गृहिणी होइन, गृह व्यवस्थापक


प्रकाशित मिति :2015-08-17 10:13:36

‘गृहिणी भन्नुभन्दा गृह व्यवस्थापक भनियो भने हामीले गरिरहेको कामको मूल्य नभए पनि इज्जतचाहिँ अलि बढ्ला कि जस्तो लाग्छ ।’  
  सुभद्रा प्याकुरेल

subhadraइटहरीकी हुमा भण्डारीले संविधानको मस्यौदामा सुझाव दिने क्रममा घरभित्रको सबै व्यवहार थामेर बसेका महिलालाई गृहिणी भनेर होच्याइने गरेको बताइन् । उनले भनिन्, ‘अब उनीहरूलाई गृह व्यवस्थापक भनिनुपर्छ ।’ उनले दैनिक घरमा काम गर्ने आफूजस्ता लाखौँ महिलालाई मासिक पारिश्रमिक पनि चाहिएको बताइन् । हुमाको सुझाव संविधानमा अटाउला–नअटाउला । तर, अहिले महिलालाई होच्याएर गृहिणी भन्ने होइन, गौरवका साथ गृह व्यवस्थापक भनिनुपर्छ भन्ने माग बलियोसँग उठेको छ ।

महिला सशक्तीकरणका लागि साझा अभियान इटहरीकी अध्यक्ष लक्ष्मी काफ्ले हुमाको विचारमा सहमत छिन् । लक्ष्मीका विचारमा महिलाले घरमा गरेको कामको कुनै आर्थिक मान्यता नदिने परम्पराले उनीहरूको आर्थिक हैसियत नभएको हो । गृहिणी भन्ने शब्दले आर्थिक हैसियत नजनाउने हुनाले महिलालाई हीनताबोध हुने उनको बुझाइ छ । ‘श्रीमान्ले पहिला–पहिला गृहिणी, गृहमन्त्री भनिदिँदा हामी मख्ख पथ्र्यौं,’ काफ्लेले भनिन्, ‘तर, त्यो सम्बोधनले अहिले हामीलाई होच्याएकोजस्तो आभास हुन थालेको छ । अब घरमा महिलाको भूमिकाअनुसारको सम्बोधन गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’

 इटहरी– २ की माया राउत यसको एउटा उदाहरण हुन् । उनी बिहान चार बजेदेखि राति नौ बजेसम्म घरभित्रको काममा व्यस्त हुन्छिन् । बिहान गाईलाई खोले पकाउने काम गरेर सुरु भएको उनको दिनचर्या खाना बनाउने, परिवारका सदस्यका लुगा धोइदिने गर्दै राति खाना खाएर जुठा भाँडा माझेर सुत्न बेलामा टुङ्गिन्छ । उनलाई सबैले गृहिणी भन्छन् । उनी पनि आफूलाई गृहिणी नै भन्न रुचाउँछिन् । ‘उहिले उहिले घरबूढी भन्थे, यतिबेला गृहिणी भन्छन् । जे भने पनि हामीले गरेको कामको माने न मुने,’ राउतले भनिन् । घर स्याहार्ने महिलालाई अब गृह व्यवस्थापक भन्नुपर्छ भन्ने आवाज उनले पनि सुनेकी छिन् । राउत भन्छिन्, ‘व्यवस्थापक भनिदिए हामीले गरेको कामको मूल्य नपाए पनि कामको इज्जतचाहिँ अलि बढ्ला कि जस्तो लाग्छ ।’

उर्लाबारी बहुमुखी क्याम्पस मोरङकी उपप्राध्यापक भीष्मा रेग्मी भट्टराई ‘हाउस मेनेजर’ शब्दले कामकाजी महिलाको आत्मसम्मान थप्ने बताउँछिन् । अहिलेसम्म गृहिणी भनिएकालाई गृह व्यवस्थापक भन्नु उनीहरूको भूमिकाअनुसारको सम्बोधन हुने उनको बुझाइ छ । तर, यसलाई शब्द प्रयोगमा मात्र होइन घरघरका पुरुषहरूको व्यवहारमा पनि देखिनुपर्ने रेग्मी बताउँछिन् । ‘कार्यालयका व्यवस्थापकलाई जे–जस्तो व्यवहार गरिन्छ घरका व्यवस्थापकलाई पनि उस्तै सम्मान दिएर व्यवहार गर्नुपर्छ,’ भीष्मा भन्छिन्, ‘यो शब्दावलीसँगै कामकाजी महिलाको पारिश्रमिकको पनि हिसाबकिताब हुन थाल्नुपर्छ ।’

सार्वजनिक कार्यक्रममा महिलाले परिचयका क्रममा अब गृह व्यवस्थापक भनेर आफूलाई चिनाउन थालेमा यो शब्दले घरभित्र प्रवेश पाउने धारणा धेरैको छ । इटहरी– १ की महिला स्वास्थ्य स्वयम्सेविका रेनुका सुवेदीको जिम्मेवारी पनि घर–व्यवहार मिलाउने नै हो । तर पनि आफूलाई ‘हाउस वाइफ’ भनिदिँदा उनलाई कताकता चित्त नबुझेजस्तो भइरहेको छ । सुवेदी भन्छिन्, ‘गृह व्यवस्थापक भन्ने सम्बोधन सुन्दा अलि गर्व लागेजस्तो हुँदोरहेछ । यसलाई घरघरमा छिराउनचाहिँ सबैले प्रयोग गर्नैपर्छ । सङ्घसंस्थाहरूले पनि आफ्नो कागजपत्रमा यो शब्द उल्लेख गर्नुपर्छ ।’

लेखिका सरु जोशी श्रेष्ठले आफ्नो एउटा लेखमा ‘हाउस वाइफ’ शब्दले महिलाको खिल्ली उडाएको उल्लेख गरेकी छिन् । श्रेष्ठ लेख्छिन्, ‘हाउसको वाइफ, विन्डोको वाइफ, डुवरको वाइफ हुन्छ ? त्यसैले कामकाजी महिलाले आफूलाई ‘हाउस वाइफ’ होइन, ‘हाउस मेनेजर’ भनेर चिनाउनुपर्छ ।’

गृह व्यवस्थापक सम्बोधनले कामकाजी महिलाले घरमा गरेको कामको पारिश्रमिकलाई समेत परिभाषित गर्ने महिला बताउँछन् । गृहिणी सम्बोधन खेपिरहेका महिलालाई ‘के काम गर्नुहुन्छ भनेर सोध्यो भने घरको स्याहारसुसार मात्र भन्छन्,’ भीष्मा भन्छिन्, ‘यसको अर्थ उनीहरू आफ्नो श्रमको मूल्य पर्छ भन्ने अनुभूति नै गर्दैनन् ।’ उनका विचारमा गृह व्यवस्थापक शब्द चलनमा आउने हो भने घरमै काम गर्ने महिलाले पनि आफूले काम गरिरहेको अनुभूति गर्न सक्छन् ।

घरमा काम गर्ने महिलाले कार्यालयका कर्मचारीसरह नियमित रुटिनअनुसार काम गर्ने भएकाले उनीहरूमा व्यवस्थापकको भूमिका रहेको नेप्स्कुन उपाध्यक्ष अमृता सुब्बा बताउँछिन् । महिलासँग कुन काम कतिबेला गर्ने भन्ने समय–तालिका हुन्छ । उनीहरू बिहान उठ्ने, खाना बनाउने, लुगा धुने, खाजा बनाउने काम ठीक–ठीक समयमा गर्छन् । ‘जसरी एउटा संस्थाको व्यवस्थापकले संस्थालाई कसरी प्रगतिमा लैजाने, कर्मचारीलाई समान व्यवहार गरेर काममा प्रोत्साहित गर्ने भन्ने योजनामा काम गरिरहेको हुन्छ,’ सुब्बा भन्छिन्, ‘त्यसरी नै महिलाले जहिले पनि घरलाई प्रगतिमा लैजाने योजनामा काम गरिरहेकी हुन्छिन् ।’

एमाओवादी सभासद् अनिता परियार पनि गृहिणी शब्दले महिलाको अपमान नै गरेको महसुस भएको बताउँछिन् । घरका सबै काम धान्ने महिलालाई गृहिणी भनेर वर्षौंदेखि उनीहरूको अपमान भएको परियारको धारणा छ । ‘महिलालाई गृह व्यवस्थापकका रूपमा संविधानमा नै उल्लेख हुनुपर्ने मेरो जोड रहन्छ,’ परियारले भनिन्, ‘पुरुषहरूले महिलाको कामलाई अवमूल्यन गरेका छन् । कुनै एक दिन देशैभरिका महिलाले चुल्हो बन्द गर्ने, हडताल गर्ने हो भने मात्र महिलाको भूमिका परिवारमा के रहेछ भन्ने कुरा पुरुषहरूले अनुभूति गर्छन् ।’

गृहिणीबाट गृह व्यवस्थापकको पहिचान बनाउन सञ्चारमाध्यमको पनि ठूलो भूमिका हुने महिला अधिकारकर्मीहरू बताउँछन् । सञ्चारमाध्यमले गृहिणी शब्द प्रयोग गर्ने ठाउँमा गृह व्यवस्थापक भन्न थाल्ने हो भने केही समयमै घरघरमा यो शब्दले प्रवेश पाउने उनीहरूको धारणा छ । उनीहरू भन्छन्, ‘सार्वजनिक कार्यक्रममा हामीले पनि भन्न थाल्नुपर्‍यो– मेरो नाम फलानो, काम गृह व्यवस्थापक ।’
(सञ्चारिका फिचर सेवा)
(सुभद्रा, सुनसरीकी पत्रकार हुन् ।)  

 प्रकाशित मिति : २०७२ साउन ३२ गते सोमवार   

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: