सरकारले पनि हेप्यो बादी महिलालाई


प्रकाशित मिति :2015-08-16 11:47:21

सात वर्ष अघि वादी महिलाले काठमाडौंमा ४८ दिनसम्म आन्दोलन गरे। सरकारले माग पुरा गर्ने प्रतिबद्धता जनायो। तर आठ वर्षपछि पनि उनीहरूका समस्या ज्यूका त्यूँ छन्। अधिकारकर्मी रमा वादी भन्छिन्, ‘इमान्दर भएकै कारण हाम्रो आवाज सुनिएन।’

भरत कोइराला

कैलाली बलचौरकी पार्वती बादी बिहान कुखुराको डाँकोअघि नै कामका लागि घरबाट हिँड्छिन्। चिसापानी बगरमा पुग्दा नपुग्दै घाम चर्किसकेको हुन्छ। दिनभरी ढुङ्गा बालुवासँगै खेलेर साँझ घर फर्किनुपर्छ। गाडी चढेर काममा जान मन लाग्छ। तर दिनहुँ गाडीभाडामा पैसा खर्च गरे आँगनको धुलोमा खेलेर बसेका छोराछोरीको मुखमा माँड लगाउन कठीन पर्छ।

बलचौरकै सुनिता बादीको दुख पनि पार्वतीको जस्तै छ। कामका लागि भारत गएका श्रीमानको पनि खासै राम्रो आम्दानी भएन। यसको बोझ पनि उनैलाई थपियो। सुनिताले परिवार पाल्न भ्याइ नभ्याइ मजदुरी गर्नुपर्छ। चिसापानीको बगरमा पसिना नबगाए कुपोषणबाट ग्रसित छोराछोरीलाई जाउलो खुवाउन धौ—धौ पर्छ। झिसमिसमै उठेर खानेकुरा बनाएपछि बालबालिकालाई ओछ्यानमै छाडेर सुनिता बगर पुग्छिन्। भन्छिन्, ‘छोराछोरीलाई मिठो मसिनो खुवाउन त मन छ नि के गर्नु कर्ममै दुःख र अभाव लेखेको रैछ। यी छोराछोरीले धेरै दिन पेटभरी खान नपाएर बसेका छन्।’

कैलालीको चिसापानी बजारभन्दा १४ किलोमिटर पश्चिममा पूर्वपश्चिम राजमार्ग छेउमा रहेको बलचौरको बादी बस्तीका प्रायजसो महिला ढुङ्गा, बालुवासँग श्रम साट्छन्। दैनिक गर्जो टार्न मुश्किल पर्ने यी महिलालाई पैसा कमाउँला, बैंकमा जम्मा गरौला र स्थायी बसोबासको व्यवस्था गरौंला भन्ने छैन । आफ्नो घर बनाउने विषयमा के सोच्नु भएको छ भन्ने प्रश्नको जवाफमा उनीहरू भन्छन् ‘बिहान साँझ खान नपुग्ने कमाइले के को घरवासको आश गर्नु?’

उनीहरूको बस्ती नजिक पूर्व पश्चिम राजमार्ग छ। मुलुकको नीति नियम बनाउने नेता, सभासददेखि त्यसको कार्यान्वयन गर्ने प्रशासकहरूसम्म दौडिन्छन् त्यहि बाटो भएर। तर यो मार्गले पनि बादी महिलाको जिवन परिवर्तनको यात्रा तय गर्न सकेन। २६ माघ २०६४ देखि बलचौरमा बसेको बादी बस्तीको पीडा घट्नु साटो झन् बढ्दो छ।

भूमिहीन बादी अधिकारकर्मी रमा बादी

भूमिहीन बादी अधिकारकर्मी रमा बादी

भूमिहीन बादी अधिकार संघर्ष समितिकी रमा बादीका अनुसार विकल्प खोज्दै भौँतारिदा मध्य तथा सुदूर पश्चिम क्षेत्रका दुई सय घरका नौ सयजना लम्कीचुहा नगरपालिकाको बलचौरमा बस्दै आएका छन्। आफ्नो अधिकारको लागि पटक—पटक आन्दोलन गरेकी रमा भन्छिन ‘आन्दोलन गर्छौं, झुटा आश्वासन पाउँछौं, सम्झौताको मसी सुक्न नपाउँदै सरकारी अधिकारीले आफ्नो प्रतिबद्धता बिर्सन्छन्।’
हुर्कने वित्तिकै पुरुषहरू कमाउन भारत छिर्छन्। साँझ बिहानको छाक टार्न बादी महिला ढुङ्गा, बालुवा गिटीको काम गर्छन्। गाडी भाडा तिर्न नसकेर बिहान तीन बजे घरबाट निस्कन्छन् र हिँडेर बेलुका आठबजे घर पुग्छन्। चुरे संरक्षणको गर्ने भनेर सरकारले ढुंगा बालुवा गिटी बिक्रीमा रोक लगाउँदा कहिले काँही उनीहरू भोकभोकै बस्न वाध्य हुन्छन्।

खप्तड बादी महिला बचत समूहकी अध्यक्ष रहेकी पार्वती वादी आफूहरूले सुरुमा प्रति सदस्य महिनाको १० रुपैयाँ उठाउने गरे पनि अहिले उठाउन छाडेको बताउँछिन्। उनका भनाइमा, परम्परागत पेसा अब काम नलाग्ने भए। गाउँमा माग्न गए गाली खानुपर्छ। सरकारले बस्ती नजिकै नहर खन्दैछ। यही ऐलानी जग्गामा पनि बस्न पाइने नपाइने टुङ्गो छैन। पार्वती भन्छिन्,’मुखमा लगाउने माँड छैन, कताबाट नगद संकलन गर्नु ?’

बादी महिला भन्ने वित्तिकै यौनकर्मी ठान्ने गरिन्छ। पहिला पहिला कुनै बस्तीका महिला यो काममा लागे पनि अहिले त्यस्तो छैन। अझ बलचौरमा त त्यस्तो काम कहिल्यै भएन। तै पनि दोषी नजरले हेर्ने गरिन्छ। पार्वतीले भनिन्, ‘पहिला त बिहे, व्रतवन्ध र अन्य खुसीयालीमा नाचगान गरेर हामीले कमाउने गरेका थियौं,। अहिले प्रविधिको विकास भयो। छोटा स्कट लगाएका हिरोइनको नाच हेर्न छाडेर, थोत्रो म्याक्सीवालीको नाच कस्ले पो हेर्छ र?’

हलिया, मुक्त कमैया र अरु कति स्थानका बादी समुदायका सदस्यलाई पनि सरकारले धमाधम जग्गा बाँडेको खबर उनीहरूले सुनेका छन्। तर बलचौरका बासिन्दालाई जग्गा पाउने त कता हो कता कतिबेला सुरक्षाकर्मी आएर धपाउने हुन् भन्ने चिन्ता छ। सात वर्ष अघि बलचौरकै उमा बादीको नेतृत्वमा काठमाडौंसम्म ४८ दिनसम्म भएको आन्दोलन सहमति गरेर टुङ्गियो। तर सहमति अनुसार कुनै काम भएनन्। अधिकारकर्मी रमा भन्छिन्, ‘इमान्दर भएकै कारण हाम्रो आवाज सुनिएको छैन, सरकारले हामीलाई पक्षपातपूर्ण व्यवहार गरेको छ।’

पुरुषहरू सुल्फा, चिलिम, मादल बनाउने र बेच्ने काम गर्थे। माछा मार्ने जाल बुन्थे। अव तीनको प्रयोग हरायो। दल र नेताहरु संविधान, देश विकास, संघीयता र नागरिक अधिकारका कुरा गर्छन्। तर यी बादीहरू राज्यले प्रदान गर्ने नागरिकताको प्रमाणपत्र समेत नपाएका कारण सुकुम्वासी समस्या समाधान आयोगले दिएको फारमसमेत भर्न पाइरहेका छैनन्। घुमन्ते र मगन्ते जिवन विताएका, आफन्त पनि नभएकाहरू नागरिकताको लागि सनाखत गरिदिने व्यक्ति नभएकै कारण बलचौरका ४५ जनाले सुकुम्वासीको फारम भर्न नपाएको रमाले बताइन्।

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला राष्ट्रिय दलित आयोगको सदस्य समेत भएकी रमा आफूले जति आवाज उठाए पनि केही गर्न नसकेको दुःख मनाउ गर्छिन्। आफ्नो जग्गा भएका बादी समुदायका सदस्यका लागि सरकारले जनता आवास कार्यक्रम चलायो, तर भूमिहीनलाई भने हेरेन। उनका भनाइमा, ‘खाल्डोमा परेकालाई पो माथि तान्नुपर्छ। यहाँ त खाडलमा नपरेकालाई पोस्ने काम भयो।’
स्थानीय राधिका बादी भन्छिन्, ‘गरिबीकै कारण यो बादी वस्तीका एक सय ८० बालबालिका स्कुल जान सकेका छैनन्। अभिभावक दिनभर काममा जाँदा उनीहरू भोको पेटमा धुलोमा खेल्न वाध्य छन्।’

badi 22

बलचौरको बादी बस्तीमा कसैको नजर नपुगेको भने हैन। खानेपानी, स्वास्थ्य शिक्षा, साक्षरता, सचेतनाका लागि गैरसकारी संस्थाले सहयोग गरिरहेका छन्। जसका कारण उनीहरू अधिकारका लागि सचेत हुन थालेका छन्। स्थानीय सामुदायिक वनमा उनीहरूले सदस्यता पाउन थालेका छन्। त्यतिमात्र नभएर वन उपभोक्ता समिति र नजिकैको विद्यालय व्यवस्थापन समितिमा समेत बादी महिला प्रतिनिधि चुनिएका छन्।

दलित महिला संघ (फेडो) कैलाली अध्यक्ष पुनम सिजापति बलचौर लगायत जिल्लाका १० गाविसमा समूह गठन, मासिक बचत, समुदायमा परिचालन गर्दै आएको बताउँछिन्। उनले भनिन् ‘महिला लैंङ्गक विभेदको शिकार बन्दै आएका छन् त्यसमा पनि दलित महिला झन् समस्यामा छन्।’ उनीहरूलाई आफ्नो अधिकारप्रति सचेत बनाउँदै लगिएको पुनम बताउँछिन्। तर वादी महिलालाई चिन्ता बासस्थानकै छ। बलचौरकी राधिका बादी भन्छिन, ‘थोरै नै भए पनि सरकारले जग्गा दिए ढुक्कसँग बस्न सकिन्थ्यो।’

प्रकाशित मितिः २०७२ साउन ३१ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: