमा पुर्याउँदै आएको योगदानको संयुक्त राष्ट्रसंघबाट कदर भएकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रमा अझै डटेर लाग्न हौसला मिलेको बताउनुभयो । मस्कोबाट चिकित्सा विज्ञानमा स्नातक गर्नुभएकी डा. रेणु अधिकारी राजभण्डारीले करिब ११ वर्षको चिकित्सा पेशा छाडेर महिला तथा बालबालिका बेचविखनविरुद्धको काममा आफूलाई समर्पित गर्दै महिला अधिकारको क्षेत्रमा आफ्नो अभियान २०४७ सालदेखि शुरु गर्नुभएको हो ।
यसअघि उहाँले राष्ट्रिय मानवअधिकार आयोगमा रहेर वेचविखनविरुद्ध पहिलो प्रतिवेदकका रुपमा र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तर्गतको लैंगिक हिंसाविरुद्धको इकाइमा सल्लाहकारका रुपमा योगदान गर्नुभएको थियो ।
बलात्कारविरुद्धको राष्ट्रिय अभियानको नेतृत्व गरिरहनुभएकी डा. रेणु अधिकारी राजभण्डारी महिला पुनर्स्थापना केन्द्र र महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
प्रकाशित मितिः २०७२ साउन ९ गते शनिवार
Comment Here!