एकल महिलाको समृद्ध जीवन


प्रकाशित मिति :2015-08-14 10:23:38

कुनै बेला परिवार र समाजबाट अपहेलित सुर्खेतका एकल महिला आयआर्जनको बाटोमा लागेपछि आर्थिक रूपमा सक्षम भएका छन् । उनीहरूमध्ये कतिपयले परिवारमा मात्र होइन, समाजमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

ललितबहादुर बुढा

lalit budha surkhetसुर्खेत । वीरेन्द्रनगर– १० खजुरानिवासी बालकुमारी नेपालीले १७ वर्षको उमेरमा प्रेमविवाह गरिन् । कलिलो उमेरमा गरिएको प्रेमविवाह बालकुमारीका लागि अभिशाप बन्यो । विवाह गरेको केही वर्षमा श्रीमानसँग सम्बन्धविच्छेद गरी एकल जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो । परिवार तथा छिमेकीबाट समेत अपहेलित भइन् ।

अहिले उनी भाडाको कोठामा बसेर जीविकोपार्जनका लागि तरकारी पसल चलाइरहेकी छिन् । यही तरकारी पसलबाट उनले आफ्नो र तीन सन्तानको जीवन धानेकी छिन् । दैनिक पाँच हजारसम्मको तरकारी बिक्री हुन्छ । कमाइले छोरालाई विदेश पठाइन् । दुई छोरीको पढाइखर्च, कोठाभाडा र घरको सबै खर्च पसलले धानेको छ । काम गर्दागर्दा अब उनमा आत्मविश्वास पनि बढेको छ । केही वर्षमा आफ्नै घर बनाउने योजना छ । आँट र मिहिनेत भए कसैको अवेहलना र उपेक्षाले केही फरक पार्दैन, महिलाले पनि आनन्दसँग जीवन जिउन सक्छन् भन्ने गतिलो उदाहरण हुन्, बालकुमारी ।

Ekal mahila @ surkhet 1 (1)

०५३ मा गाउँकै देवेन्द्र शाहीसँग विवाह गरेकी सुर्खेत लाटीकोइलीकी दीपा शाहीले नौ वर्ष मात्र श्रीमानको साथ पाइन् । नेपाली सेनामा कार्यरत देवेन्द्रको सशस्त्र द्वन्द्वको क्रममा ०६१ मा निधन भयो । विवाह गरेको छोटो समयमा दीपा एकल हुन पुगिन् । श्रीमानको निधनपछि उनले अनेकौँ ठक्कर खाइन् । परिवारले साथ दिएन । समाजले उनलाई नानाथरीका आरोप लगाउन थाल्यो । आफन्त र छिमेकीहरूसमेत पराइजस्तै भए । आफ्नो भन्ने केही रहेन । त्यसपछि उनी एकल महिला समूहको सम्पर्कमा पुगिन् । हिजोआज उनको जीवन फेरिएको छ । एक छोरीकी आमा दीपाले एकल महिला समूहमार्फत तीनमहिने र घरेलु तथा साना उद्योगले दिएको ६ महिने सिलाइकटाइ तालिम लिइन् । तालिमले उनको जीवनमा आत्मविश्वास सिर्जना गरिदियो । काम र दामको मूल्य थाहा पाएपछि उनले जीवन कसरी चलाउने भन्ने सीप पनि सिकिन् । उनको जीवनले नयाँ मोड लियो । उनले अहिले सिलाइकटाइ व्यवसायबाटै मासिक ३० हजारभन्दा बढी आम्दानी गर्न थालेकी छिन् । दीपा भन्छिन्, ‘अवसर पाउने हो भने एकल महिलाले पनि गर्न नसक्ने केही छैन, हामी आफैँ काम गरेर समृद्ध जीवन बिताउन सक्छौँ ।’

आफैँ व्यवसाय गरेर समृद्ध जीवन बिताउँदै आएकी एकल महिला हुन्– रूपशिला रोकाय । दश वर्षको उमेरमा विवाह गरेकी उनी ३२ वर्षकी हुँदा एकल बन्न पुगिन् । जुम्ला घर भई हाल सुर्खेत लाटीकोइलीमा बस्दै आएकी रूपशिला सिलाइकटाइ व्यवसायबाट समृद्धिको बाटोमा अघि बढेकी छिन् । एकल जीवन बिताउँदाको पीडा कस्तो हुन्छ भन्ने रोकायलाई राम्ररी थाहा छ । समाज र घरपरिवारले हेला गर्न थालेपछि उनी एकल महिला समूहमा आबद्ध हुन पुगिन् । त्यहाँ आफूजस्तै महिलालाई भेटेपछि उनमा थप साहस आयो । उनले भनिन्, ‘म मात्र हो कि यस्तो दुःखमा भन्ने सोच्थेँ, तर मजस्ता धेरैलाई भेटेपछि पीडा कम भयो ।’ तीनमहिने सिलाइकटाइ तालिम लिएपछि उनले बाँच्ने कला सिकिन् । उनी भन्छिन्, ‘सिलाइकटाइ तालिम लिइसकेपछि मैले नयाँ जीवन नै पाएँजस्तो लाग्यो ।’ अहिले उनको दिनमा एक हजारसम्म कमाइ हुन्छ । समाजमा आत्मविश्वास बढ्यो, पहिले एकल महिला भनेर कुरा काट्नेहरूले नै सहयोग गर्न थाले । अहिले उनी दुई छोराको पालनपोषण गरेर बसेकी छिन् ।

पछिल्लो समय जिल्लाका धेरै एकल महिलाले समृद्धिको बाटोमा पाइला अघि बढाइसकेका छन् । एकल महिला भएकै कारण घरपरिवार र समाजबाट हुने फरक व्यवहार, घृणा र अवहेलनालाई चिर्दै आफैँ व्यवसाय गरेर उनीहरू आर्थिक रूपमा सबल भएका हुन् । एकल महिला आफ्नै खुट्टामा उभिएका उदाहरण समाजमा प्रशस्त भेट्न सकिन्छ । एकल महिला समूहको तथ्याङ्कलाई हेर्ने हो भने सुर्खेतमा मात्र करिब तीन हजार एकल महिला छन् । राज्यले अवसर सिर्जना गरिदिने हो भने उनीहरूले पनि सहज जीवन बाँच्न सक्ने समूहका मध्यपश्चिम संयोजक रामकुमारी थापा बताउँछिन् । बिस्तारै एकल महिला समृद्धितर्फ लम्किरहेको भन्दै उनले आर्थिक रूपमा सक्षम भएमा कसैले पनि हेप्न नसक्ने बताइन् । राज्यले एकल महिलाका लागि विशेष प्रकारको कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ । रामकुमारीले भनिन्, ‘राज्यले एकल महिलालाई सेवा–सुविधासहित आरक्षणको कोटा छुट्याउनुपर्छ ।’

परिवार तथा समाजबाट अपहेलित भए पनि आयआर्जनको बाटोमा लागेपछि आर्थिक रूपमा सक्षम यहाँका एकल महिलाले परिवार मात्र होइन, समाजमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । हिजोसम्म आफ्नो अस्तित्वसमेत नभएका महिलाले अहिले समाजमा उद्यम गर्न सक्ने, कमाइ गर्न सक्ने परिचय पाएका छन् । विगतमा आफूलाई एक्लो र परिवारका लागि बोझ ठान्ने उनीहरू हिजोआज सामाजिक संस्थामार्फत समाजसेवामा अग्रसर छन् । आर्थिक रूपमा सक्षम भएपछि कतिपय एकल महिलाको परिवारमा पुनर्मिलन भएको छ र उनीहरू समाजमा पुनस्र्थापितसमेत भएका छन् ।
(सञ्चारिका फिचर सेवा)
(ललित, सुर्खेतका पत्रकार हुन् ।)   

प्रकाशित मिति २०७२ साउन २९ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: