हलिया महिला रोग पाल्दै बस्दै


प्रकाशित मिति :2015-07-27 10:39:09

सरकारले ७ वर्ष अघि हलियामुक्त घोषणा गरेपनि अहिलेसम्म पनि हलियाहरू बाँच्न पाँउने अधिकारबाट समेत बञ्चित छन् ।  अझ हलिया महिलाहरू त उपचार गर्न नसकेर रोग पालेर बसिरहेका छन् ।

प्रकाश सिंह

Bisankal luwar

बाजुरा, साउन ११ । बाधु–९ पिपलडाडीकी ६१ वर्षीया घिरु लुवारको तल्लो पेट दुखेको १० वर्ष भयो । तीन घण्टाको दुरीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेकी घिरुलाई थप उपचारको लागि नेपालगञ्ज जान भनियो । तर आर्थिक अभावका कारण उनी जान सक्ने अवस्थामा छैनन् ।

नेपालगञ्ज जान २० हजार रुपैयाँ लाग्ने भएपछि रोग च्यापेर बसेकी घिरुलाई बिहान साँझको छाक टार्न मुश्किल छ । ७ बच्चाकी आमा उनी २० हजार रुपयाँ खर्च गर्ने कल्पना पनि गर्न सक्दिनन् । उनी र श्रीमान दुवैको मजदुरीको कमाइले साँझविहान हातमुख जोड्न मुश्किल पर्छ । यस्तो अवस्थामा रोग पालेर बस्नु बाहेक उनीसँग अर्को उपाय छैन । नजिकैको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पाईने दुखाई कम गर्ने औषधीको भरमा बाँचिरहेकी छन् उनी ।

घिरु जस्ता धेरै मुक्त हलिया परिवारका महिला उपचारको अभावमा रोगी शरीर लिएर जीवन गुजारा गरिरहेका छन् । बिस्नकला लुवारलाई डाक्टरले ‘पेटमा घाउ छ’ भनेको धेरै भइसक्यो । तर उपचार गर्न पैसा छैन । ‘खानलाई त मुश्किल परेको समयमा उपचार गर्ने पैसा कहाँबाट ल्याउनु ?’ बिस्नकलाका भन्छिन्, ‘खुट्टा टेक्ने आफ्नो जमिन नभएकाहरूले उपचार गर्न कहाँबाट पैसा पाउनु ? उपचार नपाएरै मरिने भईयो ।’

पाँच छोराछोरीकी आमा बिशु विक पनि तीन वर्षदेखी पाठेघर खस्ने समस्या झेल्दै आएकी छन् । बच्चा जन्माउने समयमा कडा परिश्रम गर्ने र पोषिलो खानेकुरा नभएकाले आफ्नो स्वास्थ्य कमजोर हुँदै आएको बिशुले वताईन् । लामो समयदेखी तल्लो पेट दुख्ने समस्या भोग्दै आएकी बिकले स्वास्थ्य चौकीमा पुगेपछि मात्र पाठेघर खसेको जानकारी पाएको बताइन् ।

बिहानदेखी साँझसम्म काम गर्दा पनि एक छाक जुटाउन मुस्किल हुने अवस्था भएकाले उपचार गर्नसक्ने स्थिति नरहेको बिकको भनाई छ । स्वास्थ्यकर्मीका भनाईमा, पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था हुन्छ । बाजुरामा पाठेघर खसेको उपचार हुन नसक्ने भएकाले थप उपचारको लागि नेपालगञ्ज जान भने पनि आर्थिक अभाबले उनीहरू जान सक्दैनन् ।

स्थानिय मुक्त हलिया जयमल लुवार भन्छिन्, ‘दिनभर काम गरेर बिहान साँझको छाक जुटाउन मुश्किल परेको समयमा उपचारको लागि अस्पताल जाने कुरा सपना जस्तो हुन्छ ।’ कडा परिश्रम, धेरै बच्चा जन्माउने, सुत्केरी भएको बेला आराम कम हुने भएकाले उनीहरूको स्वास्थ्य कमजोर हुनुका साथै बिभिन्न रोगको संक्रमणमा पर्दै आएका छन् । गाँउमा रहेका स्वास्थ्य चौकीमा सामान्य रोगको मात्र उपचार हुने भएकाले धेरै समस्या हुँदा धनगढी, नेपालगञ्ज र भारत जानुपर्ने बाध्यता छ । आर्थिक अवस्था कमजोर भएकाहरू त्यहाँ जान सक्दैनन् ।

जिल्ला हलिया मुक्ति समाजका कार्यक्रम संयोजक टिका बिकका अनुसार आर्थिक अभावका कारण धेरै महिला उपचारको अभावमा छट्पटाएर बस्नु पर्ने अवस्था छ ।  सरकारी तथा गैर सरकारी संस्थाले हलिया मुक्तिको लागि विभिन्न कार्यक्रम गरेका छौ भने पनि महिलाको स्वास्थ्य समस्यामा कसैको ध्यान नगएको बिकको भनाई छ ।

११ वर्षदेखि जिल्ला हलिया मुक्ति समाज, केयर नेपाल, पुस बाजुरा नामक गैर सरकारी संस्थाले हलियाका क्षेत्रमा काम गर्दै आएका छन् । जिल्ला विकास समितिले पनि हलियाका लागि भनेर काम गरेको दाबी गर्दै आएको छ । नागरिक समाजका शेरबहादुर शाही भन्छन्, ‘हलियाका नाममा करिब ४ करोड रुपैयाँ भन्दा बढी बजेट खर्चेको भनिन्छ । त्यो बजेर केही पहुँचवालका वरपर मात्रै घुमे जस्तो छ ।’

यता जिल्ला स्वास्थ्य कार्यालय बाजुराले स्वास्थ्यका क्षेत्रमा बर्षेनी १० देखि १२ करोड रुपैयाँ बजेट खर्च गरेको पाईन्छ । तर यी हलिया महिलाको समस्या बुझ्न र समाधान गर्नेबारे कसैले पहल गरेको छैन । त्यस्तै गरिब, आर्थिक अवस्था कमजोर भएका महिलालाई पाठेघर खस्ने समस्या भए सरकारले निःशुल्क उपचार र शल्यक्रिया  गरिदिन्छ भन्ने यी महिलालाई थाहा छैन । जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ अहेक दिपक शाहका अनुसार, ‘आफ्नो अधिकारको बारेमा पैरवी गर्न समेत नसक्ने भएकाले उनीहरूले यो समस्या झेल्नु परेको हो ।’

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी देउमा धामीका अनुसार सामान्य छाक टार्न धौ, धौ हुने महिलालाई पोषिलो खानेकुरा खानुस् भन्ने अवस्था छैन । उपचारमा आउने धेरै महिला पोषिलो खानाको अभाव, स्वास्थ्यको बारेमा अनभिज्ञता जस्ता समस्याले थप मारमा परेका छन् ।  महिलामा पाठेघर घस्ने तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायतका समस्याहरू देखापर्ने गरेका छन् ।

नेपाल सरकारले हलियामुक्त घोषणा गरेको ७ वर्ष भईसकेको छ । नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त हलिया घोषणा गरेको थियो । नेपाल सरकारको तर्फबाट तत्कालिन शान्ति तथा पुन निर्माण मन्त्री जर्नादन शर्मा र राष्ट्रिय हलिया मुक्त समाज बिच ५ बँुदे सम्झौता भई मुक्त हलिया घोषणा गरिएको थियो । कागजमा घोषणा भएको भएपनि उनीहरू सामान्य बाच्न पाँउने अधिकार बाट बञ्चित भएका छन् ।

सरकारले मुक्त घोषणा गरेपनि हलिया प्रथा उन्मुलन हुन सकेको छैन् । बाजुरामा अझै १७ सय भन्दा बढी हलिया रहेको जिल्ला हलिया समाज बाजुराले जनाएको छ । तर प्रमाणीकरण भने १३ सय ४५ मात्र रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सरकारले सम्झौता अनुसार साहुबाट लिएको ऋण मिनाहा, पुर्नस्थापनाको व्यवस्था, मुक्तिपछि आइपर्ने सुरक्षा व्यवस्थालगायतका कुरा भने अझै कार्यान्वयन नगरेको हलिया समाज बाजुराले जनाएको छ ।

प्रकाशित मिति :२०७२ साउन ११ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: