महिला खबर
संयुक्त राष्ट्रसंघले महिला अधिकारकर्मी डा. रेणु अधिकारी राजभण्डारीलाई संयुक्त राष्ट्रसंघीय दासत्वविरुद्धको स्वयंसेवकीय कोषको कार्यसमीतिको सदस्यमा नियुक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिवको निर्णय अनुसार उहाँलाई सन् २०१५ जुलाईदेखि सन २०१६ डिसेम्बरसम्म पहिलो कार्यकालका लागि सो पदमा नियुक्त गरिएको हो ।
दासत्वका कारण जघन्य मानवअधिकारको हनन भएका व्यक्तिलाई मानवीय, कानूनी र आर्थिक सहयोग उपलब्ध गराउनका लागि स्वयंसेवकीय रुपमा प्राप्त योगदानलाई संस्थागत माध्यमबाट परिचालन गर्नका लागि कोषको स्थापना भएको हो । यो नियुक्तिका बारेमा महिलाखबर डटकमले उहासँग गरेको कुराकानी।
यो कस्तो किसिमको निकाय हो ?
यो एउटा संयुक्त राष्ट्र संघको ट्रस्ट फण्ड जस्तो हो, जसमा पाँच जना बोर्ड सदस्य हुन्छन्। चारजना सदस्य चारवटा विभिन्न महादेशबाट छनोट गरिएका हुन्छन् भने एक जना अध्यक्ष हुन्छ। त्यस ट्रस्टका बोर्र्ड सदस्यहरूले सबै मिलेर कोष खडा गर्नुपर्ने हुन्छ। विभिन्न देशहरूलाई दासताविरुद्ध काम गर्न क्रियाशील बनाउँदै कोष खडा गर्छौ, बिभिन्न देशमा भइरहेको दासताका मुद्दाहरूबारे सरकारलाई सचेत गर्ने, अनुसन्धान गर्ने, आएका परिणामहरूलाई संयुक्त राष्ट्र संघमा पठाउनेलगायतका क्रियाकलापमा जुट्ने गर्छ, त्यसैलेे यसलाई दासताविरुद्ध काम गर्ने निकायको रुपमा लिन सकिन्छ ।
तपाईसँगै अरु कुनकुन देशबाट यो निकायमा नियुक्त हुनुभयो ?
मलाई राम्ररी यो विषयमा थाहा छैन, मलाई अनायासै संयुक्त राष्ट्र संघको मानवअधिकार उच्च आयुक्त कार्यालयबाट एकदिन तपाईको सि.भी पठाउनुस न भनेर फोन आयो र मैले सी.भी पठाएँ । सी.भी पठाएको दुई महिनापछि अर्न्तवार्ता दिनुपर्ने भयो। दुईघन्टासम्म स्काईपमार्फत अर्न्तवार्ता पनि दिएँ। त्यसपछि ६ दिनअघिमात्र तपाईलाई जुलाई १३ बाट लागु हुने गरी संयुक्त राष्ट्रसंघीय दासत्वविरुद्धको स्वयंसेवकीय कोषको कार्यसमीतिको सदस्यको रुपमा नियुक्त गरियो भनी मानवअधिकार उच्चआयुक्तको हस्ताक्षर सहितको नियुक्तिपत्र हातमा पर्दा म छक्क परेँ । त्यसैले नोवेम्बेरको २० देखि २७ तारिकसम्म हुने परिचय कार्यक्रमपछि मात्र मलाई यो बिषयमा बिस्तृत रुपमा थाहा हुन्छ।
तपाईको नियुक्तिले अाम नेपाली महिलालाई के फरक पार्छ ?
मैले अहिले जुन काम गरिरहेकी छु यही नै हो। मैले चेलीबेटी बेचबिखनविरुद्धको क्षेत्रबाट कामको सुरूवात गरेँ । म गर्ने महिलाको अधिकारका निमित्त काम गर्न महिलाका निम्ति महिला मञ्च पनि बनाएँ ,अहिले बैदेशिक रोजगारीमा गएका महिलाका सवाल उठाईरहेकी छु। हामी नेपाली महिला जुन खालका दासतापूर्ण जिवन बिताउन बाध्य छौँ ,ती मुद्दाहरूलाई संयुक्त राष्ट्र संघमा लैजाने छु।
तपाईभन्दा अघि कुनै महिला संयुक्त राष्ट्र संघको यो निकायमा थिए की थिएनन् ?
संयुक्त राष्ट्र संघमा थुप्रै नेपाली महिलाको संलग्नता छ । तर, दासताविरुद्धको यो समितिभित्र नेपालबाट पहिलो पटक छनोट म भएकी हुँ।
तपाईं एउटा विश्वव्यापी सञ्जाल रहेको ठूलो निकायमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ। अव तपाईका योजनाहरू के के छन् ?
मैल जुन काम गरिरहेकी छु, त्यही काम गर्नेछु् र कामनै मेरो बल हो, कामनै मेरो पूजा। मेरो यहि कामको मुल्याङ्कन गरेर ठूलो जिम्मेवारी पाएकी छु। तर, मेरो स्थान र काममा केहि पनि परिवर्तन हुने छैन। हिजो एक अधिकारकर्मीको रुपमा आवाज उठाउँथें, आज त्यही समिति भित्र छु्। तर, मेरो मुद्दा दासताविरुद्धको आन्दोलनसँग नै सम्बन्धित छ। जेनेभामा नोभेेम्बर २० देखि २७ तारिखसम्म हुने कार्यक्रमपछिमात्र बिस्तृत योजनाको बारेमा तपाइलाई भन्न सक्छु ।
प्रस्तुतीः कविता श्रेष्ठ
प्रकाशित मितिः २०७२ साउन १२ गते मङ्गलवार
Comment Here!