हलिया महिलालाई दासको व्यवहार


प्रकाशित मिति :2015-08-20 11:08:42

काम न ज्याला । अहिले पनि सुदूरपश्चिमका हलिया महिलाको अवस्था कुनै बेलाका दासको भन्दा फरक छैन ।
 ध्रुव लम्साल
dhurba ५१ वर्षकी भइन् रंगिली परियार । उनी राम्रोसँग आँखा देख्दिनन् । जता हेरे पनि धमिलो मात्रै देखिन्छ । गाउँमा आएको आँखा शिविरमा जचाएर चस्मा लगाइन्, केही वर्षसम्म काम दियो । अहिले त्यसले पनि काम गर्न छाडेको छ । ‘अलि परको केही देख्दिनँ । साँझ–बिहान हिँड्डुल गर्न निकै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘बल छउन्जेल साहुकै काम गरेर बिताइयो, बुढेसकालमा सहारा दिने कोही भएन ।’

आछाम मंगलसेन नगरपालिका वलीगाउँ, कुस्काटिया टोलकी रंगिली परियारको दुःखको कथा हो यो । सम्पत्तिको नाममा एउटा झुप्रो घरबाहेक केही छैन । त्यो पनि आफ्नो जग्गामा होइन । छोरीहरूले भारतमा कमाएको पैसाले अर्कैको जग्गामा सानो झुप्रो बनाइदिएका छन् । उनी त्यही घरमा एक्लो जिन्दगी जिउँदै छिन् । श्रीमानको मृत्यु भएको ११ वर्ष भयो ।

लोग्ने गाउँकै हुनेखाने गोसाईका घरमा हलिया काम गर्थे । ५० वर्ष हुन दुई वर्ष बाँकी नै थियो । रोग लाग्यो । हलियाले सुविधासम्पन्न अस्पतालमा गएर उपचार पाउन सम्भव थिएन । रंगिली भन्छिन्, ‘दुई–चार महिना धामीकोमा धायौँ । गढेको रोग धामीले के बिसेक पाथ्र्यो र ? एक वर्ष रोगाएर प्राण त्यागे ।’

श्रीमान्ले खेत जोत्थे । रंगिली गाउँकै विष्टको घरमा पुराना लुगाफाटो सिलाउने काम गर्थिन् । अहिले आँखाले धोका दिएपछि उनी यो काम गर्न सक्दिनन् । उनका तीन छोरी र एक छोरा कमाउन भारत गएका छन् । दुई–तीन वर्षमा एकपटक गाउँ आउँछन् ।गाउँकी हलिया परिवारकी अर्की सदस्य नन्दा नेपालीले पनि बल छउन्जेल विष्टको घरमा पुराना लुगाफाटो सिलाएरै बिताइन् । उनकी सासू र बूढीसासूले पनि त्यही काम गरे । एक दिन पनि कामअनुसारको ज्याला पाइनन् । खालासुपो (हलियालाई ज्याला दिने भाँडो) देखाउँदै भनिन्, ‘दिनभरि लुगा सिएपछि बेलुकीपख यही भाँडोमा हालेर कनिका दिन्थे । एक दिनको ज्यालाले दुईजनालाई एकछाक पनि पुग्दैन थियो ।’

सुदूरपश्चिममा रहेका हलिया परिवारका महिलाको कहर सुन्दा जोसुकैको आँखा रसाउँछन् । मुलुकमा जनताको शासन आएको वर्षौं भइसक्यो, तर सुदूरपश्चिमका हलिया परिवारमा कहिल्यै त्यसको अनुभूति भएन ।

हलिया परिवारका महिलाको जीवन आज पनि कुनै दासको भन्दा फरक छैन । प्रायः हलिया परिवारका महिला (आमादेखि छोरीसम्म) घरमुली साहुको आदेशमा उसकै मेला जानुपर्छ । हलियाले हलो जोत्ने काम गर्छन् भने महिलाले डल्ला फुटाउने, बिउ रोप्ने यस्तै काम गर्छन् । ‘मौसमअनुसारको काम गर्नुपर्छ ।’ वलीगाउँकै चमेली नेपालीले भनिन्, ‘कामअनुसारको ज्याला कहिल्यै पाइन्न ।’

बाजुरा नुवाकोट गाउँकी मन्सरी नेपालीले गाउँमा भाँडा नमाझेको कुनै घर छैन । नुवाकोट गाउँमा ५६ परिवार हलिया बसोवास गर्छन् । प्रायः सबै हलिया महिलाको दुःखको कथा एकैखालको छ । जबर्जस्ती काम गर्नुपर्छ र कामअनुसारको ज्याला पाइँदैन ।

कस्तोसम्म हुन्छ भने उनीहरू दिनहुँजसो साहुकोमा काम गर्छन् । तर, आफ्नो ज्याला कति हो भनेर सोध्ने गर्दैनन् । उनीहरूले आजसम्म एक दिन पनि काम गरेबापत कति ज्याला आउँछ भनेर सोधेका छैनन् । किनकि यसो भयो भने भोलिपल्ट काममै नबोलाउने सम्भावना रहन्छ । एउटा ज्यान पाल्न जति दिन्छन् त्यतिमै चित्त बुझाउनुपर्ने बाध्यता छ ।

सरकारले ०६५ भदौ २१ गते हलिया मुक्त गरेपछि धेरै हलिया परिवारका महिला खुसी भएका थिए । आमाले कामअनुसारको ज्याला पाउने भए भने छोरीहरूको स्कुल जाने बाटो खुल्यो । धेरैले यस्तै सोचेका थिए । ५१ वर्षीय देउती चमार भन्छिन्, ‘हाम्रो त झन् विजोग भयो, साहुले कामसमेत दिन छाडे, अहिले त सीधै भन्छन् ओई डुमिनी बाठी भइस् होइन ।’

सरकारले मुक्त गर्नुअघि हलियाको जीवन उत्तिकै कष्टकर थियो । हरेक मौसममा सकी–नसकी काम गर्नैपथ्र्यो । साहुको खेतबारीमा काम भएको बेला बिरामीसमेत भन्न पाउँदैन थिए । चाडपर्व र विवाहमा गोरुले झैँ काममा खटिनुपथ्र्यो । देउती भन्छिन्, ‘गाउँमा कसैले बिहे गरे भने दाउरा बोक्ने, धान कुट्नेलगायत सबै काम हामीले सित्तैमा गर्नुपथ्र्यो ।’

बिहेघरमा पाहुनाले खाएको जुठो भाँडा माझ्ने काम हलिया महिलाकै हुन्थ्यो । मन्सरीको भनाइअनुसार अहिले पनि गाउँमा बिहे, ब्रतबन्ध हुँदा जुठा भाँडा माझ्ने काम हलिया महिलाले नै गर्नुपर्छ । तर, अझै कामअनुसारको ज्याला दिँदैनन् । ज्यालाको मात्रै के कुरा भोज खाने ठाउँमा पनि विभेद हुन्छ । मन्सरी भन्छिन्, ‘हामीले माझेको थालमा माथिल्ला जातकाले भात खान्छन्, तर हामीले भोज खान आफ्नै थाल बोकेर जानुपर्छ ।’

अहिले पनि सुदूरपश्चिममा हलिया महिलाले भात पकाएकै गह्रामा बसेर खान पाउँदैनन् । अहिले पनि उनीहरूलाई भतेर पकाएकोभन्दा तल्लो गह्रामा राखेर खान दिने चलन छ ।

राष्ट्रिय हलिया मुक्त समाज महासङ्घका अध्यक्ष मोहनलाल सार्की सुदूरपश्चिमका हलिया महिलाका समस्या शब्दमा व्यक्त गर्न नसकिने धारणा राख्छन् । उनको भनाइमा यस भेगमा दलित महिलाको स्थिति दासको भन्दा फरक छैन । हलिया महिलाकै मुक्तिका लागि काम गर्दै आएको बताउने अध्यक्ष सार्की महिलालाई अझै पनि धेरैले पशुसरह व्यवहार गर्ने गरेको बताउँछन् ।

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपाल (मुक्ति परियोजना) वकालत संयोजक बालाराम भट्टराईले हलिया परिवारका महिलाको स्थिति दयनीय भएको स्वीकार्दै सुदूरपश्चिमका आमनागरिकको सोचको दायरा निकै साँघुरो भएको बताए । उनको भनाइमा २१औँ शताब्दीमा पनि हलिया महिलाले कामको न्यूनतम ज्यालासमेत पाएका छैनन् ।

बाजुराका प्रमुख जिल्ला अधिकारी धनराज शर्मा पौड्यालले हलिया महिलाको स्थिति कष्टकर भएको बताए । आफू बाजुरा आएपछि महिलाको स्थिति सुधारका लागि केही काम गरेको शर्माको दाबी थियो । तर, उनले गरेको भनिएका ‘केही कामहरू’ के–के थिए भनेर प्रस्ट्याउन चाहेनन् ।

यस क्षेत्रमा काम गरिरहेका सङ्घसंस्थाका भनाइमा मुलुकभर १९ हजार हलिया परिवार छन् । त्यसमा ६५ हजारभन्दा धेरै महिला छन् । हलिया परिवारका ज्येष्ठ महिला अहिले पनि सित्तैमा काम गर्न विवश छन् । छोरी पुस्ताका युवतीको अवस्था पनि राम्रो छैन । विद्यालय त उनीहरूका लागि टाढाको विषय हो । १२ वर्ष कटेपछि प्रायः बा, दाइ, काका र छिमेकीको पछि लागेर रोजगारीका लागि भारत जान्छन् ।

(सञ्चारिका फिचर सेवा)
(ध्रुव, नेपाल पत्रकार महासङ्घका सचिव हुन् ।)

प्रकाशित मितिः २०७२ भदै ३ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: