अधिकारको माग गर्ने दलितमाथि लाठीचार्जः४० भन्दा बढी घाइते
सांसदले मागे गृहमन्त्रीसँग जवाफ
निर्मला ठकुराठी
काठमाडौं, साउन १९। संविधानमा दलितका अधिकार सुनिश्चित हुनुपर्ने माग सहित काठमाडौंको विजुली बजारमा चक्काजाम गरेका दलित नेता तथा अधिकारकर्मीमाथि प्रहरीले लाठी चार्ज गरेको छ। प्रहरीको लाठीचार्जबाट दलित महिला संघका अध्यक्ष अधिकारकर्मी दुर्गा सोब, पुर्वसभासद विनोद पहाडीलगायत ४० जना भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको उपचार मोडेल र सिभिल अस्पतालमा उपचार भईरहेको छ।
अब बन्ने संविधानमा दलितहरूको अधिकार सुनिश्चितताको माग गर्दै विभिन्न राजनीतिक पार्टीमा आवद्ध नेता तथा अधिकारकर्मीले बिजुली बजारमा आज बिहान १ घण्टा चक्काजाम गरेका थिए। आफुहरूले शान्तिपुर्ण रुपमा चक्काजाम गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको अध्यक्ष सोबको भनाई छ। झडपको क्रममा प्रहरीले दलित नेता तथा सभासदलाई तानेर, खोजी खोजी पिटेको अध्यक्ष सोबले बताउनुभयो।
उहाँले घटनामा कसैको हात, कसैको खुट्टा भाँचिएको कसैको टाउको फुटेको भन्दै घटनाको छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ।
यसैवीच दलितहरूमाथि भएको लाठीचार्जको सांसदहरूले चर्को आलोचना गरेका छन्। आज बसेको व्यवस्थापिका संसदको वैठकमा बोल्ने सांसदहरूले शान्तिपुर्ण विरोधमा उत्रेका दलितहरूमाथि भएको दमनको विरोध गर्दै यस बारेमा गृहमन्त्रीसँग जवाफ मागेको थिए। धरपकडको बारेमा सभामुख सुवास नेम्वाङले संसदलाई जवाफ दिन गृहमन्त्री बामदेव गौतमको ध्यानाकर्षण गराउनुभएको छ।
प्रकाशित मितिः २०७२ साउन १९ गते मंगलवार
Comment Here!