महिला खबर
काठमाडौं,साउन १३ । मुगु जिल्लामा आधारभूत स्वास्थ्य सेवाको पहुँच बढाइ आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) ले नमुना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मुगुमा जिल्लास्तरमा एउटा अस्पताल, पाँचवटा स्वास्थ्य चौकी, दुईवटा उपस्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गर्ने र भएकाको स्तरीकरण गर्ने लक्ष्यका साथ मातृ तथा बाल स्वास्थ्यमा सुधार र परिवार नियोजनसम्बन्धी परियोजना सञ्चालन गर्न लागिएको कोइकाले जनाएको छ।
कार्यक्रम सुरु गर्नु अघि मुगु जिल्लाको मातृ तथा बाल स्वास्थ्यसम्बन्धी एकीकृत जिल्ला पहिचानसम्बन्धी अध्ययन गरी त्यसका आधारमा रणनीति बनाईएको आज काठमाडौंमा अायोजित कार्यक्रममा जानकारी दिइएको थियो।
सन् २०१८ सम्म स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माण, त्यहाँ संलग्न स्वास्थ्यकर्मीको क्षमता विकास र आवश्यक उपकरणहरूको व्यवस्था गरिने परियोजना प्रबन्धक ह्यङ युनले जानकारी दिनुभयो।
उहाँका अनुसार मुगुमा मातृ तथा बाल स्वास्थ्यको अवस्था निकै कमजोर रहेकाले नमुनाको रुपमा ६ वटा गाविसमा कार्यक्रम गरिने छ।
कार्यक्रममा सहभागीले जिल्लास्थित सरकारी निकायसँगको समन्वयमा कार्यक्रम गर्नुपर्ने, दोहोरोपन आउन दिन नहुने र जनतालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गर्नुपर्ने सुझाव दिएका थिए।
प्रकाशित मितिः २०७२ साउन १३ गते बुधवार
Comment Here!