धनु राई
ओखलढुङ्गा, साउन ३१। ओखलढुङ्गामा विगत तीन वर्षमा ८ जना महिला तथा बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। कार्यालयको तथ्याङ्क अनुसार तीन वर्षमा ८ जना महिला तथा बालिका बलात्कृत भएका हुन्।
आर्थिक वर्ष २०६९/७० यता ८ वटा जबरजस्ती करणी र ५ वटा सो उद्योगसम्बन्धी घटना दर्ता भएको प्रहरी निरीक्षक बैद्यनाथ यादवले जानकारी दिनुभयो। घटना दर्ता भएर अदालतबाट दोषी ठहर भईसकेका मध्ये १ जना फरार रहेको र अरु सबैले सजाय भोगिरहेको उहाँको भनाई छ। आर्थिक वर्ष २०६९/७० मा तिन वटा मुद्दा दर्ता भएका थिए।
यसैगरी २०७०/७१ मा सात वटा बलात्कारसम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७१/७२ मा चारवटा जबरजस्ती करणी र सो उद्योगसम्बन्धीका मुद्दा दर्ता भएको प्रहरीले जानकारी दियो।
चालु आर्थिक वर्षको साउनसम्ममा यस प्रकारका कुनै मुद्दा दर्ता भएका छैनन्। बलात्कार भएको दोषी प्रमाणित भएमा कानुनतः १० वर्षमुनिका बालिका भए १० देखि १५ वर्षसम्म कैद, १० वर्षभन्दामाथि १४ वर्षमुनिका बालिका भए आठदेखि १२ वर्षसम्म कैद, १४ वर्षमाथि १६ वर्षमुनिका बालिका भए ६ देखि १० वर्षसम्म कैद, १६ वर्षभन्दामाथि २० वर्षमुनिका बालिका भए पाँचदेखि आठ वर्षसम्म र २० वर्षदेखिमाथिका महिला भए पाँचदेखि सात वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ।
प्रकाशित मितिः २०७२ साउन ३१ गते अाईतवार
Comment Here!