बेचबिखनविरुद्धको मुद्दा राजनीतिक बनेन
बालिका र किशाेरी धेरै जाेखिममा
महिला खबर
ललितपुर, साउन १४। आज दोस्रो मानव बेचबिखनविरुद्धको विश्व दिवस। सन् २०१३ डिसेम्बरमा संयुक्त राष्ट्रसंघकोसाधारण सभाले ३० जुलाईलाई मानव बेचबिखनविरुद्धको विश्व दिवसको रुपमा मनाउने घोषणा गरेको हो।
युनाईटेड नेसन्स अफिस अन ड्रग्स एण्ड क्राइम (यु.एन.आे.डि.सि) को एक तथ्यांकले विश्वमा करिब ७९ प्रतिशत बेचबिखन यौन शोषणको प्रयोजनका लागि हुनेगरेको देखाएको छ।
नेपालबाट पनि वर्षेनी ८ देखि १२ हजारको संख्यामा मानव बेचबिखनमा पर्ने गरेको विश्व श्रम संगठन (आईएलओ) को सन् २००२ को तथ्यांकले देखाएको छ। नेपालबाट वर्षेनी हजारौंको संख्यामा किशोरीहरू यौन शोषणको प्रयोजनका लागि सञ्चालित भारतका कोठीमा बेचबिखनमा पर्नेगरेको दिवशका अवसरमा शक्ति समूहले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
प्रहरीमा दर्ता हुने मानवबेचविखनका १० उजुरी मध्ये ९ जना महिला र त्यसमा पनि एक तिहाईभन्दा बढी बालिका हुनेगरेको समूहले जनाएको छ। मानव बेचबिखनबाट प्रभावितको सुरक्षित स्वदेश फिर्ती सम्बन्धी प्रोटोकलको अभाव, बेचबिखनका नयाँ आयामहरू थपिँदै जानु, बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक प्रकोप, असमान विकास, उपयुक्त रोजगारीको अवसरको अभाव, व्यवहारिक शिक्षा नहुनुले अहिलेपनि मानव बेचबिखन विश्वकै दोश्रो ठुलो अन्तर्राष्ट्रिय अपराधको रुपमा बढिरहेको विज्ञप्तिमा उल्लेख छ।
वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछि मानव बेचबिखनको जोखिमलाई मध्यनजर गर्दै २१ वटा प्रभावित जिल्लामा मानव बेचविखनविरुद्ध जनचेतनामुलक कार्यक्रमह सञ्चालन गरेको समूहले जनाएको छ।
शक्ति समूहले अब बन्ने संविधानमा बेचबिखनविरुद्धको मुद्दालाई राजनैतिक मुद्दाको रुपमा उठान गर्नुपर्ने, प्रभावितको न्यायका लागि पीडकबाट नभई राज्यले क्षतिपुर्तिको व्यवस्था गरी पीडकबाट असुल्ने दायित्व राज्यको नै हुने व्यवस्था नयाँ संविधानमा राख्न र नागरिकतामा प्रभावितको लागि विशेष व्यवस्था गर्न माग गरेको छ।
प्रकाशित मितिः २०७२ साउन १४ गते बिहीवार
Comment Here!