प्रभावितलाई सामाजिक पुनर्मिलन गराउनु अत्यन्तै जटिल : चरिमाया
बेचबिखन न्यूनिकरणका लागि पुनस्थापना
महिला खबर
काठमाडौँ, साउन १९ । अनुसन्धानकर्ता रत्नकाजी बज्राचार्यले मानव बेचबिखन न्यूनिकरणका लागि प्रभावितलाई पुनःस्थापना र पुर्नसशाक्तिकरणमा जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले पीडकलाई सजाय र प्रभावितलाई सीपमूलक तालिम र संरक्षण आवश्यक रहेकोमा जोड दिनुभयोे ।
महिला पुनःस्थापना केन्द्र र शक्ति समूहको आयोजनामा काठमाडौंमा भएको पुनर्मिलनका लागि गरिएको अनुसन्धान र परिणाम’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले उक्त कुरा बताउँनुभएको हो ।
महिला पुनःस्थापना केन्द्र र शक्ति समूहले पाँच विकाश क्षेत्रमा ११ जना प्रभावित महिला र सरोकारवाला निकाय राखेर गरिएको सुझाव संकलनमा सहभागीहरूले आर्थिक सशक्तीकरणलाई बलियो बनाउनु पर्नेमा जोड दिएको अनुसन्धानकर्ता बज्राचार्यले बताउनुभयो ।
सामाजिक संरक्षण पद्दतीलाई बलियो बनाउनुपर्ने सुझाव दिँदै सरकारलाई गाली गर्नुभन्दा समाजलाई सशक्त बनाउँदा बेचबिखनमा कमी ल्याउन सकिने सुझाव आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रवासी नेपाली समन्वय समितिका उपाध्यक्ष कुलप्रसाद कार्कीले बेचबिखनको मुख्यकारण बेरोजगारी भएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका महिलालाई घरसम्म पुगेर विभिन्न किसिमका लालच देखाई थोरै समयमा धेरै पैसा कमाउने ठाउँमा पुगाईदिन्छु भन्दै लैजाने महिला बेचबिखनको शिकार हुने उहाँले बताउनुभयो ।
पीडकलाई राजनितिक संरक्षण हुँदा दण्डहिनता मौलाएकोले सरकारी संयन्त्र कडा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारको पहुँच केन्द्रदेखि गाउँ र जिल्लासम्म भएमात्र मानव बेचबिखन न्यूनिकरण हुने बताउनुभयो ।
पौरखी नेपालकी विजया राईले बेचबिखनसँग सम्बन्धित सचेतनामुलक र आयआर्जन मुलक क्रियाकलापमा महिलालाई सहभागी गराउनुपर्नेमा जोडदिनुभयो । उहाँले लैंगिक संवेदनशील र लैगिकउत्तरदायी नीति सहित प्रभावितका लागि व्यवहारिक पुनःस्थापना आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रमका संयोजक चरिमाया तामाङले प्रभावितहरूलाई सामाजिक पुनर्मिलन गराउनु अत्यन्तै जटिल विषय भएको बताउनुभयो ।
प्रकाशित मिति २०७२ साउन १९ गते मंगलवार
Comment Here!