बोक्सीको आरोपमा ४२ जनामाथि यातना


यातना पाउनेमा ३५ महिला र ७ जना पुरुष

प्रकाशित मिति :2015-08-04 13:10:12

महिला खबर 

काठमाडौं, साउन १९ ।  कुरीती अन्त्य समाजले विभिन्न सञ्चार माध्यममा आएका बोक्सीलगायत विभिन्न प्रथाका नाममा २०७१ साल भरी भएका हिंसाका घटनालाई समटेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । विभिन्न सञ्चार माध्यममा आएका समाचार विष्लेषण गरी उक्त प्रतिवेदन तयार पारिएको हो ।

धर्म, संस्कृतीका नाममा मान्छेमाथि हुने घटनाहरूलाई न्यूनिकरण गर्न र हरेक मान्छेलाई आत्मसम्मानका साथ बाँच्न पाउने वातावरणको सृजना गर्ने प्रयास स्वरुप प्रतिवेदन सार्वजनिक गरेको समाजले जनाएको छ ।
समाजले सार्वजनिक गरेको प्रतिवेदनमा २०७१ सालमा काठमाडौं फर्पिङको सेतीदेवी बस्ने २२ वर्षका राजेन्द्र मगरले ५२ वर्षीया आफ्नै ठूली आमा मैना मगरलाई बोक्सीको आरोपमा दाउराले टाउकोमा हिर्काएर हत्या गरेको उल्लेख छ ।

त्यस्तै देशभर ४२ जनाले बोक्सीको आरोपमा यातना पाएको र बोक्सीको आरोपमा यातना पाउनेमा ३५ जना महिला र ७ जना पुरुष रहेको प्रतिवेदनमा उल्लेख छ । बोक्सीको आरोपमा यातना पाउने १७ जनाले कानुनी उपचार खोजेपनि २५ जना कानुनी कार्वाहीको प्रक्रियामा अगाडी नबढेको प्रतिवेदनमा जनाइएको छ ।  गएको वर्ष बोक्सीको आरोपमा मानव/पशु मलमूत्र खुवाउने, निवस्त्र पार्ने, कपाल मुण्डन गर्ने, कालोमोसो दलेर गाउँ घुमाउने, कुटपिट गर्नेलगायतका दुव्र्यवहार भए ।

बोक्सी आरोप

प्रतिवेदनका अनुसार पाल्पामा आफ्नै छिमेकी गंगा बहादुर दर्जी र उनकी श्रीमती विमला दर्जीले ६९ वर्षीया बृद्धालाई बोक्सी भन्दै कुटपिट गरेर निर्वस्त्र पारी नाच्न लगाई भिडियो खिचियो । त्यस्तै बोक्सोको आरोपमा छोरा बुहारीबाट बुबा (ससुरा), श्रीमान र परिवारबाट श्रीमती, भाञ्जीद्वारा माईजुलाई मलमुत्र, सीसा खुवाईयो ।

सिराहकी चन्दनदेवी साहलाई गाउँ निकाला गरियो । नुवाकोटकी आशादेवी नेपालीलाई परिवारले कुटपिट गरी घर निकाला गरे । सप्तरीमा एक महिलालाई बोक्सीको आरोप लगाई गाउँलेबाट परिवारै कुटिएको प्रतिवेदनमा उल्लेख छ ।

बोक्सीको आरोपमा प्रायः गरिव, वेसहारा, एकल महिलाले मात्रै यातना पाएनन् । बाँकेकी चन्द्राकुमारी विक स्नातक पढेकी र श्रीमानसँगै बस्ने भएपनि गाउँलेले उनलाई बोक्सीको आरोपमा कुटपिट गरी गाली बेईज्जती गरको समाजले जानएको छ ।

कैलालीकी ६२ वर्षीया राजकुमारी रानाको परिवार बोक्सीको आरोपमा मलमूत्र खुवाई निवस्त्र पारेर योनीमा लठ्ठी घोची यातना दिने छिमेकीविरुद्ध कानुनी लडाई लडेकै कारण सामाजिक बहिष्कार मै छ । गाउँको घटना गाउँमा नमिलाई सार्वजनिक गरेको भन्दै उनको परिवारलाई गाउँलेले हरेक काममा बहिष्कार गर्दै आईरहेको समाजले जनाएको छ ।

प्रतिवेदनमा भनिएको छ, –‘बोक्सीको आरोप लगाउनेलाई कानुनी कार्वाही भयो की भएन ? बोक्सी हुन्छ भन्ने कुरामा विश्वास गर्नु अन्धविश्वास हो । भन्ने कुरामा खोज अनुसन्धान गरिएका, तर्क र तथ्यपूर्ण सामग्रीहरू भने पत्रपत्रिकामा आउन सकेका छैनन् ।’

दाईजोको निहुँ

त्यस्तै ०७१ सालमा दाईजोसँग सम्बन्धित ९ वटा घटना सञ्चार माध्यममा आए । दाईजोको निहुँमा एक जनालाई आगो लगाएर र एक जनालाई कुटेर हत्या गरिएको समाजले जनाएको छ । यसैगरि दाइजोका कारण पाँचजनाले घर छोड्नु परेको, एक जनालाई एक महिनादेखि छिमेकीको घरमा बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको कुरा प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै एक महिलालाई औषधी सेवन गराएर श्रीमान र देबरले पालैपालो बलात्कार गरेको र एक जना सरकारी कर्मचारीले श्रीमतीको माईतीबाट चारपांग्रे सवारी साधन र बिराटनगरमा घडेरी दाईजो नदिने भएपछि विवाह नै रद्ध गरेको घटना सञ्चार माध्यम आए । दाईजोको निहुँमा यातना पाएका ३ जना प्रहरी समक्ष पुगे भने बाँकी ६ जना कानुनी उपचारको प्रकृयामै नगएको प्रतिवेदनले जनाएको छ ।

विवाहको दिनदेखिनै माईतीबाट दाईजो कम ल्याएको निहुँमा सबै महिलाले श्रीमान र श्रीमानको परिवारका सदस्यहरूबाट यातना पाएको प्रतिवेदनमा उल्लेख छ ।

अन्तरजातीय विवाह

२०७१ सालमा अन्तरजातीय विवाह सम्बन्धी १४ घटना सार्वजनिक भए । अन्तरजातीय विवाह गरेका ९ जोडी सामाजिक वहिष्कारमा परे । आफूले मन पराएपछि कथित गैरदलित युवतीसँग विवाह गरेका ७ जना युवक, दलित युवतीसँग विवाह गरेका १ गैरदलित युवक गरी ८ जना युवक र ८ जना युवती सामाजिक वहिष्कारमा परेका हुन् ।

गैरदलित युवतीसँग विवाह गरेका दलित युवकलाई उनीहरूका परिवारले स्विकार गरेपनि गाउँलेले घरमा बस्न नदिने निर्णय गर्दा ८ जोडीले घर छोडेर अन्यत्र आश्रय लिईरहेका छन् । दलित युवतीसँग विवाह गरेका विराटनगरका २२ वर्षीय अभिषेक आचार्यलाई उनकी आफ्नै आमाले सार्वजनिक मुद्दा दर्ता गरेर हिरासतमा राखिन् ।

छोराले दलित युवतीसँग विवाह गरेको भनेर उजुरी दिँदा प्रहरीले त्यो मुद्दा दर्ता नगरेपछि उनले आफूलाई छोराले हातपात गरेको आरोप लगाएर मुद्दा दर्ता गरेकी थिइन् । चितवनमा दलित युवकसँग विवाह गरेको आरोपमा संगिता तामाङ् माईती पक्षबाट कुटिएपछि उनले महिला अधिकारकर्मीको सहयोगमा प्रहरीमा उजुरी दिइन् ।

छुवाछुत

०७१ सालमा जातीय छुवाछुत सम्बन्धी १४ वटा घटना सार्वजनिक भए । समाजमा दलितलाई गरिने दुव्र्यवहार र उनीहरूलाई समाजमा मानिसको दर्जामा नगनिने र विभिन्न किसिमका सेवाबाट समेत बन्चित हुनुपरेका घटना विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यममा आएको समाजले जनाएको छ ।

२०७१ साल मंसिर ४ गते धादिङ्की सन्तोषी विश्वकर्माले कामका लागि आवेदन दर्ता गर्न जाँदा राष्ट्रिय वाणिज्य वैंकका म्यानेजर शंकरप्रशाद पौडेलले ‘तिमी दलित रहेछौ । हामीकहाँ कार्यालय सहयोगीले चिया खाजा पनि पकाउनु पर्ने हुन्छ । मैले दलितले छोएको खाने गरेको छैन्’ भनि आवेदन अस्विकार गरेको घटना समेत सञ्चार माध्यममा आएको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक धारामा पानी लिन गएकी अनारी हरिजनलाई ०७१ असारमा धारा छोएको भन्दै छिमेकीले तल्लोस्तरको अपशब्द प्रयोग गरी गाली गलौज गर्नुका साथै कुटपिट समेत गरे । ०७१ साल साउन २१ गते खोटाङ्मा राजन दाहाललगायत ४ जनाको समूहले गाउँको एक विवाह भोजमा क्षेत्री बाहुनका लागि बनाईएको छुट्टै भान्छा छोएको आरोपमा पूर्ण बहादुर श्रेष्ठलाई धारिलो हतियार प्रहार गरे । श्रेष्ठ त्यहाँबाट भाग्न सफल भएकाकारण उनको ज्यान जोगियो ।

कुरीती अन्त्य समाजका अनुसार छुवाछुत सम्बन्धी घटनामा दलित पुरुषको दाँजोमा महिला दलित बढी पिडा खेप्न बाध्य देखिन्छन् । भौतिक विकासका दृष्टिले सम्पन्न राजधानी काठमाडौंमा समेत एउटा मान्छेले जातकैकारण अरुको हेलोहोचो खेप्नु परिरहेको अवस्था विद्यमान छ । कथित दलित जाती भएकाकारण सहजै डेरा नपाएका समाचार सञ्चार माध्यमहरुमा आएका छन् ।

२०७१ मंसिर २२ गते ईलामकी खेममाया सिवालाई दलित भएकाकारण घर मालिकले घरबाट निकाले । पत्रपत्रिकामा आएका समाचार हेर्दा जिल्लागत रुपमा सबैभन्दा बढी राजधानी काठमाडौंलगायत वरिपरीका जिल्लामा जातीय छुवाछुतका घटना भएको समाजले जनाएको छ ।

छाउपडी

मूलधारका पत्रिकामा एक वर्षको अवधीमा छाउपडी प्रथासँग सम्बन्धित २ वटा समाचारमात्र प्रकाशित भए । महिनावारी हुन सुरु भएका कालिकोटका किशोरीहरू महिनावारीको समयमा गोठमा नसुतेर घरमै सुत्न थालेको र जिल्लामा छाउपडी प्रथा निरुत्साहित गर्न थुपै्र संघ संस्थाले काम गरिरहेका भएपनि गाउँभरी छाउ गोठ यथावत भन्ने खोजमूलक समाचार कान्तिपुरमा प्रकाशित भएको समाजको प्रतिवेदनमा उल्लेख छ ।
यस बाहेक अहिलेको समयमा पनि महिनावारी हुनुलाई प्राकृतिक नियम नबुझेर देउता रिसाउने बहानामा महिलालाई गोठमा राख्ने सामाजिक कुरीतिले समाज विकास र महिलाको आत्मसम्मान तथा गतिशिलतामा पारेको असरका बारेमा खोजमूलक समाचारहरू प्रकाशित भएका छैनन् ।

मुक्त कमलरी 

२०७१ सालमा मुक्त कमलरीसँग सम्बन्धित ९ वटा समाचार प्रकाशित भएका छन् । उनीहरूले सरकारले दिँदै आएको छात्रबृत्ति बढाउन माग गरेका छन् ।

प्रकाशित मितिः २०७२ साउन १९ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: