ईश्वरी जी.एम.
रोल्पा, साउन २४। घरायसी र खेतवारीको कामले एकछिन पनि आराम गर्ने समय नपाएको गुनासो रोल्पा अरेस गाविसका महिलाले गरेका छन्। बिहान उज्यालो नहुँदै उठेदेखि बेलुका १०/११ बजेसम्म घरधन्दा गर्नुपर्दा शारीरिक र मानसिक रुपमा कमजोर भएको अरेसकी जसमती बिष्टले बताउनुभयो।
महिला तथा बालवालिका कार्यालय रोल्पाको सहयोगमा लिस्ने महिला बचत तथा ऋण सहकारी संस्था अरेसले आयोजना गरेको ३ दिने महिला पुरुष समविकास अर्न्तक्रिया कार्यक्रममा सो गाविसका महिला तथा पुरुषले गर्ने काम र समयको अवधिका विषयमा छलफल गरिएको थियो।
१५ जना महिला तथा १५ जना पुरुष सहभागी भएको अर्न्तक्रियामा पुरुषले आफूहरूले दिनको ५ घण्टा उत्पादनमुलक काममा खर्चिने, १ घण्टा घरायसी काममा बिताउने र बाँकी १८ घण्टा आराम गर्ने बताए भने महिलाले दिनको ६ घण्टा उत्पादन मुलक, १२ घण्टा घरायसी काम गर्ने र बाँकी रहेका ६ घण्टा मात्रै आराम गर्न पाउनेे बताए।
अर्न्तक्रियामा सहभागी अरेस ७ का बलबहादुर घर्तीले पुरानो परम्परा अनुसार समाजमा घरायसी काममा महिलाले मात्र बढि समय दिएको यर्थाथ भएको बताउँदै अबका दिनमा घरायसी काममा महिलालाई सघाउने र सामाजिक काममा महिलालाई पनि समान सहभागी हुने वातारण बनाउने वचन दिनुभयो।
कार्यक्रममा सहभागी पुरुषले महिलालाई आर्थिक आय आर्जनका काममा समेत लगाउन प्रेरित गर्ने, रक्सी खाने प्रबृत्तीविरुद्ध आवाज उठाउनुका साथै महिला हिंसा आफूले पनि नगर्ने र कसैले गरिहाले त्यसलाई तत्काल कारबाही गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए।
३ दिनसम्म चलेको कार्यक्रममा लैङ्गिक हिंसा के? कसरी हुन्छ ? हिंसाका कति प्रकारका हुन्छन? त्यसको समाधान कसरी गर्ने? महिलाको प्रजनन् स्वास्थ्य समस्या र अधिकारलगायतको विषयमा महिला तथा बालवालिका कार्यालय रोल्पाका महिला विकास निरिक्षक तारा सुनुवारले सहजीकरण गर्नुभएको थियो।
प्रकाशित मितिः २०७२ साउन २४ गते अाईतवार
Comment Here!