रमला सिंगक
सुनसरी(धरान), साउन १९। आमा र शिशुले समाजमा ६० प्रतिशत रोगव्याधिको भार थेग्ने गरेको विशेषज्ञ चिकित्सकहरूले बताउँदै आएका छन्। सवैभन्दा बढी रोग व्याधिको समस्या आमा र शिशु नै हुने गरेको छ । यहि समस्यालाई मध्येनजर गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चारसय शै्यया क्षमताको मातृ शिशु स्वास्थ्य सेवा केन्द्रको अत्याधुनिक भवन निर्माण गर्न लागिएको छ।
भवनको शिलान्यास प्रधानमन्त्री शुशिल कोइरालाले सोमवार गर्नु भएको हो। बच्चाका लागि काठमाडौंमा कान्ति बाल अस्पताल र आमाका लागि प्रसूति गृह छुट्टा छुट्टै अस्पताल छन्। तर आमासँगै बच्चाको एकसाथ उपचार हुने गरी दक्षिण एसियामै पहिलो मातृ शिशु स्वास्थ्य सेवा केन्द्र संचालनका लागि भवन बनाउन गर्न लागिएको हो। शिलान्यासपछि प्रधानमन्त्री कोईरालाले आमा र बच्चाको स्वास्थ्य उपचार केन्द्र निर्माण गर्न सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो।
चारसय शैय्याको मातृ शिशु स्वास्थ्य सेवा केन्द्रका लागि उपकरण सहित करिव १ अर्व रुपैयाँ लागत अनुमान गरिएको र त्यसमा सरकारले पहिलो चरणमा २० करोड रुपैयाँ उपलव्ध गराएको उपकुलपति बलभद्र दासले जानकारी दिनुभयो।आगामी तीन वर्ष भित्रमा भवन बनाउने काम सम्पन्न गरेपछि पुर्वाञ्चल र मध्यमान्चलका आमा र शिशु उपचार सुरु गर्ने दासले बताउनुभयो।
प्रतिष्ठानमा बालबालिकाका लागि बाल रोग विभाग र आमाका लागि स्त्री तथा प्रसूति विभाग छन्। तर, क्षमता भन्दा बढी विरामीको चाप बढेकाले आमा र बच्चाका लागि थप चार सय शैय्याको छुट्टै अस्पताल निर्माण गर्न लागिएको उपकुलपति दासले बताउनुभयो।
प्रकाशित मितिः २०७२ साउन १९ गते मङ्गलवार
Comment Here!