महिला खबर
पोखरा, साउन १९। ‘हाम्रो साहारा आत्मनिर्भरको बाटो भत्काइयो, अब हामी कहाँ जाने? खै हामीलाई विकल्प ? दृष्टिविहिन फुलकुमारी लिम्बुले रुँदै भनिन्। पाँच वर्षदेखि पोखराको सृजनाचोकमा रहेको महिला सीप विकास संस्थामा लिम्बुले काम गर्दै आएकी थिइन्। ‘आत्मनिर्भर भएका कारण दृष्टीविहीन भएँ भनेर पछुताउनु परेको थिएन, अब काम गर्ने ठाउँनै नभएपछि विचल्लीमा परियो’ उनले विलौना गरिन्।
जिल्ला विकास समिति कास्कीले सृजनाचोकमा रहेको महिला सीप विकास संस्थाले जग्गा अतिक्रमण गरी संचालन गरेको भन्दै भत्काउन थालेपछि फुलकुमारी जस्तै त्यहाँ कार्यरत महिलाले रोजीरोटी खोसिएको भन्दै पत्रकार सम्मेलन गरेर चिन्ता व्यक्त गरेका हुन्।
अनधिकृत रुपमा जग्गा अतिक्रमण गरि संस्थाले उपभोग गरेको भन्दै जिविसले भवन भत्काएको हो। सो जग्गा २०६९ मंसिर २६ गते जिविसको नाममा दर्ता गरिएको थियो। जिल्ला विकास समितिले गैरकानूनी तवरले जग्गा अतिक्रमण गरेको भन्दै महिला सीप विकास संस्थालाई जग्गा खाली गर्न पत्र काटेको थियो।
४० वर्षदेखि सञ्चालित सो संस्थामा १५ जना दृष्टिविहिनसहित झण्डै ६ सय जना कार्यरत संस्थामा अहिले भवन भत्काउन सुरु गरेपछि त्यहाँ कार्यरत महिलालाई रोजीरोटीको समस्याले पिरोल्न थालेको हो। संस्थामा कार्यरत महिलाले अर्को विकल्प नहुँदासम्म १ वर्षको समय माग गरेर भवन नभत्काउन माग गरेपनि जिविसले वेवास्ता गरेको उनीहरूको गुनासो छ।
‘हामीले सीप सिकेर आफूमात्रै आत्मनिर्भर भएका छैनौं परिवार र समाजमा रहेका अन्य गरिव असहाय महिलालाई सीप पनि सिकाउँदै आएका छौं’ संस्थाबाट सीप सिकेर लामो समयदेखि गुजारा चलाउँदै आएकी सीता थापाले भनिन्। ‘संस्थालाई अहिले अर्को ठाउँमा सार्नकालागि लाग्ने समय दिएर महिलाको रोजीरोटी जोगाउन जिविसले सहयोग गरोस् भन्ने हाम्रो चाहाना थियो तर गरेन। हामी यहाँबाट उठेर कहाँ जाने? खै विकल्प?’ उनले भनिन्।
‘हामी प्रक्रियाबाट जान चाहान्छौ तर केही समय दिनुपर्यो भन्ने हाम्रो मागलाई सुनिएन’ संस्थाकी कार्यकारी निर्देशक रामकली खड्काले भन्छिन्। अशिक्षित, अपाङ्ग, एकल महिलालगायत आर्थिक स्थिति कमजोर भएका महिलाले संस्थामा रोजगार पाएका थिए। तर जिविसले विकल्प सोच्न पनि दिएन। निर्देशक खड्काले यस विषयमा पुर्नविचार गरिदिन आग्रह गरेकी छन् । ४० वर्षयता सो संस्थाबाट ११ हजार ५ सय जना महिलाले विभिन्न सीप सिकेका छन्।
प्रकाशित मितिः २०७२ साउन १९ मङगलवार
Comment Here!