‘कोमल छौ कमजोर छैनौं’


प्रकाशित मिति :2015-08-18 15:15:13

आफनो घर सम्हालेर कार्यालयको जिम्मेवारी निर्वाह गरिरहेका महिलाहरु भन्छन्  ‘हामी कोमल छौं तर कमजोर छैनौं। समाजको महिला प्रतिको दृष्टिकोणमात्रै कमजोर छ।’

सलोजा दाहाल

महिला आयोगमा सदस्य नियुक्ति पाएको ५ महिनासम्म मोहना अन्सारीलाई कार्यालयमा कुनै सहयोगी दिइएन। गाडी चालकदेखि कार्यालयका कर्मचारीले गर्ने व्यवहार पनि सहज थिएन। मोहना भन्छिन् ‘क्षमता भएर आएको हो, तर कार्यालयमा वर्ग र वर्ण हेर्ने गरिन्थ्यो।’
मोहना अरुको व्यवहारलाई वेवास्ता गर्दै क्षमता विकासमा अग्रसर हुन थालिन्।

२०६७ सालमा राष्ट्रिय महिला आयोगमा सदस्यको रुपमा प्रवेश गरेपछि २०७१ सालसम्म आइपुग्दा धेरै कुरामा सकारात्मक परिर्वनत आए। कार्यालय बाहिरको व्यक्तिले हेर्ने नजर र गर्ने व्यवहारमा पनि धेरै परिर्वतन आयो। सञ्चारकर्मीसँग खुलेर बोल्ने र विषयबस्तुमा ‘अपडेट’ भइरहने मोहनाको सञ्चारमाद्यमसँगको सम्बन्ध पनि उत्तिकै सहज थियो। आयोगसँग सम्बन्धित विषयबस्तुका बारेमा जानकार भएकै कारण काममा सहज हुँदै गएको अनुभव छ मोहनासँग। महिला आयोगमा प्रवक्ता भएर काम गरेकी मोहना भन्छिन् ‘राम्रो काम गरेपछि त्यसलाई स्वीकार गर्नेहरुको संख्या धेरै हुन्छ।’

joint pic

काम गर्ने संस्था फेरिए पनि महिलाले भोग्ने समस्या भने फेरिएका छैनन्। महिला आयोगमा भोगेको समस्या मोहनाले राष्ट्रिय मानव अधिकार आयोगमा पनि भोगिन्। २०७१ कात्तिकमा राष्ट्रिय मानव अधिकार आयोगको सदस्यमा नियुक्त भएपछि पहिलाको भन्दा फरक अनुभव होला भन्ने अपेक्षा गरेकी मोहनाले त्यहाँ महिला हुनुको थप पिडा भोगिन्। आफूसँग नियुक्त भएका पुरूषलाई गर्ने व्यवहार र आफूलाई गर्ने व्यवहारमा निकै फरक अनुभव गरेकी मोहना भन्छिन् ‘मानव अधिकार आयोगमा पनि उही महिला आयोगको जस्तै समस्या भोग्नु पर्‍यो।’

महिलाले काम गर्न सक्दैनन् भनेर टिप्पणी गर्नेहरूलाई मोहनाको जवाफ छ ‘सामाजिक काम भनेको सामूहिक हुन्छ, एक जनाले मात्र गर्ने भनेर सकिँदैन।’ सम्पूर्ण काममा कार्यालय सहयोगीदेखि नेतृत्वकर्ताले समेत सहयोग गर्नुपर्छ। कर्मचारीले महिला र पुरुष सदस्य बीचमा गर्ने व्यवहार नै फरक हुने गरेको अनुभव छ मोहनासँग। हरेक संस्थामा भोग्नु परेका विभेद एकै पटक हट्न नसक्ने बुझेकी मोहना भन्छिन् …यो व्यक्तिको भन्दापनि हाम्रो संस्कारको दोष हो, महिलाप्रतिको हेराइमा परिर्वतन आउन सकेको छैन।’

नेपालगञ्जको निम्नमध्यम वर्गीय परिवारमा जन्मिएकी मोहनाले समाजशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेकी छन्। मोहना भन्छिन् ‘म सामान्य परिवारबाट धेरै कुराहरू चिर्दै आएकी छु, व्यक्तिलाई नमानोस तर पदको सम्मान गर्नुपर्छ,। महिला कमजोर छन् भन्ने भ्रम चिर्नु अबको आवश्यकता भएकाले त्यसलाई ‘ब्रेक’ गर्न लागिपर्ने उनी बताउँछिन्।

बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य डा. माधवी भट्ट आफूले महिला भएकै कारण पूर्ण विभेद भोग्नु नपरेको बताउँछिन्। भन्छिन् ‘जिम्मेवारी पुरा गर्नु कर्तव्य हो, अरुभन्दा अब्बल हुने कोसिसमा छु। अहिलेसम्म महिला भएकै कारण विभेद खेप्नुपरेको छैन।’

घर परिवारदेखि आफन्तहरूको सहयोग पाए महिला बाहिरको काममा कहिँपनि कमजोर नहुने उनको अनुभव छ। १८ महिने छोरो हुँर्काउदै गरेकी डा. माधवी भन्छिन् ‘घर व्यवहारमा मात्र अल्भि्कनु परेको छैन।’ त्यसैले आफ्नो जिम्मेवारी पूरा गर्नपनि सजिलो भएको उनको अनुभव छ। घर व्यवहारदेखि बाहिरको काममा पनि पूर्ण सघाउने श्रीमानको कारण उनलाई काम गर्न सहज भएको छ।

माधवी भन्छिन् ‘महिलालाइ अहिलेसम्म ‘कस्मेटिक’ रुपमा हेर्ने प्रचलन छ। तर आफ्नो काममा अब्बल प्रदर्शन गर्न सक्नेहरूका लागि विभेदको समस्या हुँदैन।’ महिलालाई कमजोर आंकलन गर्नु कमजोर मानसिकताको उपजमात्र भएको भट्टको भनाई छ।
आयोग प्रवक्ता समेत रहेकी डा. भट्टले आफ्नो कार्यालयमा मात्र नभइ जिल्ला भ्रमणका क्रममा समेत महिला भएकै कारण अप्ठ्यारो भोग्नु नपरेको बताइन्। भन्छिन् ‘आफूले नसुन्नेगरी कुरा काट्नेहरूको वास्ता गर्दिन। जसले जति सोच्न सक्छ उसले त्यतिनै बोल्ने हो भन्दै चित्त बुझाउँछु।’ आफ्नो काममा पछि नहट्ने उनी पछाडी बसेर कुरा काट्नेहरू समयसँगै हराउनेमा ढुक्क छन्।

राष्ट्रिय सूचना आयोगकी आयुक्त यसोदा तिम्सिना कस्ले के भन्छ भन्दापनि आफ्नो कामप्रति चासो दिनुपर्ने बताउँछिन्। ‘व्यक्तिको भन्दापनि महिलाप्रति गर्ने व्यवहार र सोचाइमा अहिलेपनि सामाजिक समस्या छ। जबसम्म समाजमा सकारात्मक सोचको विकास हुँदैन, तबसम्म पुरा परिर्वतन सम्भव नै छैन।’

महिलालाई कमजोर छन् भनेर आंकलन गर्ने समाज नै दोषी भएको तिम्सिनाको बुझाइ छ। कामको सिलसिलामा भने आफूहरू केही कमजोर महसुस गर्नुपरेको उनको अनुभव छ। साना साना छोराछोरी हुर्काउँदै पेशामा निरन्तर लागिरहेकी सूचना आयुक्त यसोदा महिलाले घर व्यवहार समेत मिलाउनुपर्ने, बच्चाको स्यहारमा लाग्नुपर्ने भएकोले साँझ विहानको समय भने कार्यालयको कामलाई दिन नसकिएको स्वीकार गर्छिन्।
‘हामीप्रति दोहोरो जिम्मेवारी छ, कार्यालयको काम भनेर पूरै छोराछोरी र परिवारलाई वेवास्ता गर्न सकिँदैन। अब त्यसैलाई कमजोरीको रुपमा लिनेहरू पनि छन्’ भन्छिन् ‘तर यो महिलाको मात्र समस्या होइन, समाजले जिम्मेवारी बोध गर्ने हो भने यो सामाजिक काम पनि हो।’ महिलाहरू अहिलेको अवस्थामा सामाजिक संरचनाका कारण मारमा परेको उनको बुझाइ छ।

बच्चा जन्मिएपछि महिलाहरू त्यसको स्याहारमा लाग्नु, परिवार र बच्चालाई अलि बढी समय दिन चाहनु स्वाभाविक भएको आयुक्त तिम्सिनाको भनाई छ। भन्छिन् ‘बच्चा व्यक्तिको मात्र होइन, राज्यले आफ्नो नागरिक हो, यसप्रति मेरो जिम्मेवारी छ भनेर लाग्ने हो भने महिलालाई जे जे विषय उठाएर कमजोर सावित गरिन्छ, त्यसबाट छुटकारा मिल्थ्यो।’ उनी बच्चाको विषयमा सरकार नै विशेष व्यवस्था गर्नुपर्ने समेत बताउँछिन्।

यी सबै समस्याका बाबजुद पनि आफ्नो जिम्मेवारीबाट पछि नहटेको र कामको विषयमा खास्सै गुनासोपनि नरहेको उनको भनाई छ। भन्छिन् कार्यालयमा काम पहिलो प्राथमिकतामा पर्छ र पर्नु पनि पर्छ। त्यसैले कामको विषयमा गुनासो नभएको उनको बुझाइ छ। नेपाल पत्रकार महासंघको उपाध्यक्ष समेत भइसकेकी आयुक्त तिम्सिनाको बुझाइमा महिलाहरू कमजोर छैनन्। अरुले गर्ने व्यवहार पनि पूर्ण विभेदकारी देखिएको छैन।

सत्य निरुपण तथा मेलमिलाप आयोगकी आयुक्त मञ्चला झा महिलाप्रतिको विभेद कार्यालयमा मात्र नभइ परिवारबाट नै सुरु हुने बताउँछिन्। २०४७ सालमा प्रजातन्त्र दिवशको दिन विद्यालयमा गरेको भाषण सुनेर गाँउका महिलाले मञ्चलाको विवाह हुने कुरामा नै शंका गरेका थिए। मञ्चला भन्छिन् ‘अब त्यो समय रहेन तर अझैपनि महिलाका लागि सहज वातावरण छैन।’

प्रकाशित मितिः २०७२ भदाै १ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: