हिंसा पीडित महिलालाई भरणपोषणको आदेश


प्रकाशित मिति :2015-07-27 19:09:57

बाँकेकी हिंसा पीडित महिला पूजा मिश्रालाई उनका लोग्नेबाट मासिक चार हजार रुपैयाँ भरणपोषण खर्च भराउने बाँके जिल्ला अदालतको आदेश महिला हिंसाविरुद्ध अदालतले दिएको एउटा जनाउ हो ।

कृष्ण अधिकारी

मागे जति दाइजो ल्याउन नसकेको भन्दै आफ्नै श्रीमान र परिवारका सदस्यले पुजा मिश्रालाई शारीरिक र मानसिक यातना दिए । गरगहना, नगद फर्निचरलगायतका अन्य उपहारका सामग्री गरी करिब ७ लाख रुपैयाँ बराबरको दाइजो दिएर अभिभाककले पूजाको बिहे गरिदिएका थिए । त्यति दाइजोले श्रीमान र परिवारका सदस्यको चित्त बुझेन ।

बाँके बेलभारकी पूजा मिश्राको छिमेकी उदयपुर गाविसका अनिल मिश्रासँग तीनवर्ष अघि धार्मिक परम्परा अनुसार बिहे भएको थियो । बिहे भएको एक साता नबित्दै श्रीमान र परिवारका सदस्यले थप दाइजो ल्याउन पूजा लाई दबाब दिइ रहे । थप दाइजोका बारेमा पूजाले आफ्ना आमा बुवालाई बताइन् । बिहे गर्दा लागेको ऋण तिरी नसक्दै आएको थप दाइजोको माग तत्काल पुरा गर्न नसक्ने जवाफ माइतीबाट आयो । थप दाइजो नपाउने नभएपछि पूजामाथि श्रीमान र परिवारका सदस्यले दिने शारीरिक र मानसिक यातना झन बढ्यो ।

Adalat ko adesh @ pooza...

१७ वर्ष मै आमाबुवाको सहमतिमा विवाह गरेकी पूजाले आफ्नो वैवाहिक जीवन हिंसा सहेरै अगाडि बढाउन प्रयास गरिन् तर उनीमाथिको अत्याचारमा कुनै कमी आएन । उनले भनिन् ‘अर्काे बिहे गर्ने भन्दै परिवारका सदस्यले ममाथि झन अत्याचार गर्न थाले ।’

आफूमाथि भएको अत्याचारले सीमा नाघेपछि बाध्य भएर पूजा महिला तथा बालबालिका कार्यालय बाँकेको शरणमा पुगिन् । महिला तथा बालबालिका कार्यालयले दुवै पक्षबीच छलफल गराएर गत जेठ ८ गते मिलापत्र गराइदियो ।

महिला तथा बालबालिका कार्यालयमा उनका श्रीमान अनिलले कुटपीट नगर्ने सम्मानपुर्वक घरमा वस्ने वातावरण मिलाउने प्रतिवद्धता जनाए । तर, ‘घर पुगेपछि उनले आफ्ना सम्पुर्ण वचन विर्सेर ममाथिको कुटपीट र मानसिक यातनामा कुनै कमी आएन’ पूजा भन्छिन् ।

महिला बालबालिका कार्यालयले मिलापत्र गराइदिएको एकहप्ता मै उनले पुन जिल्ला प्रहरी कार्यालय बाँकेमा श्रीमानले आफूमाथि गरेको अन्यायको नालीबेली लगाइन् । प्रहरीले फेरी दुवैपक्षलाई बोलाएर छलफल गरायो र जेठ १९ गते मिलापत्र गराइदियो । यसपछि पनि श्रीमानको व्यवहार बीसको उन्नाइस भएन । छोरीमाथि भईरहेको अत्याचारले मिश्रा परिवार निक्कै तनावमा थियो ।

पूजाका माइती र घरका सदस्यबीच हात हालाहालको स्थिती भयो । पूजा का घरका सदस्यले पूजा, उनका भाई अनिल र आमा कृष्णावती मिश्रालाई कुटपीट गरे । घटना प्रहरीमा पुग्यो । प्रहरीले पूजाका श्रीमान अनिललाई कारबाही पनि ग¥यो ।
सो घटनापछि पूजा माइती मै बसिन् र न्यायका लागि जिल्ला अदालत बाँकेमा फिराद दर्ता गराइन् । फिराद दर्ता भएको २७ दिनमै जिल्ला अदालत बाँकेले मुद्दाको अन्तिम टुङो नलाग्दासम्मका लागि पीडकबाट पीडित पुजालाई भरणपोषण खर्च बापत मासिक ४ हजार भराईदिने आदेश दियो ।

जिल्ला अदालत बाँकेका मुख्य न्यायधिश हरिप्रताप केसीको एकल इजलासले मासिक रुपमा दिने उक्त रकम पीडकले अदालत मै बुझाउन आदेश दिएको हो ।

‘घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ को दफा ६ (१) बमोजिम निबेदन परेका मितिदेखि फिरादको अन्तिम टुङो नलागेसम्म भरण पोषणका लागि मासिक ४ हजार रुपैयाँ विपक्षीबाट निवेदिकालाई दिलाई दिनु । उक्त रकम विपक्षीबाट मासिकरुपमा यस अदालतमा दाखिल गर्नु भनी विपक्षीलाई जानकारी दिइ दाखिल भएको उक्त रकम पीडित निबेदकीकालाई भरपाई गराई बुझाई दिनु’ आदेशमा उल्लेख छ ।

घरेलु हिंसाका घटनामा बाँके जिल्ला अदालत भएको आदेश ऐतिहासिक र पीडितको पक्षमा भएको पूजाका कानुन व्यवसायी तथा पुनरावेदन बार एशोसियसन नेपालगञ्जका पुर्वअध्यक्ष अधिवक्ता लोक बहादुर शाहले प्रतिक्रिया दिए ।

अदालतको आदेशपछि पीडक अनिलले हरेक महिना ४ हजार रुपैयाँ जिल्ला अदालत बाँकेमा बुझाउनु पर्नेछ । मासिक ४ हजार रुपैयाँ अदालतमा नबुझाए अनिलका परिवारले अदालतको आदेशको अपहेलना गरेको अर्काे मुद्दाको समाना गर्नु पर्नेछ । अदालतको आदेशको पालना नगर्नेलाई अदालतले २ देखि १५ हजार रुपैयाँ जरिवाना वा ४ महिना कैद वा दुबै सजायँ गर्न सक्ने कानुनी व्यवस्था छ ।

अदालतको यो आदेशले घरेलु हिंसा पीडित महिलाकाको न्यायका लागि एउटा नजिर स्थापित गरेको छ ।

महिला तथा बालबालिका कार्यालय बाँकेको सहयोगमा मधेशी समुदायकी पूजाले आफूमाथिको अत्याचारको विरोध गर्र्दै सुरु गरेको कानुनी लडाईंमा केही सफलता पाएकी छन् ।

अदालतको आदेशले उत्साहित पूजा र उनकी आमा कृष्णावती कानुन बमोजिम कारबाही गराएरै छाड्ने बताए । कृष्णावती गाउँमा संचालित बालबिकाश कक्षाकी शिक्षिका हुन ।

८ कक्षामा पढ्दै गर्दा १७ वर्षको उमेरमै बिहे भएपनि पूजा माइती मै बसेर पढिरहेकी थिइन् । कक्षा ११ मा अध्ययनरत पूजा गतवर्ष मात्रै श्रीमानको घर गएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको महिला तथा बालबालिका सेलमा आर्थिक वर्ष २०७१÷०७२ मा घरेलु हिंसाका ३ सय ३१ वटा उजुरी परेका थिए । ती मध्ये १ सय ७० वटा घटनामा मिलापत्र गराइएको थियो भने २८ वटा उजुरी जिल्ला अदालत बाँके पठाइएको थियो ।

श्रीमानविरुद्ध मुद्दा लडेर अदालतबाट न्याय पाउने ग्रामीण क्षेत्रका अनपढ र विपन्न वर्गका महिलाका लागि त्यति सहज नभएको महिला तथा बालबालिका कार्यालय बाकेकी फोकल पर्सन बिन्दु कुवँर बताउँछिन् ।

प्रकाशित मितिः २०७२ साउन ११ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: