मेशिनबाट धान रोप्ने महिला


प्रकाशित मिति :2015-08-06 09:34:27

लक्ष्मी खतिवडा

वर्षौदेखी खेतको हिलोमा काम गर्दै आएकी सुनसरी तनमुनाकी पतालादेवी चौधरीको अहिलेको कामगराइ फरक छ । ६ महिनाअघि मेशिनबाट धान रोप्ने तालिम लिएपछि उनको काम गर्ने तरिका बदलिएको हो । गत साता खेतमा धान रोप्दै गरेको अवस्थामा भेटिएकी पतलादेवीसँगै अन्य महिलाको मुहारमा पनि खुशी देख्दा धान रोप्ने मेशिनले महिलाको जीवनमा परिवर्तन ल्याउने अनुमान लगाउन सकिन्थ्यो । पतालादेवीले निर्धक्कसँग खेतमा मेशिन दौडाइरहेकी थिइन, अरु महिला पनि अचम्म नमानीकन हेरिरहेका थिए ।

धान रोप्ने, गोड्ने र काट्ने सबै काम मेशिनले नै गर्छ । यसो हुँदा काम सहज हुनेमात्र होईन कि थोरै समयमा धेरै काम गर्न सकिन्छ । यसको परिणाम आम्दानी बढेपछि जीवनमा खुसी मिल्ने नै भयो । हिजोआज मेशिनबाट काम गरेको हेर्न आउने मानिसको भीडले यहाँका महिलालाई काम गर्न झन् उत्साह थपेको छ ।

नेपालमा पहिलो पटक कृषिमा आएको यान्त्रिकरण प्रविधि हेर्न गतसाता सुनसरीको तनमूना पुग्नुभएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मेशिन चलाएर देखाउन पाँउदा खुसी भएकी अछामतीदेवी चौधरीको अनुहारले यसै भन्थ्यो । उनले धान रोप्ने मेशिनले आफनो जीवनमा नसोचेको सफलता दिएको बताइन् । धान रोप्दामात्र होईन, धानको बिउ राख्दादेखि नै महिलाको कामको बोझ आधा कम हुँदै जान्छ । पहिलो चरणमा तालिम लिएका २५ महिला अहिले मासिक तलवमा काम गर्छन् । सीप सिकेर आत्मनिर्भर बन्न पाएपछि काम गर्न सहज हुने र आत्मविश्वास पनि बढ्ने उनीहरूको भनाइ छ ।
IMG_7030
मेशिनले रोपेको धान मेशिनले नै गोड्छ । यो देखाउँन पाँउदा जन्तरीयादेवी चौधरी औधी खुसी छन् । काम गरेवापत महिना—महिनामा आउने तलबले उनलाई परिवार चलाउन सहज भएको छ । उनी भन्छिन्, ‘हामी जस्तो अनपढ केही नजानेका महिलाले सीप सिकेर अरूलाई सिकाउँदै केही गर्ने अवसर पाएका छौं यो भन्दा अरू के चाहियो ?’

अर्की कृषक महिला पनि कम उत्साहित छैनन् । बिउ राख्नेदेखि मेशिन चलाउनेसम्मको काम गर्न जानेपछि अव कामको कुनै चिन्ता नहुने बताउँछिन् स्थानीय सुनिता उराँव । हातमा सीप भएपछि पहिला जस्तो कामको चिन्ता नहुने उनको बुझाई छ । खेतमा गएर बिउ राख्ने र महिनौंदिन कुरेर एक कट्ठा खेत रोप्न एक दिन लाग्ने परम्परागत खेतीप्रणालीलाई यो प्रविधिले विस्तारै विस्थापित गरिरहेको छ । यो प्रविधिले कृषि उत्पादनमा कहिँ कतै गणना नहुने महिलाको श्रमले मुल्य पाएको छ र उनीहरूले काम गर्ने समयको बचत पनि गरेको छ ।

मेशिनबाट यस वर्ष मात्रै सुनसरीको चिउडी, तनमुना र छिटाहा गाविसको ५० बिगाहा क्षेत्रफलमा धान रोपिएको छ । खेतबारीको काम गर्न दुःख हुने, यस्तो काम महिलाले नै गर्ने हो भन्ने सामाजिक सोचमा परिवर्तन ल्याउन पनि कृषिमा प्रविधि मार्फत महिलालाई सशक्त बनाउनु जरुरी थियो ।

परम्परागत कृषि प्रणालीमा सुधार ल्याउन यसअघि पनि विभिन्न उपकरण खरिद गर्न नेपाल कृषि कम्पनी मार्फत स्थानीय स्तरमा अनुदान दिँदै आएका बुद्ध एअरका प्रवन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतको अवधारणा कार्यान्वयन हुने क्रममा महिलाले यो अवसर पाएका हुन् । यो प्रविधि नेपालमा ल्याउन व्यक्तिगतरुपमा पाँच करोड रुपैयाँसम्मको जमानी बसेर बस्नेतले कृषि कम्पनीलाई बंैकमार्फत व्याजमा ऋण उपलब्ध गराउँदै आएका छन् । लामो समयको प्रयासपछि सुनसरीमा परिक्षणस्वरुप सुरु गरिएको यो प्रविधि सफल भए नेपालको कृषि क्षेत्रमा क्रान्ति हुने र ग्रामीण महिलाको जीवनमा आमूल परिवर्तन हुने आशा बस्नेतको छ ।

IMG_6982

अहिले २५ जना महिला तालिम प्राप्त भएपनि विस्तारै अन्य महिलालाई दक्ष बनाउदै लैजाने योजना रहेको बस्नेतले बताए । सुनसरीको ६ सय विगाहा भन्दा बढी जग्गामा धान उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । यसले गर्दा महिलाले कृषि क्षेत्रमा रोजगारीको अवसर पाउने छन् । सहकारीले महिलालाई बिना धितो ऋण उपलब्ध गराउँदै आएको छ । कृषि कम्पनीले ठूला मेशिन तथा उपकरण खरिदको लागि बजार मुल्य भन्दा तीन लाखसम्म कममा ऋण दिने भएपछि स्थानीय महिला धान रोप्ने मेशिन आफैले किनेर चलाउने सोचमा छन् ।

परम्परागत ब्याडमा बीउ राख्दा एक महिना कुर्नुपथ्र्यो । मेशिनबाट राखिएको बीउ १२ दिनमै रोप्न तयार हुन्छ । हातले रोपेको बीउ हुर्केर हरियो हुन करीब एक महिना लाग्छ । मेशिनले रोपेको बीउ १० दिनमै हरियो हुन्छ । एकसरो बीउबाट १० वटासम्म गाँज फैलिएको पाइएको छ । एक बिगाहा जग्गामा धान रोप्न २५ जना महिलाले दिनभरि काम गर्नुपर्छ तर यो मेशिनबाट एक घण्टामै रोपिन्छ । धान गोड्ने मेशिनले पनि एक दिनमा पाँच कट्ठासम्म गोड्न सकिन्छ । यसरी गरिएको खेतीको उत्पादन परम्परागत रुपमा गरिएको भन्दा करीब ३० प्रतिशतले बढ्ने अनुमान छ ।

IMG_7252

मेशिनको प्रयोगबाट स–साना ट्रेमा राखिएको धानको बीउलाई टुसा उम्रे पछि ग्रीन हाउसमा राखिन्छ । बाँस र प्लाष्टिकबाट सजिलै बनाउन सकिने ग्रीन हाउसमा एक पटकमा बीस बिगाहा जमीनलाई पुग्ने धानको बीउ राख्न सकिन्छ । ग्रीन हाउसको बीउ १० देखि १५ दिनमा १६ सेन्टिमिटरसम्मको हुन्छ र रोप्नको लागि तयार हुन्छ ।

परिकल्पनाकार बस्नेत भन्छन, ‘कम्पनीले महिलालाई दक्ष बनाउने अभियान अन्र्तगत प्रत्येक गाविसमा पाँच जना महिलालाई तालिम दिने योजना बनाएको छ । देशभरीका महिला प्रविधिामार्फत कृषि उत्पादनमा दक्ष बन्ने अवसर पाउने हो भने कृषिमा हुने आर्थिक परिवर्तनले उनीहरूको सामाजिक जीवनमा पनि आत्मसम्मान र सशक्तिकरणको नँया आयाम थपिनेछ ।’

प्रकाशित मिति २०७२ साउन २१ गते बिहीवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: