काठमाडौँ,साउन २२ । जारी गरिएको मस्यौदा संविधानमा नागरिकताको हकमा महिलामाथि विभेद गरिएको भन्दै अधिकारकर्मी महिला र नागरिकताविहिन युवा सडकमा सुतेर विरोध गरेका छन् ।
उनीहरूले नयाँ बन्ने संविधानमा नागरिकताको हकमा ‘र’ होइन ‘वा’ को व्यवस्था गर्न मागगर्दै नयाँ बानेश्वरको सडकमा सुतेर नाराबाजी गरेका हुन ।
वंशजको नागरिकतामा कुनै व्यक्तिको जन्म हुँदाका बखत निजका आमा र बुबा नेपाली नागरिक रहेछन् भने त्यस्तो व्यक्तिलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था गरेता पनि ‘र’ ले प्रत्येक नागरिकको स्वतन्त्र अस्तित्वको अस्विकारोक्ति गर्ने तथा कैयौं बालबालिका राज्यविहिनताको जोखिममा पर्ने हुदाँ आमा ‘वा’ बाबु लेखिनु पर्ने तर्क उनीहरूले अघि सारेका छन् ।
वैवाहिक अंगिकृत नागरिकतामा महिला र पुरुषलाई एकै खालको व्यवस्था हुनुपर्ने माग उनीहरूले राखेका छन् ।
नयाँ बन्ने संविधानमा महिलाका अधिकार सुनिश्चित गर्नेका लागि संविधानसभामा रहेका दलहरूलाई दवाव दिन सडकमा सुत्नु परेको उनीहरूको भनाईछ ।नयाँ संबिधानमा महिलाको अधिकार सुनिश्चित नभए सडक आन्दोलन जारी राख्ने चेतावनी अधिकारकर्मीहरूले दिएका छन् ।
प्रकाशित मिति २०७२ साउन २२ गते शुक्रवार
Comment Here!