जमुनावर्षा शर्मा
लेखनाथ,साउन १२ । बेगनास तालमा बाँध बाधेपछि पानीको गहिराई बढ्यो । पानीको गहिराई बढेसँगै तालको आकर्षणका रुपमा रहेको कमल फूल लोप हुँदै गयो ।
फूल मासिन थालेपछि तालको सौन्दर्य हराउन थाल्यो । तालको सौन्दर्यका रुपमा रहेको कमलफूल संरक्षणका लागि स्थानीय महिला अगाडि सरे । महिलाले फुललाई ताल छेऊको पुरानो खुदी खोलामा रोप्न थाले । कमलफूलको संरक्षणका लागि अगाडि सरेका महिला अहिले यसैबाट आयआर्जन गरिरहेका छन् । महिलाले समूहमा खुदी खोलाको २ रोपनी जग्गामा कमलफूलको व्यावसायिक खेती नै गरेका छन् ।
कमलको फूल सुन्दरता र धार्मिक हिसावले मात्र हैन आर्युर्वेदिक औषधीका लागि समेत उपयोगी हुने भएकाले यसबाट आय आर्जन गर्न थालिएको हो ।
कमल फूलको गेडालाई जण्डिसको औषधीका रुपमा प्रयोग गर्नेहरू बढ्दै गएपछि आम्दानीको श्रोत बन्न थालेको बेगनास महिला समूहकी अध्यक्ष सुनिता भट्टराई बताउनुहुन्छ । कमल फूल साउन महिलाबाट फुल्ने गर्दछ । एउटा फुललाई ५ देखि १० रुपैयाँमा बेच्ने गरेको समूहकी सचिव शारदा अधिकारी जानकारी दिनुभयो ।
समूहका महिलाले कमल फूलको खेतीबाट भएको आम्दानीले आफ्नै भवन निर्माण गरेका छन् । सोही भवनबाट मासिक ६ हजार रुपैयाँ भाडा आउने सचिव अधिकारीले बताउनुभयो । ८३ जना सदस्य रहेको वेगनास महिला समूह विभिन्न सिपमुलक तालिम, मेला महोत्सव र नगर सरसफाइमा समेत क्रियाशील रहेको छ ।
कमल फूल बचाउँने र आय आर्जन गर्ने महिलाको योगदान प्रसंशनीय रहेको लेखनाथ नगरपालिकाका कानुन अधिकृत राममणी अधिकारी बताउनुहुन्छ । समूहमा आबद्ध महिला ०६० सालदेखि कमल फूलको संरक्षण गर्दै व्यावसायिक खेतीमा जुटेका हुन् ।
प्रकाशित मितिः २०७२ साउन १२ गते मंगलवार
Comment Here!