आमाका नामबाट नागरिकता, एक हातले दिने र अर्कोले खोस्ने काम भयो : सञ्जाल
राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायबाट
महिला खबर
ललितपुर, साउन २४ । राजनीतिक दलले संविधानमा आमा वा बाबुका नामबाट नागरिकता दिने सहमति गरेका छन् । गएराती अवेर दलहरूबीच भएको सहमतिमा आमा वा बाबु नेपाली वंशज नागरिक भएको अवस्थाले उनका सन्तानले नागरिकता प्राप्त गर्न सक्ने कुरामा सहमति गरेका हुन् । कुनै व्यक्ति जन्म हुँदा निजको आमा वा बाबु नेपाली नागरिक रहेछ भने वंशजका आधारमा नागरिकता पाउने व्यवस्था संविधानमा गरिएको छ । तर, नेपाली पुरुषले विदेशी महिलासँग विवाह गरे तुरन्तै अङ्गीकृत नागरिकता पाउने व्यवस्था गरिएपनि नेपाली महिलाले विदेशी पुरषसँग विवाह गरेमा विवाह गरेको १५ वर्षपछि अङ्गीकृत नागरिकता पाउनेछ भन्ने प्रावधान भने संविधानबाटै हटाईएको छ । अधिकारकर्मी तथा राजनीतिक दलमा आवद्ध महिलाले यो व्यवस्था वरावर गर्न माग गर्दै आएका थिए ।
नागरिकता सम्बन्धी व्यवस्थाको १२ (१) मा नेपाली नागिरकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा प्रचलित कानुन बमाेजिम अङ्गीकृत नागिरकता लिन सक्ने छ भनिएकाे छ । तर, नेपाली महिलाले विवाह गरेको विदेशी पुरुषले १५ वर्षपछि वैवाहिक अङ्गीकृत नागरिकता पाउने व्यवस्था हटाइएको छ ।
यसैगरि १२ (२) मा विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकताबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोवास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागकिता प्राप्त गरेको रहेनछ भने निजले प्रचलित कानून बमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने छ भनिएको छ ।
यसैगरि संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुने व्यवस्था गरेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्दा फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरिएको छ ।
नागरिकता र सहभागिताका विषयमा भएको यो सहमतिको महिलाले स्वागत गरेका छन् । ‘वर्षौंदेखिको पहिचानको लडाईमा केहीमात्रामा सफल भएको छौं’, अन्तर्पार्टी महिला सञ्जालकी अध्यक्ष शशी श्रेष्ठले भन्नुभयो । तर, विभेद नहटेको उहाँको भनाइ छ । वैवाहिक अङ्गीकृत नागरिकतामा महिला र पुरुषलाई समान अधिकार दिनुपर्ने आवाज उठदाउठ्दै नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेमा विदेशी पुरुषले वैवाहिक अङ्गीकृत नागरिकता पाउने व्यवस्था हटाएको प्रति उहाँले आपत्ति जनाउनुभयो ।
छोरीलाई वंश र वासको अधिकारलाई अझै सुनिश्चित नगरेको उहाँको भनाइ छ । ‘विदेशी छोरी आउने वित्तिकै अङ्गीकृत नागरिकता पाउने तर, नेपाली महिलाले विदेशी पुरुषसँग विहे गर्दा नागरिकता नदिने व्यवस्थाले एक हातले दिने र अर्कोले खोस्ने प्रबृत्ति भयो’ उहाँले भन्नुभयो । अझैपनि नेपाली महिलाले आफ्नो सन्तानलाई नागरिकता दिँदा श्रीमान नेपाली हो की विदेशी हो भनेर प्रमाण देखाउनुपर्ने व्यवस्था यथावत रहेको उहाँको भनाई भयो ।
प्रकाशित मितिः २०७२ साउन २४ गते आईतवार
Comment Here!