रमला सिंगक
सुनसरी, साउन ३२ । भूकम्पपछि महिलावेचविखन बढेको भन्दै धरानका चारजना युवाको एक समूहले स्वस्फुर्त रुपमा मानव वेचविखनविरुद्ध आईतबारदेखि हस्ताक्षर अभियान सुरु गरेको छ । हस्ताक्षर अभियान संचालन गर्दा कम्तिमा हजार जनालाई जानकारी दिन सकेमा महिला दलालको फन्दामा पर्नबाट जोगाउन सकिने संयोजक विकि पोद्धारले बताउनुभयो । विभिन्न कार्यक्रमको इभेन्ट म्यानेजमेन्ट गर्ने व्यवसाय गर्ने व्लु पिंक नामक संस्थाका म्यानेर समेत रहेका पोद्धारलाई ममता राई, सन्चा राई र दीपचन्द्र राईले साथ दिएका छन् ।
तर, सामाजिक जिम्मेवारी महसुस गर्दै उनीहरूले महिला वेचविखनविरुद्ध अभियानमा सक्रिय रहेको बताए । चेलीवेटी वेचविखन जस्तो अमानवीय कार्यलाई रोक्न सर्वसाधारणलाई सचेत बनाउन हस्ताक्षर अभियान संचालन गरेको पोद्धारले बताउनुभयो ।
हस्ताक्षर अभियानका लागि धरानस्थित पुतलीलाइनमा व्यानरसहित महिला वेचविखन नियन्त्रणका लागि गरिने प्रयास र उपायबारे लेखिएका पर्चा, पम्प्लेटलगायत विभिन्न संचारमाध्यममा आएका समाचारसमेत प्रदर्शनीमा राखि उनीहरूले वितरण गरिरहेका छन् । महिला वेचविखनविरुद्ध हस्ताक्षर अभियान संचालन गर्न पहिले आफ्नै र अहिले संस्थाको कोष वृद्धिका लागि च्यारिटी कार्यक्रम पनि गरेको पोद्धारले बताउँनुभयो ।
उहाँका अनुसार च्यारिटी गर्नका लागि एक हजार रुपैयाँ दान गर्नेले सोही रकम भित्र स्थानीय होटलमा एक छाक खाना खान पाउने कुपन दिने गरिएको छ । मानव वेचविखनविरुद्ध हस्ताक्षर अभियानका लागि माइती नेपालले पर्चा पम्प्लेट उपलव्ध गराएको ममता राईले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बालबालिका, किशोरी र महिलालाई सचेत गराउन आयोजित हस्ताक्षरलाई आगामी भदौ १९ गतेपछि माइती नेपाललाई बुझाउने छौं ।’ अर्का सदस्य सन्चा राईले अभियानलाई निरन्तरता दिन आगामी भदौ १९ गते मानव वेचविखनविरुद्ध दिवसमा जनचेतना मुलक ¥याली गर्ने तयारी पनि भइरहेको बताउनुभयो । उहांले भन्नुभयो, ‘हामीले गरेको सानो प्रयासले कोही महिला बेचिनबाट बच्न सक्छन् भने किन अभियान नगर्ने भनेर सामाजिक चेतना जगाउन लागेको हो ।’
प्रकाशित मितिः २०७२ साउन ३२ गते साेमवार
Comment Here!