सृजना अर्याल
साउन, चितवन २६। तपाईले पहिलोपटक कारागारका बालबालिकालाई ल्याउन के कस्तो प्रयास गर्नुभयो ? यो जिज्ञाशा हो बालकुमारी कलेज चितवनमा स्नातक अध्ययनरत सदिक्षा देवकोटाको। सदिक्षाले यो जिज्ञाशा सी.एन.एन. हिरो २०१२ का विजेता पुष्पा बस्नेतलाई राख्नुभएको हो। संयुक्त जेसीज सप्ताह २०१५ अर्न्तगत चितवनका ७ वटा जेसिजको आयोजना र नारायणगढ लेडी जेसीजको नेतृत्वमा सोमवार भएको युवा र सामाजिक उत्तरदायित्व विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता हुनुुहुन्थ्यो सि.एन एन हिरो पुष्षा बस्नेत। उहाँले बाबुआमासँग जेलमा रहेका बालबालिकाको उद्धार गरी आश्रय र शिक्षा दिँदै आउनु भएको छ ।
अन्तक्रिया कार्यक्रममा अन्य विद्यार्थीको पनि जिज्ञाशा मेटाउँदै वस्नेतले सुरुमा काम गर्न निकै गाह्रो भएको अनुभव सुनाउनु भएको थियो। उहाँले भन्नुभयो ‘हामीले जीवनमा पुरा गर्न सक्ने कामको मात्र सपना देख्नुपर्छ’। सबैभन्दा पहिले आफूले आफैँलाई विश्वास गर्नसक्नुपर्ने उहाँको भनाइ थियो। कुनै असफलता नै सफलताको गोरेटो भएको उहाँले बताउनुभयो।
स्कुल र कलेज पढ्ने क्रममा पटक पटक असफल भएको आफ्नो उदारहण प्रस्तुत गर्दै उहाँले असफलताले निराश नभई सामाजिक काममा लागेकै कारण आफू सफल भएको बताउनुभयो।
युवाहरू नै देश विकासको खम्बा भएपनि महिलाले भने धेरै समस्या झेल्नु पर्ने नेपालको परिवेश कोट्याउदै उहाँले भन्नुभयो ‘म पनि वुवाको इच्छा विपरीत घरमा विद्रोह गरेर यो काममा लागेको हो। समाजले के भन्ला? कस्तो प्रतिकृया देलान् भन्ने तिर ध्यान नदिई आफ्नो लक्ष्यलाई अगाडि बढाएमा सफल हुन सक्छौ।’ छोरीले पनि घर बनाउन सक्छे भन्ने उदाहरण आफू भएकोमा गर्व गर्दै छोरीलाई शिक्षित बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
विभिन्न कलेजका विद्यार्थी तथा महिला अधिकारकर्मी सहभागी कार्यक्रममा उहाँले मुलुकलाई सहि बाटोमा लैजान युवा पुस्ताको भुमिका महत्व पुर्ण हुने भन्दै बाटो नबिराउन युवालाई आग्रह गर्नुभयो। सहभागीहरूको जिज्ञासाकै क्रममा उहाँले सरकारले पनि कारागारमा शिशु स्याहार केन्द्र राख्नुपर्ने बताउँदै आफूले हुर्काएका बालबालिकालाई संस्थाप्रति उत्तरदायी बनाउन चाहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमकी विशिष्ट अतिथी मिना खरेलले यूवावस्था मै समाजसेवामा आफूलाई स्थापित गराउन सफल बस्नेतबाट युवा पुस्ताले धेरै कुरा सिक्नु पर्ने बताउनुभयो। सामाजिक काम गर्न त्यति सहज नभएको र महिलालाई झनै कठिन भएको भन्दै उहाँले पुष्पा बस्नेतको ज्ञान सिप र दक्षता युवाको लागि प्रेरणाको स्रोत भएकोे धारणा राख्नुभयो ।
प्रकाशित मितिः २०७२ साउन २६ गते मङ्गलवार
Comment Here!