के म बढी ‘सेन्सिटिभ भएँ’ ?


प्रकाशित मिति :2015-08-12 12:41:20

जमुना वर्षा शर्मा

‘मलाई एउटै कुराले सताइरह्यो। केही सहयोग गर्न सक्नुहुन्छ ? एक जना महिलाले फोनमा भनिन्।

कस्तो सहयोग ? एक अपरिचित महिलाको स्वरले मलाई जिज्ञासु बनायो।

उनले आफ्नो परिचय गराइन्। म हजुरलाई कति बेला भेट्न सक्छु ?

मैले पाँच बजे घरमै भेट्न बोलाएँ।

उनी रातो स्कुटरमा आइन्। गहुँ गोरी उनी हल्का मुस्कानसहित भित्र पसिन्। मैले अभिवादन सहित स्वागत गरेँ।
हतास, निराश, केही बेचैनी र छट्पटी,उकुसमुकुस उनको अनुहारमा झल्किन्थ्यो। उनले शुरुमा प्रसंगको शुरुवात गर्नै सकिनन्। मैले सामान्य प्रसंगबाट उनलाई सहज वातावरणमा ल्याउने प्रयास गरेँ । उनी विस्तारै खुल्न थालिन्। ‘म फार्मेसी विषयमा मास्टर्स सकेर अहिले अध्यापन पेशामा आवद्ध छु। यही विषयमा पी.एच.डी गर्ने तयारीमा जुटिरहेकी छु। म नबुझ्ने केटी पक्कै होइन, तर पनि मलाई किन किन एउटा समस्याले सताइरहेको छ।’

उनले आफ्नो समस्या सुनाउँदै भनिन् – ‘म एकजना हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरको व्यवहारबाट निकै चिन्तित छु। मेरो हात भाचिँदा तिनै डाक्टरले उपचार गरेका थिए। ती डाक्टरसँग मेरो परिचय पोखराकी एकजना माताले गराईदिएकी थिइन्। ती माता मेरो आफन्त पर्छिन्। शुरुका दिनमा ती डाक्टर निकै भलाद्मी र अभिभावक लाग्थे। उनको परिवारसँग राम्रो सम्बन्ध थियो। डाक्टरकी श्रीमतीले समेत बेला बेला फोन गर्ने र खाना खान पनि बोलाउने गर्थिन्। कुनै दिन पनि नराम्रो व्यवहारको संकेत नपाएकाले त्यस बोलावटलाई कहिल्यै नकारात्मक सोचिन। दिनहरू वितिरहेका थिए।

एकदिन उसको परिवारसँगै म पनि एक रेष्टुरेन्टमा खाना खान गएँ। ती डाक्टरले ड्रिकं गरे। गाडीमा फर्किदाँ उनले मेरो ‘थाइ’मा हात राखे। म पहिलो पटक नराम्ररी झस्किएँ। मैले उसको हात हटाएर, ठाउँ सरें। त्यसदिनको डाक्टरको व्यवहारले म सोच्न बाध्य भएँ। फेरी मन बुझाएँ , उसले ‘ड्रिकं’ गरेको भएर अन्जानवश यस्तो भएको होला।

दिनहरूलाई सामान्य बनाउँदै लगेँ। अध्ययनको पाटो पनि छदैं थियो। लामो समयसम्मको सम्बन्धमा त्यसैलाई आधार बनाएर परिवारमा आऊ जाऊ बन्द गर्न पनि सकेकी थिइनँ। तर मेरो मन डाक्टर प्रति सकारात्मक हुन सकेको थिएन। एकदिन कम्प्युटरमा काम गरिरहेका बेला डाक्टरले अंगालोमा हात ल्याएर केही सिकाउन खोजे जस्तो गरे। म पुनः दोश्रो चोटी झस्किएँ। बाबु जस्तै अभिभावक सम्भि्कएकी थिएँ मैले। तर उसको म प्रतिको गलत व्यवहार भने दोहोरिरहेको थियो। मेरो शरीरका विभिन्न भागमा कहिले ‘थेरापी’ त ‘कहिले के छ खबर..?’ भन्दै विभिन्न वहानामा छुने प्रयास गरिरहन्थ्यो। यस्ता व्यवहार दोहोरिन थालेपछि म डाक्टरको परिवारबाट टाढै बस्न रुचाएँ।

तर, म त्यस यताका दिनमा सामान्य रुपमा प्रस्तुत हुन सकिरहेकी छैन। मलाई भएको घटना त्यतिनै हो। तर त्यस घटनाबाट मेरो मन मष्तिष्कमा जुन आघात परेको छ , त्यसलाई हटाउन म हजुरको साहारा खोजिरहेकी छु।

उनले पुनः जोडिन्। ‘मैले यस घटनाका बारेमा डाक्टरकी श्रीमतीलाई भन्दा उनले सामान्य हो भनिन्। मलाई चिनाइदिने माता जस्को डाक्टरसँग राम्रो सम्बन्ध छ उनले पनि डाक्टरले गलत गरे भन्न सकिनन्। ती माताका श्रीमानलाई पनि यस घटनाका बारे जानकारी गराएँ, उनले तिमी बढी ‘सेन्सेटिभ’ भयौ, यसलाई सामान्य रुपमा लिनुपर्छ भने। कतैबाट पनि डाक्टरले गलत गरे भन्ने प्रतिक्रिया आएन बरु तिमीले नै बढी सोच्यौ यो सामान्य हो भन्ने कुरा मात्रै आए। म यो कुरा फेरी हजुरलाई पनि सोध्दैछु ‘के म साँच्चै बढी ‘सेन्सिटिभ’ भएँ? के यो सामान्य कुरा हो…..??’

मैले तत्काल प्रतिक्रिया दिने कुनै शब्द पाइन्। ‘कसरी सामान्य हुन सक्छ ? जसले उनलाई यति ठूलो मानसिक आघात पुर्याएको छ। हरेल पल त्यही घटनाले उनको आत्मसम्मानमा ठूलो चोट पुर्‍याएको छ। उनको अस्मितामाथि पटक पटक धावा बोलेको छ।’ तरपनि समाजले यो विषयलाई सामान्य मानिदिन्छ। जसलाई समस्या सुनाए पनि पीडकको बचाऊ गरेर पीडितलाई झनै पीडित बनाइदिन्छ।

समाज यस्तो भैसक्यो कि घटना विजारोपण कहाँबाट भएको छ भन्ने तिर ध्यानै दिँदैन। यसलाई सामान्य मानिदिन्छ, जब घटनाले जघन्य रुप धारण गर्छ अनि अनेक प्रश्न गर्न थाल्छ। आफन्त, संरक्षक, परिवारका सदस्यबाटै बलात्कृत महिलाका समाचार देखेर, सुनेर सामान्य लिने समाजले एउटा स्पर्शलाई कसरी अपराध हो भनेर बुझ्ला र? अनि उनले न्याय पाउलिन्?

उनलाई यो कुरा खुलेर समाजमा बोल्दा आफैँ पीडित हुन्छु भन्ने डरले निकै पिरोलेको छ यतिखेर। ‘म डाक्टरको चरित्र र माताको लाचारी बाहिर आओस् भन्ने चाहान्छु। उनीहरूको आवरण भित्रको कर्तुत बाहिर आयो भने कमसेकम म जस्ता धेरै महिला समयमै सचेत हुन सक्ने थिए।
‘केश गरौं प्रमाण खोज्ने कानुनलाई के प्रमाण पेश गरुँ?नगरुँ मेरो आत्मसम्मानमा चोट पुग्ने गरी अनिच्छित मेरो शरीरमा गरिएका स्पर्शले मलाई मानसिक रुपमा विचलित तुल्याएको छ।’ उनले फेरी प्रश्न तेर्स्याइन्– यो अपराध होइन ? के म यस कुरामा बढी ‘सेन्सिटिभ’ भएँ ?

प्रकाशित मितिः २०७२ साउन २७ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: