पढाइमा अब्बल पूर्वकमलरी


प्रकाशित मिति :2015-08-21 14:49:55

सुदूरपश्चिमका विभिन्न विद्यालयका छात्रावासमा बसेर पढिरहेका पूर्वकमलरी बालिका पढाइमा अब्बल देखिएका छन्।
तेजराज भट्ट

tej bhatta कैलाली । अत्तरिया नगरपालिका– ८ बेलादेवीपुरको सरस्वती उमाविमा कक्षा सातमा अध्ययनरत पूर्वकमलरी यशोदा चौधरी कक्षाकी प्रथम छात्रा हुन् । विद्यालयमा सञ्चालित कमलरी छात्रावासमा बसेर अध्ययन गर्दै आएकी १२ वर्षीया यशोदा कक्षा तीनदेखि प्रथम हुँदै आएकी छिन् ।

आर्थिक अवस्था कमजोर रहेको यशोदाको परिवारले उनलाई विद्यालय जाने उमेर नपुग्दै कमलरी पठायो । लालबोझी गाविस– ५, घर भएकी उनी भजनी गाविसमा स्थानीय जमिन्दारको घरमा करिब तीन वर्ष कमलरी बसिन् ।

कमलरी बसेकै बेला आमाबुबा दुवै गुमाएकी यशोदालाई विभिन्न सङ्घसंस्थाले कमलरीबाट छुटाएर सरस्वती उमावि सेहरीमा कक्षा दुईमा भर्ना गरिदिए । अभिभावकविहीन यशोदाले छात्रावासमै बसेर अध्ययन गर्ने अवसर पाइन् । विद्यालय भर्ना भएको दोस्रो वर्षदेखि हालसम्म उनी आफ्नो कक्षामा प्रथम हुँदै आएकी छिन् ।

सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत पूर्वकमलरी एलिसा चौधरी पनि आफ्नो कक्षामा प्रथम हुन्छिन् । गएको वर्ष कक्षा पाँचमा प्रथम श्रेणीमा उत्तीर्ण उनी त्यसअघि कक्षामा दोस्रो र तेस्रो श्रेणीमा उत्तीर्ण हुन्थिन् । कक्षामा प्रथम हुन प्रतिस्पर्धा गर्नेहरू पनि पूर्वकमलरी नै छन् । नारायणपुर गाविसको डाँडाबोझी घर भएकी एलिसाका पनि आमाबुबा छैनन् । अभिभावकविहीन एलिसा कमलरीबाट मुक्त भएपछि कमलरी सरस्वती उमाविमा रहेको कमलरी छात्रावासमा बस्दै आएकी छिन् ।

photo kamlari

सरस्वती उमाविमै कक्षा पाँचमा अध्ययनरत पूर्वकमलरी विपना चौधरी पनि आफ्नो कक्षामा सधैँ प्रथम हुन्छिन् । छात्रावासमै बसेर पढ्ने अवसर पाएकी टीकापुर नगरपालिका–९ घर भएकी विपनाले कक्षामा सधैँ प्रथम भएर आफूलाई पढाइमा अब्बल दर्जामा उभ्याएकी छिन् । प्रधानाध्यापक वेदप्रसाद ओझाका भनाइमा कक्षा दुईमा भर्ना भएकी उनी भर्ना भएदेखि नै कक्षामा प्रथम हुँदै आएकी छिन् ।

अर्काको घरमा काम गर्ने धेरैजसो कमलरी बालिकाले मुक्तिपछि छात्रावासमा बसेर अध्ययन गर्ने अवसर पाउँदा पढाइमा आफूलाई अब्बल सावित गरेका छन् । मुक्तिपछि कमलरीहरूको अध्ययनका लागि अत्तरिया नगरपालिकाको सेहरी र टीकापुर नगरपालिकाको वनगाउँस्थित सरस्वती माविमा सरकारले कमलरी छात्रावास सञ्चालन गरिरहेको छ । दुवै ठाउँमा गरी हाल एक सय ५० भन्दा बढी मुक्त कमलरी छात्रावासमै बसेर अध्ययन गरिरहेका छन् ।

तीमध्ये आधाभन्दा बढी १४ वर्षमुनिका छन् । अधिकांश पढाइमा अब्बल छन् । खासगरी तल्लो तहका कक्षामा पूर्वकमलरी बालिका नै पहिलो, दोस्रो, तेस्रो हुने गरेका विद्यालयका प्रधानाध्यापकको भनाइ छ । मुक्तिपछि विद्यालय भर्ना भएका बेला कमजोर पूर्वकमलरी बालिकाले छात्रावासमा बसेर पढ्ने वातावरण पाएपछि पढाइमा सुधार गर्दै लगेका सरस्वती उमावि सेहरीका प्रधानाध्यापक वेदप्रसाद ओझा बताउँछन् । यद्यपि कतियप कमलरी बालिका पढाइमा कमजोर पनि रहेका उनको भनाइ छ ।

‘तल्लो तहका कक्षामा प्रथम, दोस्रो प्रतिस्पर्धा कमलरीबीच नै हुन्छ,’ प्रधानाध्यापक ओझाले भने, ‘तल्लो तहबाटै भर्ना भएर माथिल्लो तह पुगेका कमलरी बालिका पढाइमा राम्रो गरिरहेका छन्, तर उमेर बढी भएका कारण एकैपटक माथिल्लो तहमा भर्ना भएकाहरू केही कमजोर छन् ।’ सरस्वती उमाविमा रहेको कमलरी छात्रावासमा बसेर एक सय ११ जना अभिभावकविहीन पूर्वकमलरी अध्ययन गरिरहेका छन् ।

विद्यालय समयबाहेक उनीहरू छात्रावासमा समय–तालिका बनाएर अध्ययन गर्छन् । होस्टेल इन्चार्ज एवम् विद्यालयका गणित र विज्ञान शिक्षक नेत्रबहादुर खडायतले छात्रावासमा अध्ययनका क्रममा नजानेका कुरा सिकाउने गरेको बताए । ‘उनीहरूका लागि पढ्ने, खाने, खेल्ने, सुत्ने समय निश्चित गरिएको छ । नजानेका कुरामा सहयोग गर्छौं,’ खडायत भन्छन्, ‘पढ्ने वातावरण पाएपछि उनीहरूको पढाइ राम्रो हुँदै गएको छ ।’

उनीहरू बिदाको दिनमा पनि धेरै समय पठनपाठनमै ध्यान दिने गर्छन् । अर्काको घरमा काम गर्नुपर्दाको जस्तो दुःख अहिले भोग्नु नपरेको उनीहरूको भनाइ छ । कक्षा ६ मा अध्ययनरत एलिसा चौधरीले भनिन्, ‘अर्काको घरमा कमलरी बस्दा कामबाट फुर्सद हुँदैनथ्यो । अहिले काम गर्नुपर्दैन, पढ्नु मात्रै पर्छ ।’

कमलरी बसेकै बेला विद्यालय भर्ना भएकी विनिता चौधरीले पहिलेजस्तो नियमित विद्यालय जान नपाउने र साँझ–बिहान काममा व्यस्त हुनुपर्ने अवस्था अहिले नरहेको बताइन् । ‘छात्रावासमै बसेर पढ्न पाउँदा खुसी छौँ, तर बिरामी भए उपचारमा समस्या हुन्छ । सरकारले उपचारका लागि खर्च दिँदैन,’ उनले भनिन् । सरकारले अभिभावकविहीन र आर्थिक अवस्था कमजोर भएका कारण घरमै बसेर पढ्न नसक्ने पूर्वकमलरीलाई छात्रावासमा राखेर पढाउने व्यवस्था गरेको छ ।

सरस्वती मावि टीकापुरमा अहिले ३८ जना पूर्वकमलरी छात्रावासमा बसेर पढिरहेका छन् । प्रधानाध्यापक खगेन्द्र घर्तीमगर छात्रावासमा बसेर अध्ययन गरिरहेका तल्लो तहका कमलरी पढाइमा अब्बल रहेको बताउँछन् । उनले भने, ‘धेरैजसो १३–१४ वर्षमुनिका छन् । प्रथम, द्वितीय, तृतीय हुनेबाहेक अरूको पढाइ मध्यम खालको छ ।’

जिल्ला शिक्षा कार्यालय कैलालीका विद्यालय निरीक्षक कुलराज सोतीले दुई छात्रावासमा बसेर पढ्ने कमलरी बालिका आफ्नो कक्षाका अन्य बालबालिकाभन्दा पढाइमा तीक्ष्ण रहेको बताए । उनीहरूमध्ये अधिकांशले राम्रो नतिजा ल्याउने गरेका विद्यालय निरीक्षक सोतीले जानकारी दिए । ‘होस्टेलमै खाने–बस्ने व्यवस्था गरिएको छ । उनीहरूलाई घरको चिन्ता हुँदैन,’ उनले भने, ‘उनीहरूका लागि अतिरिक्त कक्षा पनि सञ्चालन गरिएका छन् । त्यसैले पूर्वकमलरीहरूको नतिजा राम्रो छ ।’

अभिभावकविहीन पूर्वकमलरीलाई छात्रावासमा बसेर पठनपाठनको व्यवस्था गरिए पनि कतिपय पूर्वकमलरीमा बीचमै पढाइ छाड्ने समस्या रहेको विद्यालयले जनाएका छन् । यस्तै पठनपाठन र खानपिनका लागि सरकारले रकम दिए पनि औषधोपचारका लागि रकम नदिँदा छात्रावासमा कमलरी बिरामी हुँदा उपचारमा समस्या हुने गरेको प्रधानाध्यापक घर्तीमगरले बताए ।

कमलरी बालिकालाई शैक्षिक सामग्री, छात्रावास व्यवस्थापन तथा उनीहरूको नेतृत्व विकासमा गैरसरकारी संस्था मुक्त कमैया महिला विकास मञ्च कैलालीले सहयोग गर्दै आएको छ । मञ्चका अध्यक्ष कौशिला चौधरीले छात्रवृत्ति रकम कम हुँदा कमलरी बालिकालाई किताब, कापीलगायत शैक्षिक सामग्री किन्न समस्या भएको बताइन् । यसैगरी युवतीहरू लहलहैमा लागेर भागीविवाह गर्ने र विवाहपछि पढाइ छाड्ने समस्या पनि रहेको अध्यक्ष चौधरी बताउँछिन् ।

सरकारले कमलरी (चेलीलाई अर्काको घरमा कामदारको रूपमा पठाउने) प्रथा अन्त्यको घोषणा गर्दै मुक्त कमलरीको पठनपाठन सुनिश्चित गर्न अभिभावकविहीनलाई छात्रावासमै बसेर पढ्ने र अन्यलाई छात्रवृत्ति दिने व्यवस्था गरेको छ । कैलालीमा मात्र करिब दुई हजार पाँच सयभन्दा बढी मुक्त कमलरी छात्रवृत्ति पाएर विद्यालय गइरहेको जिल्ला शिक्षा कार्यालय कैलालीले जनाएको छ ।
(सञ्चारिका फिचर सेवा)
(तेजराज, सुदूरपश्चिमका पत्रकार हुन् ।)

प्रकाशित मितिः २०७२ भदौ ४ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: