नवराज महतारा
साउन,हुम्ला २७। गएको असार २२ गतेदेखि हराएकी हुम्ला ठेहेकी २० वर्षीया गुम्बीरा सुनारको शव कर्णाली नदी किनारमा भेटिएको छ।
कर्णाली नदिको कालापानी भन्ने ठाउँमा कुहेको अवस्थामा गुम्बीराको शव फेला परेको प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर कुवँरले बताउनुभयो।
असार २२ गते मंगलबार घरबाट सानो दुध खाने छोरीलाई छोडेर टल्कीस्थित खेत गोडमेलका लागि गएकी सुनार एकाएक बेपत्ता भएकी थिइन। खेतमा काम गर्न गएको आउँछिन होला भन्दै कुरेपनि नआएपछि खोज्न सुरु गरेको मृतकका श्रीमान काले सुनारले बताए।
फेला नपरेपछि परिवारले ठेहे प्रहरी चौकीलाई खोजीका लागि आग्रह गरेको थियो। ठेहे प्रहरी चौकी र घर परिवारको संयुक्त खोजीपछि असार २८ गते ग्याग्रु खोलाको च्याँगामा उनले लगाएका कपडा चप्पल, सल र पोते भेटेपछि प्रहरीले खोजि कार्य जारी राखेको थियो।
लामो समय खोज्दा नभेटाएपछि परिवारले सामाजिक परम्परा अनुसार १३ दिने काजक्रिया पनि गरिसकेको थिए। काजक्रिया सकिएकै दिन मङ्गलवार नै गुम्बारीको शव भेटिएको थियो। मृतकको शवलाई आफन्तलाई बुझाइ घटनाको प्रकृति बुझेर थप अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरी प्रमुख कुवँरले बताए।
प्रकाशित मितिः २०७२ साउन २७ गते बुधवार
Comment Here!