महिला खबर
काठमाडौं, साउन १५ । सरकारले राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धकमा नायब महाप्रबन्धक निर्मला आचार्यलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले उहाँलाई रासस महाप्रबन्धकमा नियुक्त गरेको हो । राष्ट्रिय समाचार समिति स्थापनाको ५४ वर्षको अवधीमा आचार्य पहिलो पटक महिला महाप्रबन्धक हुनुभएको हो ।
त्रिभुवन विश्व विद्यालयबाट इतिहासमा स्नातकोत्तर गर्नुभएकी आचार्यले राससमा समाचारदाताका रुपमा २०५० सालबाट काम सुरु गर्नुभएको थियो । उहाँले छ वर्ष प्रमुख समाचारदाताका रुपमा समाचार सङ्कलन महाशाखाको नेतृत्व गरिसक्नुभएको छ । उहाँले २०४६ सालमा ‘विमर्श साप्ताहिक’बाट पत्रकारिता थाल्नुभएको थियो ।
नेसनल युनियन अफ जर्नालिस्टको महिला विभाग अध्यक्ष, थर्ड वर्ल्ड मिडिया नेटवर्क नेपाल शाखाका महासचिव, क्रियाशील पत्रकार महिलाका सदस्य, एसियाली पत्रकार सङ्घ नेपालका सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य तथा नेपाल प्रेस युनियन रासस शाखा सदस्यका रुपमा उहाँले काम गरिसक्नुभएको छ ।
प्रकाशित मितिः २०७२ साउन १५ गते शुक्रवार
Comment Here!