महिला खबर
रुपन्देही¸साउन २६ । रुपन्देहीका ८० प्रतिशत महिला सुत्केरी गराउन स्वास्थ्य संस्थामा आउने गरेको तथ्याङ्कले देखाएको छ । सन् २०१५ सम्ममा ६० प्रतिशत गर्भवती महिलालाई सुत्केरीका लागि स्वास्थ्य संस्थामा पुर्याउने लक्ष्य लिएपनि झन्डै ८० प्रतिशत पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख ओमप्रसाद पन्थीले जानकारी दिनुभयो ।
रुपन्देहीका छिमेकी जिल्ला कपिलवस्तु तथा नवलपरासीमा यो तथ्याङ्क ज्यादै न्यून छ । राष्ट्रिय तथ्याङ्क अनुसार सन् २०१५ सम्म ६० प्रतिशत स्वास्थ्य संस्थामा सुत्केरी गराउने सरकारले लक्ष्य लिएको थियो ।
जिल्लामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि जनस्वास्थ्य कार्यालयमार्फत जिल्लाका विभिन्न स्थानमा १८ वटा वर्थिङ सेन्टर र बिभिन्न सरकारी र नीजि अस्पतालमा २४ घन्टे प्रसूति सेवा सञ्चालन गरिएको छ ।
पहिलेको तुलनामा धेरै राम्रो भए पनि शतप्रतिशत सुत्केरी संस्थामा कसरी गराउने भन्ने तर्फ जनस्वास्थ्य कार्यालयकाे ध्यान रहेकाे पनि उहाँले बताउनुभयो ।
सन् २०१६ सम्ममा पूर्ण खोप घोषणाका लागि अभियान सञ्चालन गरिएजस्तै स्वास्थ्य संस्थामा सुत्केरी गराउनका लागि कार्यालयले योजना बनाइरहेको निमित्त कार्यालय प्रमुख पन्थीले जानकारी गराउनुभयो ।
आमा सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा पहुँच नभएकालाई सहजरुपमा पहुँच पुर्याउन तथा उनीहरूलाई प्रसूति सेवा स्वास्थ्य संस्थाबाटै गराउने व्यवस्था मिलाउनका लागि गाउँगाउँमा वर्थिङ सेन्टर सञ्चालन गर्ने तथा जनचेतना जगाउने काम कार्यालयले गर्दै आएको छ ।
प्रकाशित मितिः २०७२ साउन २६ गते मङ्गलवार
Comment Here!